प्रधानमन्त्रीले नै लाज पचाएपछि...
पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएका अधिकांश सार्वजनिक सभा–समारोहमा विरोध हुने गरेको छ । उहाँ जहाँ–जहाँ पुग्नुहुन्छ त्यहाँ ‘मूर्दावाद’ को नारा लाग्न थालेको छ । देशको कार्यकारी प्रमुखविरुद्ध कसले गर्दैछ नाराबाजी ? के विपक्षी दलले आफ्ना कार्यकता खटाएका हुन् ? पक्कै होइन ।
प्रधानमन्त्रीविरुद्ध यसरी श्रृंखलाबद्ध नाराबाजी चल्नुलाई सामान्य रुपमा लिन मिल्दैन । यसलाई नाराबाजीको रुपमा मात्र लिए त्यो साँघुरो दृष्टिकोण हुनसक्छ । त्यसैले प्रधानमन्त्री ओलीसँग युवाहरु किन आक्रोशित छन् ? किन निराश छन् ? किन असन्तुष्ट छन् ? यसको कारण खोतल्नुपर्ने हुन्छ ।
‘मर्निङ शोज द डे’ भनेझैँ वर्तमानले भविष्य निर्धारण गर्छ नै । त्यो चाहे देशको भविष्य होस् वा प्रधानमन्त्रीको निजी ।
गत भदौ १० गते टुँडिखेलमा आयोजित गौरा पर्व विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले निम्नस्तरको शब्द र नाराबाजी खेप्नुपर्यो । राजनीतिक अस्थिरता, बेराजगारी र अनिश्चित भविष्यबाट फ्रस्टेड युवाहरुले आक्रोश पोखेका थिए, ‘......चोर, देश छोड !’
प्रधानमन्त्री ओलीप्रति युवाहरुको यो आक्रोशमा काँग्रेस सभापति शेरबहादुर देउवा पनि पर्नुभयो । यद्यपि, छैटौँ पटक प्रधानमन्त्रीको कुर्सीमा उक्लने तयारीमा रहेका देउवाप्रति पनि नागरिकमा सहानुभूति र आशा भने देखिँदैन । त्यहाँ युवाहरुको नाराबाजी सहन नसकेर मुर्मुरिएका देउवाको आक्रोश पोखियो, ‘लाज छैन, बदमाशहरु ! यही हो संस्कार ?’
प्रश्न उठ्छ– राजनीतिक प्रयोगशालामा बारम्बार परिक्षण भएर प्रयोगविहीन प्रमाणित भइसकेका पात्रहरु सत्ताका लागि लालायीत हुनु लज्जास्पद हो कि त्यसविरुद्ध युवाहरुले आवाज उठाउनु चैँ लाजमर्दो हो ?
गत मंगलबार इन्द्रजात्राको अवसरमा वसन्तपुरमा आयोजित कार्यक्रममा पनि प्रधानमन्त्री ओलीले सांकेतिक विरोधको सामना गर्नुपर्यो । टुँडिखेलमा जस्तै मूर्दावादको नारा लाग्नसक्ने भयले प्रधानमन्त्री नपुग्दै ‘बालेन’ लेखिएको टिर्सट लगाएका युवाहरुलाई गिरफ्तार गरियो । प्रधानमन्त्री ओलीले टिर्सट लगाएकै भरमा कसैलाई पक्राउ गर्ने नयाँ नियम बनाउनुभएको हो भने बेग्लै कुरा नत्र यो राज्य शक्तिको दुरुपयोग र जनतामाथिको निरकुंशता शिवाय केही होइन । आफूविरुद्ध उठेका आवाज पचाउन नसकेर असहिष्णु हुँदै ‘लाज छैन’ भन्ने शेरबहादुर देउवालाई थाहा हुनुपर्ने हो, खासमा यो हो लाजमर्दो हर्कत ।
हिजो फेरि संविधान दिवसको अवसर पारेर दरबारमार्गमा आयोजित ‘नेशनल डे कन्सर्ट’मा पनि प्रधानमन्त्री ओलीविरुद्ध युवाहरुले चर्को नाराबाजी गरे । कन्सर्टको स्टेजमा पुगेर उहाँले भाषण गर्दैगर्दा युवाहरुले भनिरहेका थिए, ‘.....चोर, भाग्, भाग्, भाग्, भागिहाल !’
त्यहाँ नाराबाजी गर्नेमध्ये चार जनालाई प्रहरीले पक्राउ गरेको छ । त्यसो त ओलीको विरोधमा बोलेकै कारण युवाहरु पक्राउ परेको यो पहिलोपल्ट भने होइन । टुँडिखेलमा नाराबाजी गर्नेहरुलाई पनि समातेर केही दिन प्रहरी हिरासतमा कोचिएको थियो । रोचक के भने, नाराबाजी गरेकै भरमा कसैलाई पक्राउ गर्न मिल्छ ? भनेर सोध्दा ओली नेतृत्वको प्रहरी प्रशासनसँग दुई वटा रेडिमेड जवाफ छ ः एउटा साइबर कसूर । अर्को पुरानो मुद्दा ।
त्यसअघि अनुसन्धानको घेरामा नपरेका युवालाई सिसिटिभी फुटेज हेरी–हेरी किन पक्राउ गरिन्छ ? त्यसबारे नागरिक जानकार नै छन् । विपक्षीलाई दपेटने, विरोधको स्वर सुन्नै नसक्ने प्रधानमन्त्री ओलीको स्वभाव नै हो । यी घटना उहाँमा रहेको असहिष्णुताको पराकाष्टाका रुपमा प्रकट भएका हुन् । देशको कार्यकारी प्रधानमन्त्रीको कुर्सीबाट जनतामाथि निरंकुशता लादेर संविधानमै किटान गरिएको अभिव्यक्ति स्वतन्त्रताको यसरी कसरी उडाइनु थप चिन्ताको विषय हो ।
नेपाली काँग्रेससँग रातारात गठबन्धन गरेर चौथो पटक सत्ताको बागडोर हातमा पार्नुभएका प्रधानमन्त्री ओलीले दुई महिनाभित्रै तीन वटा ठूला सार्वजनिक समारोहमा विरोध र नाराबाजीको सामना गर्नुपर्यो । यदि यसैगरी विरोध जारी रहे दुई वर्षमा दुई दर्जनबढी पटक उहाँविरुद्ध नाराबाजी हुनेछ उठ्नेछन् ।
प्रधानमन्त्री ओलीलाई लाग्न सक्छ दुई चारवटा विरोध त भइहाल्छ नि ! तर, सवाल आम असन्तुष्टिको हो । युवा आक्रोशको हो । देशका सबै नागरिकलाई सौहार्दपूर्ण तरिकाले बाँच्नसक्ने वातावरण सिर्जना गर्नु प्रधानमन्त्रीको कर्तव्य र दायित्व हो कि होइन ? विरोधको आवाज सुन्नै नसक्ने, आवाज उठाउनेलाई पक्राउ गर्ने, तारिफको पुष्पगुच्छा मात्रै चाहाने, अनि जनताको मुद्धामा रत्तिभर चासो नदिने प्रधानमन्त्रीबाट देशको विकास हुन्छ भनेर आम नागरिकले कसरी विश्वास गर्ने ?
यस्तो अवस्थामा अब प्रधानमन्त्रीसँग दुइवटा विकल्प छ– विरोध र नाराबाजी पचाउने या त्यस्तो वातावरण सिर्जना हुनै नदिने । पानीजहाज र मोनो रेलका हवाई गफमा नागरिक लट्ठ पर्छन् भन्ने पुरानो सोच त्यागेर यथार्थ स्वीकार गर्न नसके विरोधको आयतन थप तन्किने निश्चित छ ।
टिप्पणीहरू