एनआरएनए अध्यक्षद्वारा प्रहरीमा जाहेरी, स्वःघोषित अध्यक्ष शर्मामाथि कारबाहीको माग

एनआरएनए अध्यक्षद्वारा प्रहरीमा जाहेरी, स्वःघोषित अध्यक्ष शर्मामाथि कारबाहीको माग
सुन्नुहोस्

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष बद्री केसीले स्वःघोषित अध्यक्ष राजकुमार शर्मा (आरके) विरुद्ध प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएका छन् । 

केसीले प्रहरी वृत्त दरबारमार्गमा आरके शर्मा, बृद्धिसागर सुवेदी, गंगाधर गौतम, ठाकुरप्रसाद ढुंगाना र ओम शर्मालगायतविरुद्ध तीन वटा कसुरमा जाहेरी दर्ता गराएको बताइएको छ ।

नवनिर्वाचित अध्यक्ष केसीलाई बधाई दिन हिजो संघको कार्यालयमा पुगेका नेकपा एमालेका नेता महेश बस्नेत सहभागी कार्यक्रममा आरके शर्मा नेतृत्वको समूह अनाधिकृत रुपमा प्रवेश गरी बस्नेतको चरित्र हत्या हत्या गर्न खोजेको र हुलदङ्गा गरेको जाहेरीमा उल्लेख छ । 

‘पूर्वमन्त्री महेश बस्नेत उपस्थित भई बधाई दिइरहेको बेलामा संघको ११ औं अन्तर्राष्ट्रिय महाधिवेशनमा भएको निर्वाचनमा उपविजेता भएका राजेन्द्रकुमार शर्मा (आरके) को नेतृत्वमा बृद्धिसागर सुवेदी, गंगाधर गौतम, ठाकुरप्रसाद ढुंगाना, ओम शर्मालगायत व्यक्तिहरु संघमा कुनै जानकारी नदिई गैरकानूनी र अनाधिकृत रुपमा संघको कार्यालयमा प्रवेश गरी पूर्व मन्त्री बस्नेतलाई गाली गलौज गरी अनुमतिबिना फोटो खिच्ने, व्यक्तिगत चरित्र, आचरण, नैतिकता र ख्यातिलाई होच्याई चरित्र हत्या गर्ने र संघको कार्यालयमा हुलदङ्गा गर्ने कार्य गरेको हुँदा निजहरु र निजहरुसँग उपस्थित भई पहिचान हुन नसकेका व्यक्तिलाई संघको र नेपाल राष्ट्र बैंकको सिसिटिभी क्यामेराको फुटेजबाट पहिचान गरी कानूनी कारबाही गरी पाउन समेत सादर अनुरोध गर्दछौं,’ जाहेरीमा भनिएको छ ।

उनीहरुले संघका पदाधिकारीहरुको जीउ, ज्यान र सम्पत्ति एवम् संघको सम्पत्ति तोडफोड तथा हानिनोक्सानी पुर्याउने प्रवल सम्भावना भएको भन्दै केसीले ती सबैलाई जीउ, ज्यान र सम्पत्तिको शान्ति सुरक्षा उपरको कसुर, अभद्र व्यवहारको कसुर र वैयक्तिक गोपनियता तथा प्रतिष्ठाविरुद्धको कसुरउपर कानूनी कारबाहीको माग गरेका छन् ।

टिप्पणीहरू