सेनाबाट भाग्नेहरुको संख्या भरमार
विदेश जानुअघि कैंचीमा धार लगाउन ब्यारेकबाट निस्केर बेपत्ता
दशैंको मुखमा असोजदेखि हालसम्म दर्जन बढी सैनिक बेपत्ता भएको बुझिएको छ । यिनैमध्ये पनि हुन् सात दिन बिदामा बसेका सिपाही छेवाङ तामाङ । घर बिदामा छोडिएका उनी कात्तिक २ गते हाजिर हुनुपर्ने थियो । डोल्पाको से–फोक्सुण्डो गाउँपालिका–८ बस्ने सेराव लामाका नाति एवं कार्मा हिक्टुकका छोरा उनी असोज २६ गते ब्यारेकबाट निस्किएका थिए । घरमा समस्या परेको भनेपछि छुट्टी दिइएको थियो । तर, उनी तोकिएको मितिमा हाजिर भएनन् । ब्याच नम्बर ३०८४७६ भएका उनी नफर्किएपछि प्रहरीलाई खोज्दैको सास्ती छ ।
अर्का सिपाही हरिकृष्ण बुढा पनि सोही दिनदेखि बेपत्ता छन् । घर बिदामा बसेका उनी अघिल्लो महिना मेजर हराएको जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर ११, मुहुँ बस्ने सुर्ज बुढाको नाति एवं धनबहादुरको छोरा हुन् ।
सिपाही दिपेश तुम्बापो समेत लाइनबाटै भागेका छन् । पाँचथरको फिदिम नगरपालिका–५ बस्ने ईन्द्रबहादुर तुम्बापोको छोरा उनी श्री नम्बर २१ बाहिनी अड्डामा थिए । गत असोज २६ गते नै उनी लाइनबाट भागेको बताइन्छ ।
ब्याच नम्बर ३०७६९४ भएका सिपाही सुनिल श्रेष्ठ पनि भगौडामा परेका छन् । दोलखाको बिगु गाउँपालिका–३ बस्ने हेमबहादुरका छोरा उनी गत असोज २४ गते छुट्टीमा थिए । असोज ३० गते तोकिएको समयभित्र हाजिर नभएका उनी कता हराए पत्तो छैन ।
एक महिनाका लागि बिदामा बसेका सिपाही प्रविन देउवा पनि सम्पर्कविहीन छन् । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१, स्याउलेका उनी भदौ ३१ गतेदेखि घर बिदामा थिए । अहिलेसम्म सम्पर्कमा नआएका उनी खड्कबहादुरका छोरा हुन् ।
पेरिमिटरको तारबार नाघेर भागेका सिपाही पुनम दोर्जे तामाङलाई यसबीच सेनालाई धुइँधुइँती खोजिरहेको छ । ब्याच नम्बर ३०९८८६ भएका उनी कात्तिक ३ गते भागेका हुन् । मोरङको याङशिला गाउँपालिका–४ का चन्द्रबहादुर तामाङका नाति एवं प्रसादसिंहका छोरा उनीसँगै दुई दिन घर बिदामा छाडिएका सिपाही पदमबहादुर थापामगरको पनि खोजी थालिएको छ । तनहुँको ब्यास नगरपालिका–६ बस्ने उनी कात्तिक २ गते गणबाट निस्किएका थिए ।
सिपाही दिनेश खड्का पनि बेपत्ता छन् । दैलेखको दुल्लु नगरपालिका वडा नम्बर १ बस्ने रनबहादुर खड्काका नाति एवं नयरामका छोरा उनी तीन दिन घर बिदा मागेर कात्तिक ६ गते ब्यारेकबाट निस्किएका थिए ।
एक दिन बिदा लिएर गणबाट निस्किएका सिपाही रेशम सुनारको खोजी भइरहेको छ । ब्याच नम्बर २९२६५७ भएका उनी कात्तिक ९ गते बिदा बसेका थिए । उनको घर गोरखा नगरपालिका वडा नम्बर २, धोचे हो ।
६ दिनका लागि घर गएका ब.का.सि सन्दिप श्रेष्ठ पनि सम्पर्कविहिन भएका छन् । गोरखाको भीमसेनथापा गाउँपालिका वडा नम्बर ७ निवासी चोकनारायणका छोरा उनी असोज २६ गते निस्किएका थिए । अर्कातिर ब.का.सि काशिराम कुमाल कात्तिक ६ गते ब्यारेकको हाता नाघेर भागेका छन् ।
श्री कालीरक्षा गणमा कार्यरत अमल्दार राजेन्द्रसिंह भण्डारी असोज २७ गते हाजिर हुनुपर्नेमा उनको अहिलेसम्म कुनै अत्तोपत्तो छैन । कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर २, बंक बस्ने ईन्द्रसिंह भण्डारीका छोरा उनको खोजी कार्य जारी छ ।
कैंचीमा धार लगाउन हिँडेका सैनिक केशकर्तक मेथुन ठाकुर गायब छन् । संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यका लागि छनौट भएका ठाकुर कात्तिक ३ गते निस्किएका थिए । ब्याच नम्बर २५०२७० भएका उनी कात्तिक ४ गते उपस्थित हुनुपर्ने थियो । सर्लाहीको रामनगर गाउँपालिका वडा नम्बर १, खैर्वाका सर्पलालका नाति उनी विदेश मिशन जान छाडेर किन भागे पत्तो छैन ।
प्युठ नवीन थापा पनि बाँकेको खजुरा गाउँपालिका वडा नम्बर १ बस्ने बुबा खगिराम थापालाई तनाव दिँदै कसैलाई जानकारी नगराईकन तारबार नाघेर भागेका छन् । ब्याच नम्बर २९४५६० भएका उनी कात्तिक ८ गते सुटुक्क भागेपछि खोजी कार्य जारी छ ।
केही सैनिक फर्किए
यसबीच ब्यारेकको पेरिमिटर नाघेर भागेका सिपाही विजय रिमाल फर्किएका छन् । उनी कात्तिक २ गते कुलेलम ठोकेका थिए । उनी नुवाकोट बस्ने नवराज रिमालका छोरा हुन् । सिपाही समिर परियार पनि १३ दिनपछि फर्किएका छन् । घर बिदामा गएका उनी असोज २१ गते फर्किनुपर्नेमा कात्तिक ३ गते बल्ल हाजिर भएका हुन् । ओखलढुङ्गा बस्ने नुनबहादुर दर्जीका छोरा उनी आफैँ हाजिर हुन आएको बुझिएको छ ।
कैलाली बस्ने सरकारी राना र अमृत गिरी पनि पल्टनमा हाजिर भएका छन् । असोज २८ गते हाजिर हुनुपर्ने थियो । जनक शिक्षा सामग्री केन्द्र, सुरक्षा पोस्टको पेरिमिटर नाघेर भागेका गोकुल गौतम पनि फर्किएका छन् । बाराका भवानीप्रसादको नाति एवं रामप्रसाद गौतमको छोरा उनी वेटर पदमा कार्यरत छन् । उनी कात्तिक ६ गते भागेका थिए ।
टिप्पणीहरू