आफूले कुनै अनियमितता नगरेको बैतेश्वरका अध्यक्षको दाबी

आफूले कुनै अनियमितता नगरेको बैतेश्वरका अध्यक्षको दाबी
सुन्नुहोस्

दोलखाको बैतेश्वर गाउँपालिकाका अध्यक्ष छवि लामाले आफू निर्वाचित भएपछि पालिकामा विकास धेरै भएको बताएका छन् । दोस्रो कार्यकालमा रहेका पालिका अध्यक्ष लामाले आफू निर्वाचित भएपछि हरेक घरमा खानेपानीको धारा जडान गरिएको, २५ किलोमिटर सडक कालोपत्रे गरिएको, घरघरमा गोरेटो बाटो पुर्याइएको जानकारी दिए ।

त्यस्तै, शिक्षा क्षेत्रमा पनि धेरै काम भएको उनको दाबी छ । आठ कक्षासम्मका विद्यार्थीलाई दिवा खाजा, निःशुल्क पोशाक, पाँच कक्षासम्म अंग्रेजीमा पढाउने व्यवस्था गरिएको बताए । कृषि पेशाप्रति स्थानीयबासीलाई प्रोत्साहन गर्न गाउँपालिकाले विभिन्न कार्यक्रम गर्दै आएको छ । उनका अनुसार गाउँपालिकाले फलफूलको बिऊबिजन, कृषि तालिम, पालिकाभित्र उत्पादित दूध संकलन गर्दै आएको छ । 

‘म दोस्रो कार्यकालको मध्यतिर छु । मेरो कार्यकालमा धेरै विकासको काम भएको छ । एक घरमा एक धारा जडान भएको छ । झण्डै २५ किलोमिटर सडक पिच भएको छ । कच्ची सडक निर्माण गरिएको छ । टोलटोलमा गोरेटो बाटो बनेको छ । सुन्तला, किबी, तरकारीको बिऊबिजन वितरण गरेका छौं । कृषिमा तालिम दिएका छौं । मबाट पालिकाबासी निकै सन्तुष्ट हुनुहुन्छ । अर्कोपटक मिल्ने भए उहाँहरुले मलाई नै निर्वाचित गरेर पठाउनुहुन्थ्यो’, उनले भने ।

उनले आफूमाथि लगाइएको अनियमितताको आरोप झुठ्ठो भएको दाबी गरे । विगतमा आफू ठेकेदार भएपनि गाउँपालिका अध्यक्ष बनेपछि उक्त पेशा छाडेको बताए । लामाका अनुसार उनको डोजर पहिरो हटाउन कहिलेकाँही प्रयोग हुँदै आएको छ । भन्छन्, ‘मेरो निर्माण कम्पनीले ठेक्का लिन छोडिसकेको छ । कहिलेकाँही मेरो डोजर पहिरो हटाउन प्रयोग हुन्छ । त्यो बाहेक अन्यत्र प्रयोग भएको छैन ।’

उनले भाडामा लिने गरिएको गाडी पनि कुनै अनियमितता नभएको ठोकुवा गरे । कार्यालयको गाडी बिग्रिएको अवस्थामा निजी गाडी बुकिङ्ग गर्ने गरिएको लामाको जिकिर छ । कर्मचारीहरुले गाडी बुक गर्ने गरेको पाइएपछि रोक लगाएको र जनप्रतिनिधिहरुको भ्रमणसमेत रोकिएको उनले सुनाए । बागमती प्रदेश सरकारको निर्देशनपछि प्रेस सल्लाहकार र स्वकीय सचिवलाई हटाइएको छ ।

आफूमाथि लागेका आरोपबारे अध्यक्ष लामाले जनआस्था कार्यालयमा आएर यसाे भनेका छन् : (भिडियाे कुराकानी) 

टिप्पणीहरू