देशदृश्य हेरेर दशैँपछि देशमै बस्लान् युवा ?

देशदृश्य हेरेर दशैँपछि देशमै बस्लान् युवा ?

कोशी प्रदेशमा पहिचानको मुद्दा पेचिलो बनाएर मध्यावधिको खेलमा को लागेको थियो ? विद्रोहीले मुख्यमन्त्रीको बहुमत पु¥याउन सक्ने तर आधिकारिकले लाचारी देखाउन पर्ने राजनीतिको कमजोरी के हो, कसले संस्थागत गर्दै गएका छन् यस्ता समस्या ? कोशी गठबन्धन भत्कियो, अब गठबन्धन फेरिन्छ भनेर चर्चा गर्ने एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पनि विश्वासको मत दिएर झण्डै सतप्रतिशत लोकप्रिय बनाएको होइन र ? तर किन सभामुखबाहेक एमालेको भागमा अरु उपहार परेन ? यावत् प्रश्न कचल्टिएर नेपाली राजनीति निकै विकृत भइसकेको छ । यसको जवाफ कसले–कसरी दिने भन्ने चैँ रहस्यको विषय बनेको छ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको मौनताझैँ ।

संसदको एउटा साझेदार नेकपा एकीकृत समाजवादीले हालै मेची–महाकाली जागरण यात्रा ग¥यो । यो यात्रा पूर्व अझ भनौँ कोशीमा सुरुवातीताका उस्तो उत्साहवद्र्धक भएन । जनसहभागिता कम देखियो । राष्ट्रिय अखबारहरू पूर्वमा जान छाडेका छन् । पुग्ने अखबारका पानामा समाचार अटेनन् । समाजवादीप्रति हेर्ने नजर फरक थियो या लेख्नेहरूको अल्छीपन ? तर मधेश झरेपछि जागरण यात्रामा समाचारले आकार लियो । सबभन्दा बढी सरकारी सञ्चारमाध्यम गोरखापत्र र राससले यसलाई निकै महत्व दिए । निजीक्षेत्रका ठूला र घरानिया अनलाइनहरूले पनि राम्रै स्पेस दिए । समाचारले उत्साह जगायो टोलीमा । स्वयम् पार्टी अध्यक्ष र सम्मानित नेता काठमाडौँको कोलाहल छाडेर जनतासँग यसरी नै जोडिएको भए सायद अघिल्लो वर्षको संघ र प्रदेश निर्वाचनमा राष्ट्रिय पार्टी बन्न समस्या पर्थेन । यसपटक २५ हजारभन्दा बढी कार्यकर्ता समाजवादीमा प्रवेश गरेको पार्टी बुलेटिनमा उल्लेख छ । अहिले स्थानीय तह, प्रदेश सरकार, केन्द्र सरकारमा कमजोर उपस्थिति भइरहँदा त यति धेरै जनता पार्टीमा छिरे भने त्यतिखेर त बहुमत गठबन्धन निर्माणको बेला थियो, सबै नेता यसरी गाउँ गएका भए पक्कै सन्देश राम्रो जान्थ्यो । फगत केपी ओलीझैँ गफको जाँतोमा हावा मात्रै पिसेर पक्कै जनतालाई चारो हुन सकेन । 

त्यतिखेर समाजवादीले बनाएका उम्मेदवारहरूलाई सोध्थेँ, ‘पार्टी अध्यक्षज्यू र झलनाथ खनालज्यूसँग साँझ कुराकानी हुन्न ?’ उम्मेदवारहरू नभएको सुनाउँथे । बिहानदेखि बेलुकासम्म गठबन्धनको बोरा बोकेर जित्ने अभिलाषाले दौडधूप गरेका उम्मेदवारहरूले पनि पार्टीका अध्यक्ष र सम्मानित नेतासँग कुराकानी गर्न पाएनन्, अध्यक्ष र सम्मानित नेता आफैँ उम्मेदवार भएकाले कुरा गर्न भ्याएनन् । मिडियाको सूचनाका भरमा गठबन्धनको भोट गिन्तीको गणित हेरेर जितिन्छ भन्दाभन्दै समय बित्यो । पार्टी राष्ट्रिय हुन पनि सकेन । केन्द्रीय सदस्यहरू नै गाउँमा भोट हाल्न गएनन् भनेर पार्टीकै बैठकमा उठेको कुरा भयो । यसपटक जागरण यात्रामा जनतासँग प्रत्यक्ष जोडिएर सरोकारको कुरा गरिरहँदा पक्कै समाजवादी जागरण यात्रा गर्न ढिलो भएको अनुभूत भएको हुनुपर्छ । 

चाडपर्व आइसक्यो । मधेश प्रदेश सरकारले १ सय ३६ स्थानीय तहमध्ये ६ स्थानीय तहलाई कुनै पनि शीर्षकमा एक रूपैयाँ पनि बजेट दिएन अघिल्लो आर्थिक वर्ष । बजेट नआएपछि के गर्ने ? उनीहरूका लागि प्रदेश सरकारको महत्व के रह्यो ? जितेका छन् दोहो¥याएर तर भ्रष्टाचार मुद्दामा धमाधम निलम्बन भएका छन् । रौतहटको मौलापुरकी महिला मेयर रिना साहको पद नै खारेज गरिदिएको छ निर्वाचन आयोगले । प्रभुसाह पत्नी रिना एमालेबाट उम्मेदवार थिइन् । जितिन् । पहिलोपटक माओवादीमा थिइन् । जितिन् । यसपटक एमालेले प्रभु साहमाथि रिसइबी साँध्दा मेयर पनि परिन् । आम जनता पार्टी खोलेर मधेशमा अर्को शक्ति बनाउन लागेका प्रभु साहले एमालेमा गरेको विद्रोहको एमालेद्वारा दिइएको पुरस्कार पनि हो यो । 

अझै पनि पूर्वाग्रह र उत्तेजनाको राजनीतिक हावामा बग्ने काम भइरहेको छ । समाजका अवयव कमजोर भएका छन् । कक्षा १२ पास नहुँदै ८० प्रतिशत विद्यार्थी ‘नो अब्जेक्सन लेटर’का लागि लाम लागिरहेका छन् । स्नातक पढ्ने विद्यार्थी नै कलेजमा छैनन् । काठमाडौँकै पनि १०० कलेजमा १०० पनि विद्यार्थी पढ्ने नभएर देश युवाविहीन बनिरहेको छ । उनीहरूलाई राज्यले नो अब्जेक्सन लेटर दिँदा दिएको ताडना मात्रै सुधार्न पनि सकिएको छैन । अनलाइन फर्म भरेर सम्पर्कविहीन राज्यले कैयौँको मागेका दिन पत्र नदिएर ‘यस्तो देशमा किन बस्नु’ भन्ने पारिरहेको छ । कर्मचारी संयन्त्रको सेटिङ उस्तै छ । स–साना बहानामा कर्मचारीले काम गरिदिएका छैनन् । पैसा नभए कामै हुँदैन भन्ने गरिएको छ । हाकाहाकी ‘पिसी’ अर्थात् पर्सनल कमिसनविना काम हुन छाडेको छ । यस्तो वितृष्णा उमारिएको छ कि दोष सबै दलहरूमाथि थोपरिएको छ । कोही सुध्रन नपर्ने, कसैले चिन्ता गर्न नपर्ने तर दलहरूले फेरि सबै सुधारिदिन पर्ने अवस्था छ । 

मधेशका कैयौँ स्थानीय तहले अहिलेसम्म नीति तथा कार्यक्रम पास गर्न सकेका छैनन् । पास गरेकाले बाहिर ल्याउन सकेका छैनन् । पाँचौँ तहका अधिकृतहरूलाई प्रमुख प्रशासकीय अधिकृत बनाउन स्वयम् मेयरहरू काठमाडौँ धाइरहेका छन् । कार्यालयमै छैठौँ र सातौँ तहका अधिकृत हुँदाहुँदै पाँचौँलाई निमित्त बनाएर काम लिन सहज हुने भन्दै मेयरहरू धाइरहेका हुन् । यतिखेर संघीय मामिला मन्त्री छन् जनमतका । स्थानीय तह छन् जसपा र अरु दलका । कतिसम्म भने सर्लाहीको हरिपूर्वाका मेयर विनोदकुमार साह २०७९ चैतदेखि काठमाडौँमा छन् । उनले प्रमुख प्रशासकीय अधिकृत लैजान गरेको धामा सुन्दा स्थानीय तह कसरी तहसनहस पार्ने भनेर दलहरू नै सक्रिय छन् भन्ने देखिन्छ । उनकै पालिकाका छन् खानेपानी मन्त्री महिन्द्र राय यादव । जो कार्यकारी अधिकृत लैजान खोजिन्छ । मन्त्रीले हुन्न भनिदिने । हरिपूर्वा जान खानेपानी मन्त्री यादवको आशीर्वाद चाहिने । अहिलेका पुस्ता किन त्यसो गर्छन् ? एउटै मान्छे दुई पटक कार्यकारी हुँदा पनि यादवको दबाबमा फर्काइएका छन् । यसरी स्थानीय तह सञ्चालनमा कठिनाइ उत्पन्न गर्ने काममा मेयर र उपमेयरको झगडा त छँदै छ, फरक पार्टीका मन्त्री, भूगोलका नेता, कर्मचारी खटाउने संघीय मन्त्रालयमा हुने चलखेल डरलाग्दो छ । अनि पाँचौँ तहका अधिकृतबाट लाभ लिन चाहने मेयर र उपमेयरहरू पनि अख्तियारको निशानामा परिरहेका छन् । 

स्थानीय तहमा कर्मचारी कालोपट्टि बाँधेर काम गरिरहेका छन् । स्थानीय तहलाई शिक्षालय हस्तान्तरण हतारको विषय बन्यो कि ! दशैँ आइसक्यो, कैयौँ स्थानीय तहले शिक्षकलाई तलब खुवाउन सकेका छैनन् । मधेश प्रदेशमा त अझ छठपछि स्थानीय तहको खाता सञ्चालन हुने सम्भावना छ । साउन, भदौ, असोज, दशैँ पेश्की आउनुपर्ने शिक्षकहरू समस्यामा छन् । पतिपत्नी नै शिक्षक भएकाहरूको परिवार ऋण गरेर दशैँ मनाउने हालतमा पुगेको छ । अर्थ मन्त्रालयले अनुमति नदिँदा स्वरोजगारमूलक साना मिडियाले दशैँअघि पाउनुपर्ने ३ महिनाको लोककल्याणकारी भुक्तानी पाएका छैनन् । कम्तीमा आधा लाख रूपैयाँ विज्ञापनबापत आउने अवस्थामा स्वरोजगार पत्रकारहरू पनि समस्या खेपिरहेका छन् । एउटा आशा लाग्ने ठाउँ देखाउन पर्छ ।

नत्र कसरी राख्ने युवा पुस्तालाई देशमा ? यति हुँदाहुँदै पनि नेताहरू स्थानीय तहमा पुग्दा उनीहरू खुशी नै हुन्छन्, समारोह भनेपछि नेपाली जनता उत्साहित हुने गर्छन् । तथ्य र तथ्यांकमा पनि चिन्ता नगर्ने नेपाली रगत विकास भएको छ । जस्तो, नेपालीको ऋण प्रतिटाउको ७२ हजार नाघ्यो, अमेरिकी नागरिकको ३९ हजार डलर छ । त्यो हिसाब गर्दा त हामी कति खुशी र धनी भएनौँ त भनेका छौँ । फेरि नाचगानमै रमाएका छौँ । यसपटक पूर्वदेखि पश्चिमसम्म नेकपा एकीकृत समाजवादीको जागरण यात्रामा यस्ता विषय पक्कै नेताहरूले अनुभूत गरेको हुनुपर्छ । उनीहरूलाई सम्बोधन गर्नसक्ने गरी आउने महाधिवेशनमा कार्यक्रम ल्याउन सकेनौँ भने वैकल्पिक दलहरू रास्वपा, जनमतजस्तै एकीकृत समाजवादी पनि करार हुनसक्छ । कार्यक्रम नयाँ केही छैन, बस् केपी ओली र गगन–विश्वले भनेको चुट्किला र बढी चल्ने थुतुनोले मात्रै देश बन्नेवाला छैन ।

जागरण यात्राले जगाउन पर्छ । यहाँ त हरेक पुस्ता भगाउने काम भइरहेको छ । जस्तो हामी छोराछोरी विदेश पठाइरहेका छौँ । अब उनी आउँदैनन्, हद गरे हाम्लाई पनि लैजान्छन् । यसको अर्थ हो, अहिले त स्नातक पढ्ने नभएको । विस्तारै ११ पढ्ने हुँदैनन् । अलि पछि हेर्दै जानुहोस्, नर्सरी पढ्ने हुँदैनन् । देशमा नेता र कर्मचारी मात्रै हुन्छन् । हामी पनि कि त देशमै सडेर मर्छौँ कि छोराछोरीको सन्तान स्याहार्न तेल भिसामा यताको सबै बेचबाच पारेर उतै छिर्छौँ । अहिले जतिसुकै सुधारको घण्टी बजे पनि यो दृश्य रोक्न र छेक्न सक्ने दलहरूको तागत उमार्लिन् नवदुर्गा भवानीले ? ऋण गरेर पर्व मान्नै पर्ने परिवारको हुँ म पनि । फेरि पनि सबैलाई दशैँको शुभकामना !
 

टिप्पणीहरू