सूचना टाँस्दा नआउने प्रहरीको नाममा पूर्जी
नेपाल प्रहरीले लामो समयदेखि बेपत्ता कर्मचारीको खोजी थालेको छ । बिना जानकारी गैरहाजिर २८ जनालाई प्रहरी प्रधान कार्यालयले सम्पर्कका लागि सूचना निकालेको हो ।
विभिन्न मितिमा बेपत्ता उनीहरुको नाममा पटक-पटक सूचना टाँस गर्दासमेत बेवास्ता भएको जनाउँदै चित्तबुझ्दो स्पष्टीकरणसहित आगामी सात दिनभित्र हाजिर हुन भनिएको छ ।
‘आफूखुशी कार्यालयमा गैरहाजिर रहेका र खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावली, २०७१ को नियम ११५ को देहाय (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भई सक्दा समेत कार्यालयको सम्पर्कमा नआउनु भएकोले हाजिर हुन आउनेबारे यो सूचना प्रकाशित गरिएको छ । यो सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक सात दिनभित्र आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफसहित यस कार्यालय वा सूचना जारी गर्ने कार्यालयमा हाजिर हुन आउनुहोला’, आज जारी सूचनामा उल्लेख छ ।
स्पष्टीकरण मागिएकामा प्रहरी नायब निरीक्षक (असई) डिल्लीजंग रोकाय, वरिष्ठ हवल्दार बुद्धराज मगर, सहायक हवल्दार लोचन अधिकारी, जवान शिवलाल भुषाल, तुलसिह तिरुवा, विरेन्द्रबहादुर शाही, सागर, स्याङ्कु, सुजन नेपाली, रमेश घोरासैनी, कमल खत्री, देवेन्द्र अधिकारी, मौसम राई, जितेन राई, दिपेश ठाकुर, बाबुलाल लोध, सचिनकुमार साह रहेका छन् ।
त्यस्तै, प्रहरी जवान अर्जुनकुमार साह, नविज रम्तेल, नगेश थापा, पवन आचार्य, नविना देवकोटा, शान्ति पौडेल, कमल महतरा, हिमाल पन्ती, प्राविधिक जवान निरज रेश्मी र कार्यालय सहयोगी कविता श्रीसलाई पनि स्पष्टीकरण सोधिएको छ । तोकिएको समयमा स्पष्टीकरणसहित उपस्थित नभएमा प्रहरी नियमावली, २०७१ को नियम ११३ को उपनियम (१) को खण्ड (च) को कसुरमा सोही नियमावलीको नियम १०९ को देहाय (ख) (१) बमोजिम सेवाबाट हटाउने चेतावनी दिइएको छ ।
टिप्पणीहरू