खास भूकम्प त आउनै बाँकी छ
भूगर्भशास्त्री अच्युतानन्द भण्डारी, पुराना वामपन्थी नेता हुन् । अहिले नेकपा माओवादी केन्द्र पार्टीको सचिव रहेका पूर्वमन्त्री गणेश साह, पूर्वमन्त्री चन्द्रदेव जोशीहरूसँगै रसियामा अध्ययन गर्दा मस्कोमा नेकपाको समुद्रपार समिति बनाएर सचिव थिए । स्वदेश फर्किएलगत्तै ०२७ सालदेखि जियोलोजिष्टका रूपमा खानी तथा भूगर्भ विभागको भौगर्भिक सर्भेमा जागिर खाए । ०४२ साल असार ६ गते बम काण्डमा पूर्वमन्त्री गणेश साह, चन्द्रदेव जोशी, कृष्णमुरारी भण्डारी, जितेन्द्रदेवहरूसँगै पक्राउ परी हनुमानढोकामा थुनिए । सर्वाेच्चले कारण देखाऊ आदेश दिएपछि छुटे । चैतमा कारागारबाट छुटेर अवकाशको पुर्जी पाए । जोशी नेशनल ट्रेडिङ र साह खानेपानी संस्थानतिर कर्मचारी थिए त्यतिबेला । कृष्णप्रसाद भट्टराई सरकारले जागिरमा स्थापित गरे पनि नियुक्ति लिएनन् । बरु आफ्नै कन्सल्टेन्सी चलाए । उमेरले ८१ वर्ष पूरा भएका उनी केही समय नीलाम्बर आचार्यको सल्लाहकार रहे । बीचमा एमालेतिर लागे र पछि निश्क्रिय रहे । भूगर्भशास्त्रीसमेत रहेका उनी नेपालको पश्चिम क्षेत्र भूकम्पको उच्च जोखिममा रहेको बताउँछन् ।
– हरि गजुरेल
० बझाङतिर बारम्बार भूकम्प जानुले केको संकेत गरिरहेको छ ?
– पृथ्वीको गर्भमा भएको शक्ति सञ्चय खपिनसक्नु भएपछि त्यसलाई बाहिर निकाल्ने प्रक्रिया हो भूकम्प । नेपाल यस्तो ठाउँमा छ, जसको मुनि दुई वटा प्लेट ठोक्किरहेका छन् । युरो एशियन प्लेट (जसलाई तिब्बतियन प्लेट पनि भनिन्छ) घर्षणले भारतीय प्लेट बर्सेनि तलतिर धस्सिरहेको छ । नियमित रूपमा दुई प्लेट एक अर्कोमा घर्षण हुँदै गर्दा शक्ति सञ्चय भई खप्न नसकेपछि बिस्फोट हुन्छ । नेपालमा केही जोन छुट्टिएको छ । यसरी जोन छुट्ट्याउनमा विशेष देन छ, माधवदास पाण्डेको । यसअघि पूर्वी नेपालमा भूकम्प गयो, ०७२ सालमा मध्य नेपालमा, पश्चिम र सुदूरपश्चिम जोनमा भूकम्प भने गएको थिएन । झण्डै पाँच सय वर्ष भयो त्यता भूकम्प नगएको । यो बीचमा ठूलो शक्ति सञ्चय भयो । वर्षमा झण्डै दुई–अढाई इञ्च जमिन सर्यो । पोखरादेखि पश्चिमको दार्चुला, उत्तराखण्डसम्मको भाग जोखिममा पर्यो । अहिले जाजरकोट केन्द्रबिन्दु भएर ६ दशमलव ३ म्याग्निचुडको मिडियम भूकम्प गएको हो । १० रिक्टर स्केलको भूकम्पलाई मात्रै महाविनाशकारी मानिन्छ । त्यसप्रकारको भूकम्प अहिलेसम्म रेकर्ड भएको छैन । ०७२ को ७ दशमलव ८ को हो । ८ दशमलव ३ रिक्टर स्केलको भूकम्प ९० सालमा गएको थियो । हामीले ८ दशमलव ३ सम्मको अन्दाज गर्न सक्छौँ । त्योभन्दा ठूलो भूकम्प गएको खण्डमा विध्वंश नै गर्छ । भूकम्पले मान्छे मार्ने होइन । हाम्रो संरचनासम्मलाई मार्ने हो । हामी घरमा छौँ, भूकम्प गयो, घर भत्कियो । घरले किच्छ । बाहिर जमिनमै छाँै, जमिन फाट्छ । जमिनमुनि हामी फस्दा । भूकम्पले होइन कि संरचनाले हामीलाई मार्ने हो ।
० पूर्वीनेपालमा भूकम्प गएसँगै यस प्रकारको भूकम्प पश्चिमतिर जुनकुनै बेला जानसक्छ भन्ने पूर्वानुमान छँदै थियो । तर, पूर्वतयारी किन भएन ?
– पश्चिम नेपालमा समयमै भौतिक संरचना बलियो बनाउन संघ, प्रदेश, स्थानीय सरकारहरू चुकेकै हुन् । अहिले भूकम्प गइसकेपछि त्यता गर्ने भनेको त उद्धार मात्र हो ।
० कसरी ?
– घर यस्तो घर बनाऊँ भनेर स्थानीय तहले भन्नुपर्ने हो । ०७२ मा भूकम्प जाँदादेखि नै घर बनाउँदा तदारुकता लिनुपथ्र्याे । त्यसो हुन सकेको खण्डमा क्षति कम हुन जान्थ्यो ।
० बझाङको पराकम्प ‘अलार्म’ हो कि तत्काललाई थप जोखिम टरेको हो ?
– पश्चिममा मात्र होइन, नेपालको पूर्वी र मध्यभागमा पनि भूकम्पको जोखिम टरेको छैन । अर्थात् ०७२ सालको धङधङी बाँकी नै छ । ०७२ को भूकम्पको शक्ति गएर दक्षिणतिर लक भएको छ । जुन चुरेको अन्त्यतिरबाट निस्कनुपथ्र्याे । अहिले जाजरकोट केन्द्रविन्दु भएर गएको मिडियम खालको हो । यसले पूर्व सूचना मात्र दिएको छ अब शक्ति निस्कन लाग्यो भनेर । अलिकति सजग हौँ भनेर जनाउसम्म दिएको छ । त्यसलाई सर्वसाधारण, सरकारले त्यही रूपमा बुझेर पूर्व तयारी थाल्नुपर्छ ।
० भूकम्पको क्षति कम गर्न तत्काल ती स्थानमा गरिहाल्नुपर्ने काम के–के हुन्छ ?
– तत्कालै केही गर्न सकिँदैन । यो भूकम्पले सजक हौँ, सावधानी अपनाऊँ भनेर जनाउ दिएको छ । ती स्थानमा अबको दुई÷पाँच÷दशकपछि जति बेला पनि भूकम्प जान सक्छ । सोहीअनुसार भौतिक संरचना निर्माण गर्ने, पुराना घरलाई सवलीकरण गर्नेतिर जोड दिनुपर्छ ।
० भूकम्पको उच्च जोखिममा नेपालको पश्चिमी भाग मात्र हो वा पूर्वी नेपाल पनि त्यस प्रकारको जोखिममा छ ?
– पूर्वी नेपालमा अहिले त्यतिधेरै शक्ति सञ्चय भइसकेको छैन । भूकम्प जाँदै आउँदै गर्ने कुरा हो । भूकम्पबाट छुट्कारा पाउनेवाला छैनौँ । एक भाग, अर्काे भाग गर्दै भूकम्प आइरहेको छ, यो हाम्रो लागि राम्रो कुरा हो । यदि एकै पटक भूकम्प आएको थियो भने ठूलो क्षति पुर्याउँथ्यो र जोखिम पनि बढी हुन्थ्यो । पोखरादेखि पश्चिम दार्चुलासम्म र भारतको उत्तराखण्ड बढी जोखिममा छ अहिले ।
० भूकम्पीय दृष्टिले काठमाडौँ उपत्यका कत्तिको जोखिममा रहेको पाउनुहुन्छ ?
– कुनै समय काठमाडौँ उपत्यका ठूलो तलाउ थियो । पछि माटो, बालुवा, ढुङ्गाले भरिँदै, पुरिँदै गयो । यहाँको माटोको प्रकृति कालिमाटी, बालुवालगायत छ । कति गहिराइमा शक्ति फुट्छ, त्यसकै आधारमा क्षति बढी÷घटी हुने हो । जाजरकोटको भूकम्प १० देखि १२ किमि तल गएको छ भनिएको छ । ०७२ सालको भूकम्प १० किमि तल थियो । ०७२ सालको भूकम्प एक त सार्वजनिक बिदाको दिन, अर्काे दिउँसो गएको हुँदा मानवीय क्षति कम भयो । यदि राति गएको भए ठूलो मानवीय क्षति हुन्थ्यो ।
० भूकम्पीय दृष्टिले नेपालको कुन जिल्ला वा ठाउँ बढी जोखिममा छ ?
– गोर्खामा भूकम्प गयो । पोखरा धेरै टाढा होइन, सिन्धुपाल्चोक गोर्खाबाट धेरै टाढा छ तर, पोखरामा उतिधेरै क्षति भएन । सिन्धुपाल्चोकमा धेरै क्षति भयो । यसरी शक्ति बिस्फोट भएर बाहिर निस्कँदा जोनहरू एउटै पर्यो र बढी गर्यो । दोलखा पूर्व उति धेरै क्षति भएन । भुइँचालो कहाँ र कुन जोनमा पर्छ, त्यसअनुसार संरचना निर्माण शुरु गर्नुपर्छ । संरचना बलियो बनाउने, सवलीकरण गर्ने नियम बनाउनुपर्छ, कडाइसाथ । पूर्वीनेपालमा गइसकेको छ । ताप्लेजुङ नजिकै सिक्किममा गएको भूकम्प, ९० सालको भूकम्प भोजपुर केन्द्र भएर जाँदा बिहारमा बढी क्षति बारपाकभन्दा पश्चिममा भूकम्प जाँदा क्षति पनि बढी हुने सम्भावना देखिन्छ किनभने चेतनाका हिसाबले पश्चिम कमजोर छ । ४ म्याग्निच्युड गयो भने पूर्वमा जुन रेस्पोन्स हुन्छ, पश्चिममा त्यसरी भएको देखिँदैन।
० एक रिक्टर स्केलको फरक पर्दा त्यसको शक्तिमा ३२ गुणा फरक पर्छ भन्ने सुनिन्छ, यसबारे अलि स्पष्ट पारिदिनुहोस् न !
– ६ दशमलव ३ भन्दा ६ दशमलव ४ बढी शक्तिशाली हुन्छ । पाँच रिक्टर स्केलको भूकम्प जानका लागि जति शक्ति चाहिन्छ, ५ दशमलव १ रिक्टर स्केलको भूकम्पका लागि ३२ गुणा बढी शक्ति चाहिन्छ भनिएको हो ।
० जति ठूलो अन्तरालमा भुइँचालो जान्छ त्यो त्यति नै बढी शक्तिशाली हुन्छ भनिन्छ । यसो भनिनुको कारण के हो ?
– हरेक वर्ष नेपालको भूमि साँढे दुई इञ्च अर्थात् ३५ सेमीका दरले भासिरहेको छ । चीन वा तिब्बतमाथि गइरहेको छ । यो हिसाबले पाँच सय वर्षसम्म जम्मा भएको शक्ति कति होला ? आमजनका आँखामा भूकम्प नजानु राम्रै हो । तर, भूकम्प विज्ञानमा चाहिँ गइरहँदा शक्ति सञ्चय घट्ने हुन्छ भनिन्छ । इण्डियन प्लेट हरेक वर्ष २ सेन्टिमिटर तिब्बतियन प्लेटमा घुस्छ । यो हिसाबले पाँच सय वर्षमा झण्डै १० मिटर जमिन तलबाट माथि सिफ्ट भइसकेको छ । अर्थात् इण्डियन प्लेट तिब्बतियन प्लेटमा घुसिसकेको छ । त्यति जमिन सिफ्ट हुँदा जुन ऊर्जा सञ्चय भएको छ, त्यसले ८.५ भन्दा ठूलो भूकम्प ल्याउने भनाइ छ । त्यसैले भूकम्प लामो समय नजाँदा जोखिम बढी हुन्छ । गइरहँदा भने धेरै ऊर्जा सञ्चय हुन पाउँदैन र ठूलो भूकम्प गएर क्षति हुने सम्भावना कम हुन्छ । हाम्रो हिमालय इण्डिया, अफगानिस्तान, बर्मा गरेर २००५ किमि फैलिएको छ । हिमालय आफैँ भूकम्पको कारण बनेको छ । जमिनमुनि गएका कारण उठेर हिमालय बनेको हो । हामी तल गइरहेका छाँै र उत्तरी भाग उठिरहेको छ ।
० डोटीमा ५.६ रिक्टर स्केलको भूकम्प गयो, त्यसबाट घर भत्किए । केहीको मृत्यु नै भयो तर जापानमा त्यतिको भूकम्प जाँदा कुनै क्षति हुँदैन । किन ?
– त्यहाँ हाम्राजस्ता गगनचुम्बी महल हुँदैनन् । हल्का घर निर्माण गरेका छन् । जो भत्किँदैनन् । दिनहुँ त्यहाँ भूकम्प गइरहेको हुन्छ । केही वर्षअघि कोबेको पुरानो शहरमा भूकम्प गयो । हाम्रो हनुमानढोकाजस्तै ठाउँ थियो त्यो । ठूलो क्षति भयो । अहिले पनि हामीले संरचना निर्माण गर्दा होस गर्न सकेको खण्डमा भूकम्पबाट हुने क्षतिबाट बच्न सक्छौँ ।
० भूकम्पपछि उद्धारमा सरकारले देखाएको तत्परतालाई कसरी लिनुहुन्छ ?
– सरकारले भनाइ र गराइमा राम्रै गरिरहेको छ । अहिले गएको ठूलो भूकम्प होइन भन्ने कहाँबाट थाहा हुन्छ भने यसले रुकुम र जाजरकोट दुईवटा जिल्लालाई मात्र प्रभावित पा¥यो । ०७२ सालको भूकम्पले १४ वटा जिल्लालाई छोएको थियो । अहिले सानो स्केलको भूकम्प गएको हुँदा उद्धार गर्न सजिलो भयो । धेरै मानवीय क्षति भएन । पहाडमा बस्ती कम हुँदा मानवीय क्षति कम भएको हो । भनिँदै छ, रुकुममा अर्ब हाराहारीको क्षति भएको छ । जबकि जाजरकोटमा रुकुमभन्दा बढी क्षति भएको छ ।
० तपार्इँहरूले विपद् व्यवस्थापन प्राधिकरण बनाउन माग गर्नुभएबमोजिम सरकारले केन्द्र निर्माण गरेको छ । यसको भूमिका कस्तो पाइयो ?
– हामीले विपद् व्यवस्थापन प्राधिकरण नै बनाऊ भनेर कराएका हौं । पहिले गृहको एउटा शाखाले हेथ्र्याे । यो केन्द्रको भन्दा पनि प्रभावकारी उद्धार नेपाली सेना, नेपाल प्रहरी र स्वास्थ्य मन्त्रालय, रेडक्रसबाट भएको देखिन्छ । अहिले पञ्चायतकालीनभन्दा राम्रो स्थिति छ । त्यतिबेला दैवीप्रकोप भनिन्थ्यो । हामीले दैवीप्रकोप होइन, प्रकृतिको खेला हो भनेर करायौं । दैवले बाण हानेको होइन भनेर कराएपछि त्यसलाई प्राकृतिक प्रकोप भन्न थालिएको छ ।
० नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले भूकम्पबारे पूर्व सूचना दिने उपकरण निर्माण गरेको छ क्यार ! त्यो उपकरण किन प्रभावकारी भएन ?
– नाष्टले बिक्री गर्ने एउटा उपकरण ल्याएर राखेको हो, त्यो खासै प्रभावकारी पाइन मैले । मैले ल्याएर राखें तर भूकम्पले घर, जग्गा हल्लाइसकेपछि मात्र कराउँछ । बरु त्यो भन्दा जनावरले दिने सूचना पो प्रभावकारी देखिन्छ । जनावरको गतिविधि कसरी थाहा पाउने यसतर्फ अध्ययन र अनुसन्धान जरुरी छ । भूकम्प आउनुपूर्व नै गाईवस्तु दौडन्छन्, सर्प प्वालबाट निस्कन्छन्, चराहरू उड्छन् ।
० प्रसंग बदलौँ, चन्द्रदेव जोशीसँगै रसिया पुगेर पढ्नुभयो । एउटै पार्टीमा रहेर पनि काम गर्नुभयो, ललिता निवास जग्गा प्रकरणमा उहाँलाई जसरी मुछियो, कसरी लिनुहुन्छ ?
– यसमा राज्यले ज्यादती नै गरेको हो । ललिता निवास जग्गा प्रकरणमा सिधै जोडिएका क्याबिनेटबाट निर्णय गर्ने प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल, बाबुराम भट्टराईलाई नबोलाउने, सिआइबी घरमै पुगेर बयान लिने अनि सही गरेकै भरमा दुःख दिन र सताउनका लागि उहाँलाई मुछ्ने ? यो त मकै पिन्दा घुन पिसिएको मात्र हो । यस्तै विवादास्पद् काम गराउन लगाएपछि मन्त्रीबाट पहिल्यै राजीनामा दिएर हिँडेको मान्छेलाई फसाउन खोजियो ।
टिप्पणीहरू