माझी बस्तीको ऋण असुली प्रक्रिया रोक्न अदालतको अन्तरिम आदेश

माझी बस्तीको ऋण असुली प्रक्रिया रोक्न अदालतको अन्तरिम आदेश
सुन्नुहोस्

उच्च अदालत पाटनले सिन्धुपाल्चोकको माझी बस्तीको जग्गा लिलामी प्रक्रिया अघि नबढाउन आदेश दिएको छ । न्यायाधीश रमेशराज पोखरेलको एकल इजलाशले ऋण असुली प्रक्रिया अघि नबढाउन लक्ष्मी सनराइज बैंकको नाममा अन्तरिम आदेश जारी गरेको हो । 

अभिनेत्री स्वेता खड्काको संस्था ‘स्वेताश्री फाउण्डेशन’ ले लामो समयदेखि किस्ता नतिरेपछि बैंकले जग्गा लिलामीको प्रक्रिया अघि बढाएको छ । त्यसविरुद्ध हेलबहादुर माझीसमेतले उत्प्रेषणको आदेश माग्दै उच्चमा रिट दायर गरेका थिए ।

अन्तरिम आदेशसँगै अदालतले कात्तिक २४ गते बैंक र स्वतो श्री फाउण्डेशनलाई छलफलमा बोलाएको छ । 

‘विपक्षी लक्ष्मी सनराइज बैंक र स्वेताश्री फाउण्डेशनका बीचमा भएको सम्झौताको शर्त नम्बर ५ को व्यवस्थासमेतको परिप्रेक्ष्यमा दुवै पक्षलाई राखी छलफल गरी अन्तरिम आदेश जारी गर्ने नगर्ने सम्बन्धमा निर्णय गर्न उपयुक्त देखिँदा मिति २०८०–०७–२४ का दिन विपक्षीहरुलाई छलफलमा उपस्थित हुन म्याद सूचना जारी गरी उक्त मितिसम्म ऋण असुली प्रक्रियाको कारबाही नगर्नु नगराउनु भनि विपक्षी लक्ष्मी सनराईज बैंकका नाममा अन्तरिम आदेश जारी गरिदिएको छ’, आदेशमा उल्लेख छ । 

चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १४, इन्द्रावती नदी किनारमा रहेको झयाडीस्थित माझी बस्तीमा रहेको ५३ घर बनाउन फाउण्डेशनले तत्कालीन लक्ष्मी बैंकबाट ऋण लिएको थियो । ऋण लिँदा माझी बस्तीकै जग्गा धितो राखियो । तर, अहिले ऋणको किस्ता नतिरेपछि सिङ्गो बस्ती नै लिलामीको जोखिममा परेको छ ।

टिप्पणीहरू