बलात्कारीले कारागार ‘हाउसफुल’
प्रहरीको एक अध्ययनले जेलमा कैद भुक्तान गरिरहेकामध्ये सबैभन्दा बढी बलात्कार कसुरका आरोपी रहेको तथ्य उजागर गरेको छ ।
०८०/८१ साउन मसान्तसम्मको तथ्यांकले उक्त तथ्य देखाएको हो । तीन आर्थिक वर्षमा बलात्कारका उजुरी मात्र कूल सात हजार आठ सय ४७ दर्ता भएका छन् । फौजदारी कसुरअन्तर्गत मुद्दा चलाइएकामध्ये कारागारमा सबैभन्दा बढी जबर्जस्ती करणीका आरोपी देखिएका छन् ।
मुलुकभरका जेलमा हाल सात हजार पाँच सय २९ जनाले यस्तो अपराधमा कैद भुक्तान गरिरहेका छन् । देशभर २७ हजार नौ सय ५० जना व्यक्ति विभिन्न फौजदारी कसुरअन्तर्गत थुनिए । यीमध्ये २६ हजार दुई सय ७८ पुरुष र एक हजार पाँच सय ७२ महिला छन् ।
बलात्कार कसुरमा १० वर्षका बालकदेखि ७० वर्षकासम्मलाई जेल पठाइएको छ । अध्ययनले ०७७/७८ मा १० वर्षमुनिका चार बालक र ०७८/७९ मा तीन जना, ०७९/०८० मा दुई जना १० वर्षमुनिका बालकलाई पक्राउ गरी अदालतको आदेशले बाल सुधार गृहमा राखिएको देखाउँछ । पछिल्लो तीन आर्थिक वर्षमा मात्रै ११ देखि १६ वर्ष उमेरका पाँच सय ३८ र १७ देखि १८ वर्षका चार सय १२ जना बालक पक्राउ परेका छन् ।
बलात्कारपछि दोस्रोमा लागुऔषधका आरोपी छन् । यसअन्तर्गत पाँच हजार नौ सय ६० जना कारागार पुगेका छन् । यसपछि ज्यान मुद्दाका अपराधी छन् । विदेशी कैदीको संख्या पनि उल्लेख्य छ । एक हजार चार सय ११ विदेशीले विभिन्न अभियोगमा जेल भुक्तान गरिरहेका छन् । कारागारमा पाँच हजार चार सय १४ जना ज्यान मुद्दाका थुनुवा छन् । यस्तै ८९ जना आश्रित छन् ।
बलात्कार आरोपमा पक्राउ परी मुद्दा चलेकामध्ये न्यून मात्रामा मात्रै धरौटीमा छुटेका छन् ।
टिप्पणीहरू