कस्सो खसालेन त्यो हेलिकोप्टरले सेनापतिलाई
कृषि मल, इन्धनदेखि हेलिकोप्टरसम्ममा दक्षिणी पकड हावी छ । सेनाभित्र माफियातन्त्र मौलाउँदा उसका सामरिक तथा रणनीतिक सूचना चुहावटमात्रै हैन, राज्यकोषको करोडौं रकमसमेत फजुलमा खर्च हुने अवस्था छ ।
यसै पनि नेपाली आकाशलाई असुरक्षित भन्दै विश्व समुदायमाझ निरन्तर बदनाम गरिँदैछ, त्यसमाथि सेनाकै कारोबारमा आर्थिक अनियमिततासँगै ज्यानको जोखिम र पेशागत मूल्यमाथि नै खेलबाड गर्ने काम हुँदैछ । कुनै पनि देशमा आफूद्वारा उत्पादित हेलिकोप्टरको मर्मत–सम्भार ऊ स्वयं वा उसले अनुमति दिएका कम्पनीले गर्नुपर्ने व्यवस्था छ । तर, रसियन कम्पनीसँग खरिद गरिएका एमआई १७ ग्राउण्डेड हेलिकोप्टरलाई त्यसविपरित मर्मत गर्दै सरकारले सेनालाई निकासा दिएको रकमसमेत माटोमा मिलाउने अवस्था आएको हो ।
उत्पादकले भनेकोबाहेक अन्यत्र मर्मत गरिँदा ती हेलिकोप्टर कुनै दुर्घटनामा परे भने बीमा रकम पाइँदैन । त्यसपछि अरु कुनै समस्या आयो भने सम्बन्धित उत्पादकले हेर्न मान्दैनन् । अर्थात्, हेलिकोप्टर नै बेवारिसे हुन्छ । अहिले भारतको मुम्बईस्थित एक बन्दरगाहमा मर्मतका निम्ति लगिएको हेलिकोप्टरको मर्मतकार्य सम्पन्न भएपछि उडेरै नेपाल त आउने भयो, तर त्यसपछि मर्मत गर्नुपरे, दुर्घटना भए त्यसको कुनै जवाफदेहिता सम्बन्धित उत्पादक कम्पनीले लिँदैन ।
यस्तो सूचना पाएलगत्तै रसियन कम्पनीले नेपाली सेनालाई पटक–पटक चेतावनीयुक्त पत्राचार गरिसक्यो । तर, ती चिठी लुकाइएको छ । खासमा भारतले नेपाली सेनालाई आफ्ना हेलिकोप्टर खरिद गराउने खेलोअन्तर्गत यस्तो भइरहेको हो । जबकि, उसको आफ्नै उत्पादक कम्पनी छैन । उसले विदेशी उत्पादकबाट अनुमति लिएर आफ्नो देशको प्रयोजनका लागि मात्रै हेलिकोप्टर निर्माण गर्दछ ।
पाकिस्तानसहित भारतको हिन्दुस्तान एरोनटिकल लिमिटेडलाई पुमा हेलिकोप्टरको उत्पादक फ्रेञ्च कम्पनीले आफ्नो कम्पनीमा मात्र ओभरहल गर्न पाउने भनेको छ । भारत र पाकिस्तानले पनि आफ्नो प्रविधिबाट हेलिकोप्टर उत्पादन गर्न पाउँछन्, तर छिमेकी देशलाई बेच्न र मर्मत गर्न भने नपाइने व्यवस्था छ । इण्डोनेसियामा पनि फ्रेञ्च कम्पनीका पुमा, सुपरपुमाजस्ता हेलिकोप्टरको उत्पादन हुने गरेको छ । तर, सो उत्पादन आफ्नो देशको खपतका लागि मात्रै हो, अरुलाई बेच्न वा चलान दिनका निम्ति होइन ।
अहिले नेपाली सेनाको हेलिकोप्टर ५२ करोड खर्चेर मुम्बईको बन्दरगाहमा मर्मत गरिने कुरा कति लापरवाहीपूर्ण छ भने, त्यहाँ टालटुल गर्ने र नेपाल ल्याएर फेरि थन्क्याउने ! किनभने, बीमा सुरक्षित नभएपछि त्यस्तो हेलिकोप्टरमा को चढोस् ? यदि, सेनाले थन्किएर बसेका एमआई १७ हेलिकोप्टर साँच्चै नै बनाएर चलाउन र बीमासमेत सुरक्षित गर्न चाहेको थियो भने मर्मतको सुविधा भारतमै थियो । तर, त्यस्तो गरिएन ।
चण्डीगढस्थित बिआरडी (बेस रिपेयर डिपो) मा भारतसँग भएका एमआई १७ मर्मतको इजाजत रसियन कम्पनीले दिएको छ । त्यहाँ मर्मत गरिँदा त्यसबारे रसियन कम्पनीले कुनै रोकतोक गर्ने अवस्था हुँदैन थियो । तर, त्यसो गरिँदा भारतीय हेलिकोप्टर बिचौलिया लाभान्वित हुन पाउँदैनन् । अब त्यहाँ मर्मत नगरेपछि नेपाल ल्याएर थन्क्याइन्छ र भारतीय हेलिकोप्टर किनाइन्छ । यही किसिमबाट सेनाको एनएफ ५६ हेलिकोप्टर बनाउन लगियो । अर्को लैजाने क्रममा छ ।
अहिले मुम्बईमा ५६ का पार्टपुर्जा निकालेर ५७ को बनाइँदैछ । त्यसपछि ५३ लाई लैजाने योजना छ । नेपाली सेनाले मुश्किलसँग ३८ कल साइनको हेलिकोप्टर चलाइरहेको छ । यसरी सेनासँग चारवटा मात्रै एमआई १७ हेलिकोप्टर छ । उसलाई ब्रिटिशले दिएको ४२ र ४३ नम्बरका हेलिकोप्टर अनधिकृत रूपमा आएका थिए । त्यसमध्ये ओभरहल (सम्पूर्ण मर्मतकार्य) गर्न नसकेर ४२ दुुर्घटनामा पर्यो ।
३७ लाई छाउनीस्थित सैनिक संग्रहालयमा राखिएको छ । ४४ पनि दुर्घटनामा पर्यो । अर्थात्, सेनासँग रहेका तीन एमआई १७ हेलिकोप्टर दुर्घटनामा परेका र दुई संग्रहालयलयमा थन्किएका छन् । बलजफ्ती चलेको ५३ लाई मर्मत गरी ५७ बनाउने काम भइरहेको छ । पहिला पनि इञ्जिनमा खराबी आएपछि लिथुआनियास्थित रसियन कम्पनीको इजाजतप्राप्त मर्मतकेन्द्रमा बनाउन लगिएको थियो । अहिले त भारतको पनि इजाजतप्राप्त सरकारी कम्पनीमा हैन, मुम्बईको बन्दरगाहमा पुर्याइएको छ ।
रसियाले हेलिकोप्टर उत्पादनका निम्ति क्षेत्रीय स्वीकृति भियतनामलाई मात्रै दिएको छ । छत्रमानसिंह गुरुङ सेनापति हुँदा एउटा हेलिकोप्टर दुर्घटनापछि नेपाली सेना भारतीय हेलिकोप्टरसँग झस्किँदै आएको छ । उनको कार्यकालमा रूपन्देहीको सैनामैनास्थित सैनिक व्याटल स्कूलबाट इन्धन भर्न भैरहवातर्फ उडान गरिँदा एलएच मोडलको र कलसाइन ५२ भएको भारतीय एडभान्स लाइट हेलिकोप्टर उडाउनेबित्तिकै आकाशतिर ‘ताण्डव नृत्य’ गर्दै जमिनमा झरेको थियो । धन्न त्यसबेला गुरुङ अवतरण गरी त्यहाँ आयोजित कार्यक्रममा सरिक भइरहेका थिए । क्याप्टेन वीरेन्द्र थापा र सञ्जीव घिमिरेले उडाएको उक्त हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा कुनै मानवीय क्षति त भएन । तर, त्यसपछि उक्त हेलिकोप्टर नेपाली आकाशमा उडेन । त्यसदिन हेलिकोप्टरको स्पाइडर लिंक भनिने पछाडिको ट्रेलर उडेर गयो । ब्लेड (पखेटा) को दिशा (एंगल) फेर्ने उपकरण आकाशमै भाँचियो । त्यसपछि उक्त हेलिकोप्टर मर्मत पनि भएन ।
दुर्घटनापछि हेलिकोप्टरलाई ट्रकमा हालेर भैरहवा हुँदै भारतीय शहर बैंग्लोर लगी मोडिफाइ गरियो । भारतीय प्राविधिकहरूले पहिला त नेपाली सेनाका पाइलटलाई नै दोषी देखाउन खोजेका थिए । पछि पाइलटहरूले सम्पूर्ण प्राविधिक पक्ष प्रस्तुत गर्दै आफ्नो गल्ती नभएको प्रमाणित गरेपछि ती चूप लागे । भारतले त्यसको बदलामा अर्को हेलिकोप्टर दियो । तर, अहिले उक्त हेलिकोप्टर महाराजगञ्जस्थित भैरवनाथ गणमा झुण्ड्याएर राखिएको छ । अब सेनाका दुई रसियन एमआई १७ भारतले बनाएपछि त्यसरी नै ग्राउण्डेड हुने र लाइसेन्स सर्टिफाई नहुने खतरा छ भनिँदैछ । र, कबाडी भएपछि लैजाने पनि भारतले नै हो । यसअघि उसले सेनाका दुई कवाडी हेलिकोप्टर लगिसक्यो ।
सेनाको हवाई सुरक्षा, सामरिक सूचना र आर्थिक पक्षमाथि भइरहेको यसप्रकारको खेलाँचीका पछाडि सानो खेला छैन । भनिन्छ, सीधै भारतीय दूतावासको पहलमा अनधिकृत कम्पनीमा हेलिकोप्टर बनाउन पठाइएको हो । मर्मतका नाममा दुई हेलिकोप्टर लगिसकेपछि अरु तीनवटा लैजाने रोडम्याप पनि बनिरहेको बताइन्छ । यस्तो खेला शुरु भएको एक वर्षभन्दा कम भयो । भारतमा बनेर आएका हेलिकोप्टरमा एउटा चिप्स हाल्यो भने कहाँ गयो, के गर्यो , भित्र के–के कुरा भएजस्ता महत्वपूर्ण सूचना चुहावट हुने अवस्था रहन्छ । नेपालको नियति नै कस्तो छ भने, चीन र भारतजस्ता ठूला मुलुक दायाँबायाँ छन् । एउटासँग किन्यो भने अर्को रिसाउने । हेलिकोप्टरमात्रै हैन, शान्तिसेनाका लागि आवश्यक पर्ने एपिसीसम्म त्यही हालतमा गुज्रिएको छ ।
अर्कातिर, रसियासँग हेलिकोप्टर खरिद गर्नुपर्ने भयो भने खरिदकर्ताले रसिया नै जानुपर्दैन । उसले आफ्नो देशबाट टुक्रिएका कजाकस्तान, किर्घिजिस्तान, तुर्किस्तान, भियतनामलाई यस्तो गर्ने अधिकार दिएको छ । भारतले दिने एडभान्स लाइट हेलिकोप्टर (एलएच) १४ सीटे हो । एमआई १७ ले चार सय टन भार बोक्न सक्छ ।
टिप्पणीहरू