यतातिर ध्यान दिने समय आयो

यतातिर ध्यान दिने समय आयो

समाज प्रचारमुखी र नकारात्मकतातिर उन्मुख छ । राज्यको ध्यान टिकट रोकाउन सर्वदलीय सहमति जुटाउनेतिर केन्द्रित छ । तर धेरैको ध्यान नपुगेको एउटा क्षेत्र हो– विदेश ओसारिने धन र जनको समुचित व्यवस्थापन राज्यको सेवा गर्ने कसम खाएर जागिरमा लागेका सेना, प्रहरी र निजामती कर्मचारीका उच्चपदस्थले विदेशमा थुपारेको धन मात्रै ल्याउने हो भने त्यो पैसाले देशको पूर्वाधार विकासका अनगिन्ती पक्षमा योगदान पुर्‍याउन सक्छ । एक मेगावाट जलविद्युत् उत्पादन गर्न १५ देखि २० करोड खर्च हुन्छ ।

पाँच–सात अर्बले त ३०–३२ मेगावाटको परियोजना नै तयार हुन्छ । सेनाका जर्नेल, कर्णेलदेखि प्रहरीका आईजी, एआइजीहरूले यहाँबाट खर्च पठाएर अमेरिका र बेलायतमा सन्तानलाई पढ्न पठाउँदा अर्बौं रकम बाहिरिएको छ । सर्वसाधारणका सन्तानले १५–२० लाख रुपैयाँ सन्तानलाई पढाइका नाममा विदेश पठाउँदा देशको ठूलो धनराशीसँगै युवा जनशक्ति रित्तियो भन्ने गरिन्छ । तर, उच्चपदस्थ राष्ट्रसेवकले बर्सेनि सन्तानको शिक्षाका नाममा वा कुनै बन्द व्यापारका लागि पठाउने गरेका रकमको खोजी हुने गरेको छैन ।

सेनाका पूर्वप्रमुखमध्ये छत्रमानसिंह गुरुङ हुन्, जसले आर्जित रकम स्वदेशमै खपत गरेका छन् । त्यसो त सम्धी मीनबहादुर गुरुङको भाटभटेनी सुपरस्टोरमा छत्रमानको आर्थिक साझेदारी रहेको आरोप पनि यदाकता लाग्ने गर्छ । तर अरूका हेरी छत्रमानको लगानीलाई किन जायज मानिन्छ भने, कम्तीमा यसरी सञ्चालित व्यवसायले स्वदेशमै रोजगारी सिर्जना गरेको छ, विदेश र विदेशीलाई पोसिएको छैन । अर्का पूर्व सेनाप्रमुख प्रज्वलसमशेर राणा  छोरालाई विदेश पठाउन चाहन्थे ।

तर, लागुऔषधको दुव्र्यसनी भएका कारण कुनै पनि देशले उनलाई भिसा दिँदैन । पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्रीको त आधा जीवन नै अमेरिकामा बित्दै छ । उनी सेनाभित्र गणतन्त्रमा सबैभन्दा धेरै कमाउने बद्नाम प्रधानसेनापति मानिन्छन् । निवर्तमान पूर्वप्रधानसेनापति पूर्णचन्द्र थापाका सालो राजन रायमाझी संयुक्त अरब इमिरेट्स (युएई, दुबई) मा व्यापारिक साम्राज्य खडा गरेर बसेका छन् । उनी पूर्णचन्द्र सामान्य जर्नेल हुँदासम्म पुतलीसडकमा सामान्य कम्प्युटर बेच्ने पसल खोलेर बसेका व्यक्ति हुन् । पूर्णचन्द्र आफैंले पनि बूढानीलकण्ठमा त्यत्रो सम्पत्ति जोडेकै छन् ।

पूर्वप्रधानसेनापतिमध्ये गौरवसमशेर राणा आफैंमा प्रशस्त सम्पत्ति भएका व्यक्ति हुन् । भनिन्छ, देशमा राणाशासन भएको भए पशुपतिसमशेरपछिका श्री ३ उनै हुन्थे । कस्तो प्रवृत्ति हावी भयो भने देशमा हुँदासम्म उमेर सच्याएर जागिर खाइरहने, जागिर सकिएपछि विदेशमा पैसा थुपार्ने ! यो क्रम रोक्नका निम्ति सेनाका सिनियर अफिसरलाई विदेशमा सन्तान पढाउन रोक्नुपर्छ भन्ने आवाज उठ्न थालेको छ ।

चीनमा सि चिनफिङले गरेको त्यही हो । त्यहाँ उच्चपदस्थ सरकारी अधिकारीका सन्तानले अनिवार्य स्वदेशमै शिक्षा हासिल गर्नुपर्ने व्यवस्था गरिएको छ । युवा विद्यार्थीलाई स्वदेश फर्केर सेवा गर्ने शर्तमा लगानीसहित प्राविधिक विषय पढ्न विकसित देशतिर पठाइन्छ । फलतः स्वदेशको श्रम र सीप पछि स्वदेशमै खपत हुन्छ । कमाएको पैसा विदेश गएपछि र वर्षमै प्लसटु सक्ने सवा २ लाख मध्ये पौने २ लाखले शिक्षा मन्त्रालयबाट एनओसी लिने भएपछि देश त्यसै पनि रित्तो र कंगाल हुने भयो ।

एकथरीले तर्क गर्छन्, ‘नेपालमा अंग्रेजी माध्यमबाट पढाइ गराउनु भनेको युरोपेली र अमेरिकीका लागि सजिलो बनाइदिनु हो । त्यसैले शिक्षा नीति पनि फेर्नुपर्छ ।’ नेपालीले आफ्ना सन्तान स्वदेशका लागि हैन, विदेशका लागि हुर्काइरहेका छन् भन्ने कुरालाई माथिको तर्कले बल पुर्‍याएको दावी गरिँदैछ । 

टिप्पणीहरू