पति, पत्नीले एकार्कालाई मनपरी लेख्न पाइन्छ ?

पति, पत्नीले एकार्कालाई मनपरी लेख्न पाइन्छ ?
सुन्नुहोस्

एक महिलाको तस्बिर सार्वजनिक गर्दै उनी भन्छन्, ‘जँड्याहा भा.. र... । दुई करोडको सम्पत्ति देको छु र..लाई । दिमाग कहिले आउँछ र..को ? घोराही, मालपोत गएर बुझ्नु, मलाई कल नगर्नु । नाःङा परेल हुन खान दिन्छु ।’

यी हर्कत हुन्, पत्रकारिता पेशामा संलग्न दाङका गणेश ओलीका । गत साता सामाजिक सञ्जालमा देख्ने, सुन्नेलाई नै लाज लाग्नेगरी उनले यस्तो फेसबुक स्टाटस लेखे । त्यसपछि पनि त्यस्ता थुप्रै आपत्तिजनक स्टाटस पोस्ट गरिएका छन् जसमाथि कमेण्टको बाढी लागेको छ । एक जनाले भनेका छन्, ‘हत्तेरी, यस्तो लेखेर समस्या समाधान हुन्न मित्र ! समझदारीको पहल गरौँ । हुँदै नभए विकल्प छन् । तर, सार्वजनिक रुपमा यसरी प्रस्तुत नहुनुस् ।’

अर्को साथी गुनासो पोख्छन्, ‘यो त अति भो, तपाईजत्तिको मान्छेको एउटा हद भन्ने हुन्छ नि यार, हामीले के सिक्नु !’ ओली लुम्बिनी प्रदेशका पूर्वसभामुख पूर्ण घर्तीका प्रेस सल्लाहकारसमेत हुन् । प्रेस सेन्टरका पूर्व केन्द्रीय सदस्य एवं रेडियो पूर्वी रुकुमका प्रस्तोता उनले सामाजिक सञ्जालमा यस्ता शब्द किन लेखे  होलान् ? 

श्रीमतीसँग घरायसी विवादका कारण उक्त स्टाटस हालेको ओलीको भनाइ छ । ‘उनीसँग मेरो सम्बन्धविच्छेद भइसकेको छ । सबै सम्पत्ति दिइसकेको छु । तैपनि मलाई फोन गरेर तनाव दिइराखेको छ । शब्द चयनमा गल्ती भयो होला । तर, जे लेखेको छु, ठीक लेखेको छु’, उनी भन्छन् । 

त्यस्तै, माओवादी केन्द्र, रुपन्देहीले भर्खरै नगर कमिटी सदस्य तथा सैनामैनास्थित वाइसिएल अध्यक्ष शान्ति बराललाई सामाजिक सञ्जालमा अश्लील भिडियो सामग्री जथाभावी पोष्ट गरेको भन्दै कारबाही गरेको छ । टिकटकमा अनैतिक क्रियाकलाप गरेर भाइरल बनेकी उनलाई माओवादीले साधारण सदस्यबाट समेत हटाएको अवस्था छ । 

स्वघोषित सामाजिक अभियन्ता तारा बराल पनि सामाजिक सञ्जालमार्फत उत्तेजक अभिव्यक्ति दिनमा माहिर छिन् । शिष्ट शब्दमा तर पुष्ट्याईंबिनाका सामग्री लेख्नमा नेपाल सरकारका पूर्वसचिव भीम उपाध्याय पनि कम्ती छैनन् । समाज भड्काउने खालका र अध्ययनबिनाका यस्ता सामग्रीले गर्दा सोसल साइट्सहरूमा चरम बेथिति बढेको छ । सामाजिक सञ्जालका ‘भाइरलम्यान’ डिल्लीराम खनाल जथाभावी लेखेर र बोलेर बारम्बार पक्राउ पर्ने गरेका छन् । चर्चामा आउनका लागि सामाजिक सञ्जालमा ‘जे पनि’ बोल्दै आएका र अभिनेत्री करिश्मा मानन्धरको चरित्रहत्या गरेको आरोपमा पक्राउ परेका उनलाई साइबर ब्यूरोले पुनः सेनाको सवालमा मनपरि बोल्दा समातेको छ । दुर्गा प्रसाईंलाई बोलाएर कागज गराएको छ ।

पुण्य गौतम पनि सामाजिक सञ्जालमा उफ्रिरहेकै हुन्छन् । आफूलाई समाजसेवी भन्दाभन्दै ट्राफिक प्रहरीसँग जातीय विद्वेशको भाषा बोलेर सडकमा रमिता देखाए वापत कैदसजायँँ भोगेकी लिभिङ टुगेदरवाली ज्वाला संग्रौला सामाजिक सञ्जालमा अनेक ‘फण्डा’ गरिरहन्छिन् । शर्मिला वाइवाले यसबीच यसैगरी ऋषि धमलालाई रुवाइन् । सामाजिक सन्जाल र विद्युतीय सञ्चार माध्यममार्फत नकारात्मकताको ब्यापारले रवि लामिछानेहरूलाई यो ठाउँमा पुर्‍याएको मान्नेहरू थुप्रै छन् ।

साइबर अपराध नियन्त्रणका लागि कडा कानुन भए तापनि नियमन फितलो छ । विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ मा गैरकानुनी कुरा प्रकाशन गरेमा हुने कारबाहीबारे उल्लेख छ । उक्त दफाले कम्प्युटर, इन्टरनेटलगायत विद्युतीय सञ्चार माध्यममा सार्वजनिक नैतिकता, शिष्टाचारविरुद्धका सामग्री वा कसैप्रति घृणा, द्वेष फैलाउने, विभिन्न जातजाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्री प्रकाशन वा प्रदर्शन गर्न नहुने स्पष्ट पारेको छ । 

त्यस्तै, महिलालाई जिस्क्याउने, हैरानी दिने, अपमान गर्ने वा यस्तै अन्य कुनै किसिमका अमर्यादित कार्य गर्ने वा गर्न लगाउन नहुने पनि उल्लेख छ । त्यसो गर्नेलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजायँ हुने भनिएको छ । तैपनि कानुन उल्लंघन भइरहेको छ । जथाभावी गर्न मानिस डराएका छैनन् र अत्यधिक अभिव्यक्ति स्वतन्त्रताका नाममा प्रविधिको भयंकर दुरुपयोग भइरहेको छ ।

यता, प्रहरीको साइबर ब्युरोले यस प्रकृतिका उजुरी पर्ने क्रम बढेको जनाएको छ । ०७९/८० मा यसखाले पाँच हजार ९०५ निवेदनउपर कारबाही गरिएको थियो । 
 

टिप्पणीहरू