नेपाली सेना भोलिदेखि जनमुक्ति सेनाको संयुक्त अभ्यासमा सामेल हुँदै

नेपाली सेना भोलिदेखि जनमुक्ति सेनाको संयुक्त अभ्यासमा सामेल हुँदै
सुन्नुहोस्

नेपाली सेनाको एउटा टोली र चिनियाँ जनमुक्ति सेनाबीच संयुक्त अभ्यास हुने भएको छ । ‘सगरमाथा फ्रेन्डशिप’ नाम दिइएको संयुक्त अभ्यासमा सहभागी हुन नेपाली सेनाको टोली आज चीन प्रस्थान गरेको छ । 

भोलिदेखि असोज १५ गतेसम्म चीनको चोङछिङमा सञ्चालन हुने उक्त अभ्यासमा विपद् व्यवस्थापन, संयुक्त राष्ट्रसंघीय शान्ति मिसन, प्रतिआतंकवादलगायत विषयमा ज्ञान आदानप्रदान हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

नेपाली सेनाले विपद् व्यवस्थापन, मानवीय सहयोग, संयुक्त राष्ट्र संघिय शान्ति मिसन लगायतका विषयहरूमा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न देशका सेनासँग द्विपक्षीय तथा बहुपक्षीय अभ्यास एवम् विभिन्न प्रकारका पेशागत प्रतियोगिताहरुमा सहभागिता जनाउँदै आइरहेको छ । 

वि.सं. २०७४ सालदेखि थालिएको उक्त अभ्यासको यो चौथो संस्करण हो । नेपाल र चीनमा प्रत्येक वर्ष आलोपालो सञ्चालन हुँदै आइरहेको सो अभ्यास कोभिड–१९ को महामारीपछि केही वर्ष स्थगित भई पुनः सञ्चालन गरिएको हो ।

टिप्पणीहरू