रोकिएन विदेशको प्रलोभनमा सर्वसाधारण ठगिने क्रम

रोकिएन विदेशको प्रलोभनमा सर्वसाधारण ठगिने क्रम
सुन्नुहोस्

वैदेशिक रोजगारीमा कुवेत र पोर्चुगल पठाइदिने नाममा ठगी गर्दै आएका दुई जना पक्राउ परेका छन् । आकर्षक तलबको प्रलोभनमा सर्वसाधारण ठगेका चक्र पोखरेल र निमराज डाँगीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । पाल्पाको रब्दिकोट नगरपालिका–४ घर भई हाल काठमाडौंको बसुन्धारा बस्दै आएका ३३ वर्षीय पोखरेलले कुवेत पठाइदिने प्रलोभनमा ठगेको खुल्न आएको छ । 

कुवेत जान प्रतिव्यक्ति दुई लाख लाग्ने र मासिक ६० हजार तलब हुने आश्वासनमा पीडितबाट पटकपटक गरी एक लाख ८६ हजार उठाएपछि उनी सम्पर्कविहीन भएका थिए । 

त्यस्तै, रोल्पाको गंगादेव गाउँपालिका–३ घर भएका र हाल काठमाडौंको गोंगबु बस्दै आएका ३९ वर्षीय डाँगीले त्यस्तै प्रलोभनमा ठगेका हुन् ।
पोर्चुगल जान प्रतिव्यक्ति १६ लाख लाग्ने र मासिक एक लाख २० हजार तलब हुने प्रतिष्ठित होटलमा काम लगाइदिने प्रलोभनमा पीडितबाट पटकपटक गरी १० लाख उठाएपछि उनीपनि बेपत्ता भएका थिए । 

पीडितहरुले वैदेशिक रोजगार विभाग गुहारेपछि प्रहरीले गरेको खोजतलासको क्रममा उनीहरु आज पक्राउ परेका हुन् । पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका निम्ति विभाग पठाइएको छ ।

टिप्पणीहरू