यमपञ्चक शुरु, आज काग तिहार
हिन्दु धर्मावलम्बीहरुको दोस्रो ठूलो चाड तिहार आजबाट विधिवत रुपमा शुरु भएको छ । कात्तिक कृष्ण त्रयोदशीदेखि द्वितियासम्म पाँच दिन मनाइने भएकाले यसलाई यमपञ्चक पनि भनिन्छ ।
तिहारको पहिलो दिन आज काग तिहार मनाईंदैछ । यमराजको दूत मानिएको कागलाई आज पूजा गरेर मीठा–मीठा खानेकुरा खुवाउने चलन छ ।
कागलाई पितृको प्रतीक र बफादार पंक्षीका रुपमा लिइन्छ । यमराजसमक्ष सुखबर पुर्याउने विश्वासका साथ आजका दिन कागलाई मीठा खानेकुरा दिएर खुशी पारिन्छ ।
घर वरपर काग कराएमा केही खबर लिएर आएकोसमेत जनविश्वास छ । छिटो सन्देश ल्याउन र लैजान सक्ने भएकाले यमराजले कागलाई आफ्नो दूत बनाएको धार्मिक विश्वास र किंवदन्ती छ ।
धनवन्तरी जयन्ती पनि आजै
धनवन्तरी जयन्ती पनि आजै परेको छ । वन जंगलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम् चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक धन्वन्तरीको सम्झनामा यो जयन्ती मनाइन्छ । आजको दिनलाई आयुर्वेदमा चिकित्सकले शुभकार्य थालनी गर्ने दिनको रुपमा लिइन्छ ।
टिप्पणीहरू