कमरेड माओवादीहरूको एमालेमा झनै कन्तबिजोग

कमरेड माओवादीहरूको एमालेमा झनै कन्तबिजोग
सुन्नुहोस्

तत्कालीन नेकपा विभाजनपछि आफैँले रगत, पसिना बगाएर बनाएको पार्टी चटक्क छोडी केपी ओलीको पछि लागेका पूर्वमाओवादी नेताहरूको एमालेमा बिचल्ली भएको छ । सौराहा महाधिवेशनमा अध्यक्ष केपी ओलीको ‘आशीर्वाद’ले जेनतेन टिकेका उनीहरू प्रदेश अधिवेशनबाट भने बढारिएका छन् । एमालेले सात भौगोलिक र एक गैरभौगोलिक गरी आठ प्रदेशमा नयाँ नेतृत्व छान्दा पूर्वमाओवादी खेमा कतै पनि देखिएन । नेकपा विभाजनले कमजोर बनेका ओलीले आफ्नो शक्ति बलियो बनाउन मन्त्री अफर गरेपछि रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, मणि थापालगायतले एमाले रोजेका थिए । अहिले बादल एमालेमा उपाध्यक्ष छन् भने लेखराजलाई सचिव र सुदूरपश्चिमको इञ्चार्ज बनाइएको छ । मणि पोलिटब्युरो सदस्यसमेत छाडेर एमालेबाट बाहिरिएका छन् । नक्कली भुटानी शरणार्थी काण्डमा मुछिएपछि टोपबहादुरको सचिव पद निलम्बित छ । १० औँ महाधिवेशनमा अध्यक्ष ओलीले सर्वसम्मत नेतृत्व चयनको पहल गरेकै कारण पूर्वमाओवादी नेताहरूले ती पद जितेका हुन् । चुनाव भएको अवस्थामा उनीहरूलाई पदाधिकारी जित्न सजिलो थिएन । 

त्यसो त, एमालेभित्र पूर्वमाओवादी समूह आफैँमा एकतावद्ध छैन । पछिल्लो समय उनीहरू झन् तितरबितर भएका छन् । टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थी काण्डमा जेल पुगेका छन् भने एमालेमा बिद्रोह गरी स्वतन्त्र उठेर सांसद जितेका प्रभु साह आफ्नै नेतृत्वमा आमजनता पार्टी गठन गरेर देशव्यापी संगठन निर्माणमा लागेका छन् । ओलीलाई साथ दिएबापत गैरसांसद हुँदा पनि मन्त्री बनेका मणि थापा गुमनाम छन् । ६ महिना खानेपानी तथा सरसफाइमन्त्री भएका बखत ‘श्री ५ को सरकार यो काम गर्न प्रतिबद्ध छ’ भन्ने भाइरल भाषण गरेका उनी पार्टीबाट छुट्टी लिएर बसेका छन् । केही महिनाअघि साँस्कृतिक अभियान लिएर हिँडेका उनी पुनः एमालेमा सक्रिय नहुने मनस्थितिमा पुगिसके । माओवादीबाट एमालेमा गएका माथिल्लो तहका नेतामध्ये बादल र लेखराजले भने अहिलेसम्म पार्टी छोडिसकेका छैनन् । तर, नाम मात्रको पदको भारी बोकाइएका यी दुई पनि खासै सक्रिय देखिंदैनन् ।

सुदूरपश्चिम प्रदेशको इञ्चार्ज रहेका लेखराज प्रदेश अधिवेशनपछि झन् निराश भएको निकटहरूले बताएका छन् । जनयुद्धका बेला सैन्य रणनीतिकारका रूपमा चर्चा गरिएका बादल एमालेमा मिसिने माओवादी नेताहरूमा सबैभन्दा माथिल्लो तहका नेता हुन् । तर, उनी औपचारिक बैठकमा बाहेक अन्यत्र देखिन छाडेका छन् । तत्कालिन नेकपाको ९ सदस्यीय सचिवालयमासमेत रहेका उनी गृहमन्त्री पनि थिए । त्यसबेला पार्टीभित्र चर्केको अन्तरविरोधमा तटस्थ बसेका उनी अन्तिम घडीमा गृहमन्त्रीमा निरन्तरता सुनिश्चित गराएर ओलीतिर खुलेका थिए । आफू पक्षधर झण्डै पाँच दर्जन केन्द्रीय सदस्यलाई माओवादीमै छाडेर एमालेमा मिसिएका बादल अहिले कार्यकर्ता बिनाको नेता बनेर बसेका छन् ।     

पार्टी फुटका बखत बालुवाटार बोलाएर ओलीले उनलाई आफूपछिको वरीयतामा उपाध्यक्ष दिने कबोल गरेपछि त्यता लागेको भनिएको थियो । तर, अहिले एमालेका आधा दर्जन उपाध्यक्षको हुलमा बादल अन्तिमतिर छन् । एमालेका एकजना नेताले बताएअनुसार बादल बैठकमा जान्छन्, बैठकभर बस्छन् अनि खुरुक्क निस्किन्छन् । बैठकमा पनि केही बोल्दैनन् । अनौपचारिक भेटमा कसैसँग कुरा गर्दैनन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा बादलको पनि नाम मुछिएको थियो । उनका छोरा प्रतिकविरुद्ध त अदालतमा मुद्दा नै दायर भएको छ । तर, आफूविरुद्ध पक्राउ पुर्जी जारी भएलगत्तै बेपत्ता भएका उनी कहाँ छन् अत्तोपत्तो छैन । 

यस प्रकरणमा अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डसँग जुधेर आफूलाई जोगाइदिएको बुझेका बादल त्यसैमा सन्तुष्ट रहेको र पार्टीमा ओलीविरुद्ध जान नचाहेको कतिपयको बुझाइ छ । यो प्रकरणमा प्रत्यक्ष संलग्न देखिँदा पनि उनलाई मुद्दा नचलाइएपछि ठूलै राजनीतिक लेनदेनको आशंका त्यतिबेलै गरिएको हो । किनभने बादल गृहमन्त्री भएकै बेला भुटानी शरणार्थीको लगत अध्ययनका लागि कार्यदल बनेको थियो । उनले भनेकै मान्छे कार्यदलमा सदस्य थिए । भुटानी शरणार्थीलाई व्यवस्थापन गर्न अमेरिकासँग कुनै औपचारिक वार्ता वा अनौपचारिक कुराकानी नै नगरी कार्यदल बनाउने निर्णय आफैँमा शंकास्पद थियो । अमेरिकासँग कुनै छलफल वा सहमति नभई कार्यदल बनाउनुमा सामान्य हिसाबले हेर्दा पनि गलत उद्देश्य प्रेरित देखिन्छ । तर, कार्यदल गठनको कागजमा सही गर्ने बादलमाथि अनुसन्धान नै भएन । जबकि उनैले तोकेका कार्यदलका सदस्यलाई भने मुद्दा चलाइयो ।
 

टिप्पणीहरू