मंसिर ७ र ‘रास्ता’का ‘सस्ता माल’हरू
कहिलेकाहीँ काठमेयर बालेनलाई मन नपरेको रत्नपार्कको फुटपाथ बजारमा जानुभयो भने कोही कराइरहेको हुनेछ, ‘पानसयका दुइटा–पानसयका दुइटा ।’ १० मिटर परबाट झट्ट हेर्दा लाग्छ, ‘वाउ, राम्रो छ मालजिनिस, सस्तो पाइयो रास्तामा ।’ जब तपाईं नजिक गएर सोध्नुहुन्छ, ‘कस्तो छ सामान ? किन यति सस्तो भनेको ?’ उसले जवाफ दिनेछ, ‘सामान पानसय (पाँचसय)को दुई वटा होइन हजुर, एउटा सामानको मूल्य चैँ पाँचसयका नोट दुई वटा भनेको ।’ अब तपाईंको सामान किन्ने भूत तुरुन्तै गायब हुन्छ । यही शैलीमा नेपाली राजनीति विस्तार भइरहेकोबारे हामीले पटकपटक लेखेका हौँ, नेता र नेतृत्वसँग भेट्दा भनेका हौँ । तर ‘रास्ता’को ‘सस्तो माल’को ‘इस्तमाल’ले ‘कमाल’ गर्दैन, सुन र पित्तल छुट्याउनुहोस् भन्दा नेतृत्वले मानेनन् ।
डा. भीम रावलको राजनीतिमा आगमनबारे थोरबहुत यहाँहरू जानकार नै हुनुहुन्छ । उहाँले माधवकुमार नेपालसँगै विद्यार्थी राजनीतिबाट यहाँसम्म आउँदा भोगेको सुखदुःख पक्कै कम छैन । जापानमा हुँदाखाँदाको सेवासुविधा छाडेर नै डा. मीनेन्द्र रिजाललाई कांग्रेसका तत्कालीन युवानेता शेरबहादुर देउवाले नेपाल ल्याउनुभएको हो । उहाँ देउवाको उदाउँदो शक्तिमा सतिसाल बनेर उभिने नेता हुनुहुन्छ । तर, अहिले न माधव नेपालसँग भीम रावल छन्, न देउवासँग मीनेन्द्र रिजाल । राजनीति यस्तै हो । पत्नी मञ्जुका कारण पति बालकृष्णको राजनीतिक शक्ति सकिएको छ । सुन्दरमणि अधिकारीले चरीका लागि मात्रै गीत लेखे त के गरुन् बालकृष्ण ? ‘चरी जेलैमा’को ठाउँमा ‘चरा जेलैमा’ भएका टोपबहादुर रायमाझी, रामबहादुर थापाहरूका कारण धेरैलाई यो गीतले विरह जगाएको छ ।
इमानको र्यापरभित्र बैमानको माल बेचेपछि एक न एक दिन गुणस्तरको कसीमा आउनै पर्छ । कर्मचारीले घुस खाएर कारोबार निर्वाध छाडे पनि उपभोक्ताले स्वाद छानेर खाइदिँदा बदमासी कतै न कतै क्षतिपूर्ति लायक हुन्छ नै ! मञ्जुका लागि बालकृष्णले र टोपबहादुर, रामबहादुरका लागि छोराहरूले दिएको योगदान ‘चरी जेलैमा’ हुने नै भयो ।
राजनीतिमा शक्ति देखाउने नाममा हुल देखाउने भीडले आज एमाले कहाँ पुग्यो ? पशुपतिको सुन खिइँदा पनि नाम जोडिने केपी ओलीले मंगलबार वीरगञ्ज पुगेर जसपाका नेता तथा नेपाली पुलकाण्डमा जोडिने नाम पप्पु अर्थात् हरिनारायण रौनियारलाई एमालेमा अबिरजात्रासहित प्रवेश गराए । पशुपतिदेखि माडीको अयोध्यामा राममन्दिर बनाउने एमाले अभियानमा ‘सोम खेती, बुध घर’ भन्ने मान्यता पनि भत्काएर मंगलबार नै पप्पु भिœयाउने अर्को हतारो किन पर्यो ? न धर्मले, न कर्मले यतिखेर एमाले सबैभन्दा आलोचनाको सिकार भइरहेको छ । कम्युनिष्ट भएर धर्मको व्यापार गर्ने र गुटलाई कर्मको र्यापरमा हाल्ने जुन दुष्कर्मले एमाले यो नियती भोगिरहेको छ, यसले हजारौँ–लाखौँ कार्यकर्ताको चरित्र र जिन्दगी त दाहसंस्कार नै गरिदियो । यतिखेर एउटा व्यक्तिका लागि सिंगो संस्था र युवादस्ता खर्च गर्ने अवस्थामा पुगेको छ । मंसिर ७ त्यसैको एउटा रिहर्सल भयो । प्रसाई विरुद्ध जिते पनि एमाले हाइहाइ हुनेछैन, हारे त यसैउसै टेलिभिजन प्रस्तोता प्रकाश सुवेदीको थेगो काफी छ, ‘विनाशकाले विपरीत बुद्धि ।’
भीम रावल, मीनेन्द्र रिजाल, भलै सूर्य थापादेखि ज्ञानेन्द्र शाही, क्षितिज थेबेहरू राजनीतिक चरित्र हुन् । एउटा राजनीतिक मान्यता, सिद्धान्त, संघर्ष हुँदै संगठनमा पुगेका हुन् । कोही चाँडै पुगे होलान्, कोही रोकिए होलान् । कोहीले केही ‘फन्टुस्याइँ’ गरे होलान् । तर, सबैसँग कम्तीमा राजनीतिक संस्कार छ । गोपनीयता छ । कति भन्ने, बोल्ने, देखाउने भन्ने मान्यता जीवित छ । उनीहरू संस्कारमा हुर्किएका हुन् । तर ‘हजुरबुबा’ भन्दै आएका दुर्गा प्रसाईं, कुनैबेला एमालेलाई घर नै दिने मोती दुगड बोकेर केपी ओली दौडिँदा अहिले कहाँ छन् ? उनले भिœयाएर केन्द्रीय सदस्य बनाएका प्रसाईंले ओली, महेश बस्नेत र एमालेलाई ‘बसिसुख न उठिसुख’ बनाएका छन् । केही दिनअघि ऋषि धमला सोध्छन्, ‘ओली १४ वर्ष जेल बसेका हुन् नि ?’ प्रसाईं भन्छन्, ‘हाम्रा हजुरबुबा मारेर जेल परेका हुन् ।’ केपी ओलीलाई यस्तो दिनको कल्पना थिएन होला, आफ्नै ‘धर्मनाति’ले ‘धर्म’ छाडेर बोलेको सुन्ने दिन पनि आयो । धर्मनाथ ढकाललगायत ‘सामन्त काट्’ अभियानका नाइकेले आफ्नै जिल्लामा उमारेको ‘ऐँजेरु’विरुद्ध अहिले युवा दस्ता सडकमा उतार्नुपरेको छ । दैनिक २ हजार ३ सय हाराहारीमा युवाले देश छाडिरहँदा कति युवा अबको दिनमा प्रसाईं र एमालेको जात्रामा आउलान् ? त्यो पनि आफ्नै पैसा खर्च गरेर । घर फर्कने हो कि होइन, ठेगान नै छैन ।
नेकपा माओवादीले सिंहदरबार, सेना र बालुवाटार घेर्ने भनेर माधवकुमार नेपाल प्रधानमन्त्री हुँँदा दुई लाख वाइसिएल उतार्ने भनेर ‘आर्क’ तयार पारेर काठमाडौँ आन्दोलन गर्न जाँदा त केही भएन । बरु माधव नेपालको राजीनामापछि ७ महिना देश अरु अन्योलतामा फस्यो । प्रधानमन्त्री छान्न सकेन । अहिले ओली र बस्नेतका कर्तुत बाहिर ल्याएर व्यवस्था नै फाल्छु भन्नेलाई दुबई–कतारतिरका एउटा मुसलमान भाइको अडियोले हत्तुहैरान पारिरहेको छ । अर्कातिर दुर्गा प्रसाईंको रोलमोडल पत्रकार भनेका ऋषि धमलाभन्दा माथि पुग्न सकेका छैनन् । भन्न कसैलाई बाँकी राखेका छैनन् ।
‘माधव नेपालको अनुहार मन पर्दैन’ जस्ता कानुनविपरीत विभेदी वाक्य बोल्दा स्वास्नी र छोराछोरी पाल्न गजबको कन्टेन्ट भन्दै पछि लागेका युट्युबरहरूले थेगिदिएको प्रसाईंको राजनीति कहाँसम्म पुग्ला ? बैंकबाट ऋण लिएर तिर्न नपर्ने भनेर ०५४ सालमा आन्दोलन गर्नेहरूले पछि घरबारी निखनेर कर तिरे । ०६२ को जनआन्दोलनमा घरभाडा तिर्न नपर्ने भनेर आन्दोलनमा लैजानेहरूले ०६४ को संविधानसभा निर्वाचनमा बहुमत ल्याएपछि आफ्नै सरकारका पालामा हर्जाना जोडेर असुलिछाडे । माओवादी र समाजवादी पनि एमसिसीमा ‘व्याख्यात्मक टिप्पणी’सहित जान्छ भन्ने थाहा हुँदाहुँदै बानेश्वरमा आन्दोलन चर्काएर पानीको फोहोरा खाई युवा मरे ।
यो देशमा सबैतिरको विरक्ति आन्दोलन र आन्दोलनमा गुमनाम मृत्यु करार भइरहेको अवस्था छ । दलका पछि लाग्दा गुमनाम मृत्यु हुने देशमा व्यक्तिका पछि लागेर के ‘अमरत्व’ प्राप्त होला र ? तैपनि युवा काम गर्न छाडेर दौडिएका छन् व्यक्तिका पछाडि । कुनै युट्युबरले स्थापित गरिदिएका अनुहार देश र व्यवस्था फेर्ने मानक हुन कठिन छ । युक्रेनमा टेलिसिरियलका राष्ट्रपतिलाई देशको राष्ट्रपति बनाउँदा रसियासँगको युद्धले स्वाभिमानमा जित्यो होला, देशले हारिरहँदा कति वर्ष पछाडि धकेलिएको छ युक्रेन । आफू चाहेर पनि स्वायत्त हुन सक्दैन । स्वायत्त हुन खोजे अमेरिकाले दबाउँछ, स्वाभिमान हुन खोजे रसियाले सिध्याउँछ । हाम्रा देशमा एउटा किशोरीको अडियो, एउटा नानीको सिरकले सिध्याउने नेता र नेतृत्वका पछि दौडेर अझै समय खेर फाल्ने हो र ?
हरेक दिन निरासाका जाल फ्याँकेर युवालाई आफूतिर रत्याउने कलाले रवि लामिछानेलाई यसपटक त फलिफाप नै भयो । तर, रामबहादुर थापा, टोपबहादुर रायमाझी देखाएर माधवकुमार नेपाल र पुष्पकमल दाहाल, वामदेव गौतमहरू चाहिन्न भन्ने केपी ओलीको हालत हेरिएकै छ । यसमाथि दुर्गा प्रसाईं, महेश बस्नेत, नवराज सिलवाल, सर्वेन्द्र खनालहरूले एमालेमा जबज पढाउन थालेपछि अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसालहरू मात्र होइन, अचेल ऐन महर र सूर्य थापाहरू पनि टिकटक हेरेर बस्ने दिन आएका छन् ।
अब मधेशका पप्पुले एमाले कस्तो बनाउने हुन् ? दुई शक्तिशाली देशको छिमेकी भएका नाताले सन्तुलित व्यवहारमा उत्रेर युवालाई समृद्धिमा जोड्न उत्पादनमा सरिक गराउनुपर्ने अवस्थामा माइतीघर र तीनकुने घटनास्थल फेरेर स्वार्थको रोटी पोल्नेहरूलाई युवा पुस्ता अझै ‘रास्ता’को माल ‘सस्ता’ भइरहने ? समय अरू संकटामुख छ । परिवार र बालबच्चा पाल्ने उद्यम गरौँ । रुकुमकाजस्तो ५० लाख रुपैयाँ भन्दा बढी खर्च गरेर अमेरिका जाने बाटोमा पनि नमरौँ, तीनकुने र माइतीघरतिर व्यक्तिका पछि पनि नदगुरौँ ।
टिप्पणीहरू