‘बलात्कार’ सुन्नासाथ जबर्जस्ती जेल

‘बलात्कार’ सुन्नासाथ जबर्जस्ती जेल

उच्च जात भनिएकासँग प्रेम गरेको आधारमा कुटिने पिटिने मात्रै नभएर मारिने घटना त सामान्य लाग्न थाले भने बलात्कारको आरोपमा जेल पठाउने कुरा कुन नौलो भयो र ? गत आइतबार जिल्ला अदालत परिसरमा जम्मा भएका केही दलित अगुवाको भनाइ थियो यो । न्यायाधीशले त पक्कै न्याय/अन्याय छुट्याउँछन् होला नि भन्ने प्रतीक्षामा रहेका दलित अगुवा र बलात्कारको आरोप समातिएका मध्यनेपाल–६ का १९ वर्षे प्रदीप दर्जीका आफन्तहरू जब प्रदीपलाई कारागार चलान गर्ने न्यायाधीश कृष्णप्रसाद पौडेलले निर्णय सुनाए ती कुरा भन्न बाध्य भए ।

गत आइतबार थुनछेक बहसका क्रममा पीडक भनिएका दर्जीको बयान सुन्दा न्यायाधीश पौडेल आफैं ट्वाँ परेका थिए । आफ्नी छोरीलाई बलात्कार गरेको भन्दै सोही नगरपालिकाकी शान्तिदेवी भण्डारीले भदौ १२ गते जिल्ला प्रहरी कार्यालय लमजुङमा दिएको उजुरीका आधारमा पक्राउ परेका प्रदीप दर्जीले प्रहरीमा पनि आरोपको पूरै इन्कारी बयान दिएका थिए । तर, मुद्दा शाखाका सई बोलकुमार श्रेष्ठलगायतले केटाको बयानलाई कुनै सम्बोधन नै नगरी कहिले केटीकै घरमा, कहिले आफ्नै घरमा पटकपटक बलात्कार गरेको मात्रै नभएर शिवरात्रिको मेलामा समेत बलात्कार गरेको भनी आफ्नै मनमौजीले बयान तयार पारे । 

प्रदीपले आइतबार न्यायाधीशसमक्ष यस्तो बयान गरे– ‘श्रीमान्, कुनै बेला मेरो अनिच्छा हुँदाहुँदै पनि पीडित भनिएकी मेरी श्रीमतीले नै मलाई उत्तेजित पार्थिन् । दुई वर्षदेखिको प्रेमलाई हामीले विवाहमा परिणत गरेका हौँ । हामीले बिहे गरेको ६ महिना भयो । उनको गर्भमा मेरो बच्चा पनि छ । बेलाबेला स्वस्थ परीक्षण गरेको रिपोर्ट पनि छ । मैले त्यसरी जबर्जस्ती करणी गरेको थिएँ भने आज यतिका दिनसम्म किन कुनै उजुरबाजुर गरिएन ? मैले बिहे २० वर्षपछि नै गरौंला भनेको थिएँ तर उसको परिवारले मसँग छुटाएर ३० वर्षको केटोसँग बिहे गर्दिन लागेका रहेछन् । त्यो थाहा पाएर उनी पुनः मेरो घरमा आई मेरी आमालाई सासू मानी बसेकी हुन् । कानुनमा जातीय भेदभाव अन्त्य गरिएको छ कसैलाई अपहेलित गर्न पाइँदैन पनि भनिएको छ तर त्यही जातकै कारण मेरी श्रीमतीलाई अनेक दबाब र प्रभावमा पारी हुँदै नभएको मुद्दा हालेर मलाई फसाउन खोजिएको हो श्रीमान् ।’

गहभरि आँसु पारेर न्यायाधीशसमक्ष पीडा पोखेका प्रदीपको बयानलाई न्यायाधीशले फर्जी बनाइदिए । बार एशोसिएसन लमजुङका अध्यक्षसमेत रहेका अधिवक्ता कृष्णप्रसाद अधिकारी र अर्का अधिवक्ता विजय अधिकारीले समेत केटाको पक्षबाट बहस गरेका थिए । श्रीमान् यो नितान्त वैवाहिक सम्बन्ध र त्यसबाट रहन गएको गर्भ हो भनेर केटाले सामान्य तारिखमा रिहा गरिनुपर्छ भन्दै दलिल पेश गरे पनि बलात्कारको नाम सुन्नेबित्तिकै जाकिहाल्नुपर्छ भन्ने मान्यताका साथ जिल्ला अदालत लमजुङले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश गरिदियो ।

जिल्ला अदालत लमजुङको आदेशउपर उच्च अदालत जाने तयारीमा लागेका दर्जीका आफन्त र दलित अगुवाको बैठकमा आफ्नी श्रीमतीलाई सम्बन्धविच्छेदको मुद्दा हालेका कास्की जिल्ला अदालतका पूर्वमुख्यन्यायाधीश श्रीकृष्ण भट्टराईको प्रसंगले पनि राम्रै चर्चा पायो । 

लमजुङ सुन्दरबजार नपा–९ का भट्टराईले बेंसीशहर माइती भएकी जेठी श्रीमतीलाई सम्बन्धविच्छेदको मुद्दा हालेपछि उनका छोरीहरूले उनीविरुद्ध अंश मुद्दा र गाली बेइज्जती मुद्दा हालेका छन् । गत हप्ता साक्षी सर्जिमिनका लागि आफ्ना दुई वारेसी केदारबहादुर र सुजन खड्कासहित दर्जन आसेपासे लिएर काठमाडौंबाट लमजुङ पुगेका भट्टराई आफू अदालतमा भने देखिएनन् ।

जिल्ला अदालत कास्कीमा हुँदा सँगै काम गरेका एक कर्मचारीलाई उद्धृत गर्दै एक दलित अगुवाले भट्टराईले सरकारी रातो नम्बर प्लेटको गाडीमा निजी नम्बर राखेर पूरै कालो सिसा हाल्न लगाइ आफैं ड्राइभ गर्ने र त्यो कालो सिसाको गाडीमा फेरीफेरी तरुनी बोक्ने मात्रै हैन, रक्सी त्यस्तै धोक्ने गरेको आरोप लगाएका थिए । उनले भने, ‘आफ्नो घरपरिवारलाई त मिलाउन नसक्ने न्यायाधीशले कस्तो फैसला गरे होलान है ?’

– अञ्जनकुमार

 

टिप्पणीहरू