भिआईपीहरुको तिहार पनि जेलमै

भिआईपीहरुको तिहार पनि जेलमै

अब तिहारलगत्तै बस्ने न्यायपरिषद्को बैठकले सर्वोच्चसहित उच्च अदालतमा रिक्त न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने भएको छ । कानुनमन्त्री धनराज गुरुङ देशबाहिर भएका कारण रोकिएको बैठक तिहारलगत्तै बस्न लागेको हो । न्यायपरिषद् स्रोतका अनुसार, अबको बैठकले सर्वोच्चसहित विभिन्न जिल्ला र उच्चमा मुख्य न्यायाधीश, न्यायाधीश र पछि जिल्ला अदालतको न्यायाधीश नियुक्ति गर्ने एजेण्डा तय भएका छन् ।

अहिले सर्वोच्चका लागि सात वटा कोटा खालि छ । उच्चमा ४० भन्दा बढी न्यायाधीश रिक्त छन् । नियुक्ति सकेपछि कारबाहीको फाइल शुरु हुन्छ । यसबीच न्यायपरिषद्बाट रामप्रसाद श्रेष्ठको कार्यकाल सकिने भएको छ । रामप्रसाद भण्डारी भने लक्ष्मीबहादुर निरालाको निधन भएपछि उनकै ठाउँमा नियुक्त भएकाले अरु १ वर्ष रहनेछन् । 

सर्वोच्चमा अब नियुक्त हुने सम्भावित न्यायाधीशबारे चर्चा हुन थालेको छ । अहिले पाटन उच्च अदालतमा रहेका महेश पौडेल, पूर्वकानुन सचिव टेकप्रसाद ढुंगाना, बुटवलका नित्यानन्द पाण्डे, माओवादीबाट महान्यायाधिवक्ता डा. दिनमणि पोखरेललगायतको नाम चर्चामा छ । तर, वरिष्ठ नभएका कानुन व्यवसायीलाई न्यायाधीश नबनाउनेमा प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ र ईश्वर खतिवडा दृढ देखिन्छन् । 

डेमोक्र्याटबाट बारका पूर्वमहासचिव विजय मिश्रको सम्भावना बलियो छ । उनी कांग्रेस सभापति शेरबहादुर देउवाका उम्मेदवार हुन् । अर्का छन्, सुनील पोखरेल । यी दुईमध्ये कानुन मन्त्री धनराज शेखर क्याम्पको हुँदा सुनीलको पक्षमा देखिएका छन् । 

वामपन्थीबाट यदि दिनमणि भएनन् भने चन्द्रकान्त ज्ञवाली, बालकृष्ण ढकालहरूको सम्भावना पनि छ । माओवादी कोटाबाट पदम वैदिक कुनै पनि हालतमा न्यायाधीश हुने अवस्था देखिँदैन । त्यस्तै, शालिकराम सापकोटाको पनि सम्भावना छैन । 

अर्कातिर, कारबाही गरिने सूचीमा रहेका अम्बिका निरौला, राजकुमार कोइरालासहितको हकमा न्यायपरिषद्ले कस्तो निर्णय लिन्छ भन्ने अनुमान अहिल्यै गर्न सकिएको छैन । 

उता, पूर्व गृह र यातायात मन्त्री बालकृष्ण खाँण र टोपबहादुर रायमाझीको तिहार पनि जेलमै बित्ने भएको छ । दशैंलगत्तैको अदालत खुल्ने पेशी बिहीबारलाई तोकिएको थियो तर तिनका वकिल रमण श्रेष्ठलाई डेंगु लाग्यो । सोही कारण पेशीबाट हटाइयो । आङटावा शेर्पाले बालकृष्णबाट लगेर एक करोड रूपैयाँ बिचौलियालाई फर्काएको र गृहसचिव टेकनारायण पाण्डेले साविती बयान दिएको कारण उनलाई धरौटीमा छोड्न गाह्रो होला भनिँदै छ । 
 

टिप्पणीहरू