ॐ उडाउनेको आशक्ति

ॐ उडाउनेको आशक्ति
सुन्नुहोस्

नेपाली, भाषा, साहित्यको श्रीवृद्धि गर्ने शपथ खाएर गत फागुन ३ गते प्रज्ञा प्रतिष्ठानको सदस्य सचिवको कुर्सीमा पुगेका डा. धनप्रसाद सुवेदीका आफ्नै व्यथा छन् ।

जिम्मेवारीका हिसाबले त्यहाँ ११ विभाग छन् । उनको काँधमा भाषा (नेपाली भाषा, कोश र व्याकरण) विभाग दिइएको छ । तर, सुवेदी आफैं भाषा, कोश र व्याकरणका विषय विज्ञ होइनन् । यो ९ महिना अवधि अधिकांश समय अख्तियारदेखि अदालतलाई जवाफ लेख्दैमा बितेको छ । हरेक दिनजसो टंगालको रातो घरदेखि अदालतबाट पत्र काटिने सिलसिला जारी रहँदा सुवेदी जवाफ फर्काउदैं (लेख्नमै) व्यस्त रहनुपरेका एक प्राज्ञले जनआस्थालाई प्रत्युत्तर दिए । अहिले एकेडेमीविरुद्ध अख्तियारमा मात्र १७ थान मुद्दा विचराधीन छ । घनेन्द्र ओझादेखि विनोद मञ्जन अनि मन्त्री सुदन किराँतीले कीर्ते नियुक्तिविरुद्ध अख्तियार, सर्वाेच्चमा गुहारिएको छ । नियुक्ति बदरको अर्काे रिट पनि थपिएको छ, त्यहाँ । अनियमितताको विषयमा विभिन्न निकायबाट एकेडेमीलाई दैनिकजसो पत्र काट्ने सिलसिला जारी छ । तिनको जवाफ लेख्दैमा सुवेदीलाई फुर्सद छैन ।

यो बीचमा कहिले शब्दकोशबाटै ॐ उडाउनेदेखि पूर्वकुलपति, उपकुलपतिहरूको सेवा–सुविधा खोस्ने निर्णय भयो । ९ महिनाको यो अवधिमा भूपाल राईहरूले उल्लेख्य काम त केही गर्न सकेका छैनन् नै गरेका निर्णय जति सबै विवादास्पद बन्न पुगेको छ । एकेडेमीको नेतृत्व सम्हाल्नेबित्तिकै भूपाल राईले ११ विभाग पु¥याए । पुराना विभाग तोडमोड गरे । कुलपति भूपाल राईले संस्कृति, लोकवार्ता तथा मौखिक इतिहास विभाग बनाएर आफू मातहत राखे । यसअघिको संस्कृति विभागमा मौखिक वाङमय र लोकवार्ता विभाग थपे र आफैंले जिम्मा लिए । त्यो पनि विवादमा पर्‍यो । संस्कृति भन्नु आफैंमा लोकवार्ता पनि हो ।

विज्ञता एकातिर, जिम्मेवारी अर्काेतिर पर्‍यो भन्दै सोही समयमा विरोधका स्वर नसुनिएका हैनन् । भूपाल कवि हुन् उनी संस्कृति, इतिहासका जानकार होइनन् । अघिल्लो कार्यकालमा  संस्कृतिविद् डा जगमान गुरुङ नै संस्कृति विभागको प्रमुख थिए । यसअघि नेपाली भाषा, कोष तथा व्याकरण भन्ने विभागलाई भाषा मात्र विभाग खडा गरिएको छ । खासमा खस भाषा कोष तथा व्याकरण विभाग बनाउन खोजेका थिए तर लफडा हुने डरले भाषा विभाग मात्र बनाइएको बताइन्छ । 

यस्तै अर्काे कवि विमल निभा (उपकुलपति)लाई बालसाहित्य विभागको जिम्मेवारी दिइएको छ । अघिल्लो कार्यकालमा निबन्ध र समालोचना विभाग थियो प्रा डा गोपिन्द्र पौडेल थिए, सो विभागको प्रमसख अहिले डा. मधुसूदन गिरीलाई समालोचना तथा साहित्य इतिहास विभागको जिम्मेवारी दिइएको छ । डा. कृष्णराज अधिकारी दर्शनशास्त्र विभागको प्रमुख छन् । विभाग कतिसम्म अमिल्दो छ भन्ने अर्काे उदाहरण राजन मुकारुङको जिम्मामा मातृभाषा विभाग पर्नुबाट थाहा लाग्छ । उनी आफ्नै मातृभाषा राई, बान्तवा बोल्न जान्दैनन्, न त मातृभाषामा कुनै कृति नै प्रकाशन भएको छ । अर्काे साहित्यकार अगिव बनेपाली कोश र व्याकरणको विज्ञ होइनन् । तर, उनलाई कोष तथा व्याकरण विभागको हर्ताकर्ता बनाइएको छ । यस्तै, बाबा बस्नेत पद्य–काव्य, डा. कौशिला रिसाल    सामाजिक शास्त्र, हंसावती कुर्मीको भागमा अनुवाद विभाग, अमर न्यौपानेलाई गद्य विभागको जिम्मेवारी दिइएको छ । एकाधका बाहेक अन्यको विज्ञता एकातिर र जिम्मेवारी अर्कैतिर परेको साहित्यकारहरू बताउँछन् । 

यसका अलावा भूपाल राईका हरेक निर्णय विवादमा परेका छन् । आजीवन सदस्यहरूको सेवा–सुविधा खोस्ने, यसअघि बालप्रज्ञा साहित्यिक पत्रिकालाई काटेर लालुपाते प्रकाशन गर्ने निर्णय विवादमा परेका छन् । 

वैशाखमा प्रज्ञा सभाको बैठक डाकेर आजीवन सदस्यहरूको सेवा सुविधा खोस्ने निर्णय अनुमोदन गर्न चाहेका थिए । तर, वैशाख ४ मा अदालतले आजीवन सेवा–सुविधा कटौती उल्टाइदियो । भूपाल राईका अधिकांश निर्णय अदालतले उल्टाइदिएको छ । प्रज्ञा सभाको बैठकले गरेका निर्णय हप्ता दिनमा प्राज्ञ सभाका सदस्यहरूको हातमा पुग्नुपर्ने हो तर अझैसम्म दिएका छैनन् । प्रज्ञा सभा सदस्यहरूले न  वैशाख, न त भदौको बैठकको निर्णयको कपी हात पार्न सकेका छन् । कतिपय प्राज्ञ सभा सदस्यहरूलाई सभाको बैठकको निर्णय थाहा पाउनु नैसर्गिक अधिकार हो भन्ने पनि थाहा रहेनछ, अर्काे प्राज्ञले भने । यस्तै रारामा बैठकमा नाममा उडाइएको ६ लाख पनि विवादमा परेको छ । 

नारा बनाइएको छ ‘सबै भाषा सबै ज्ञान, सबैको प्रज्ञा प्रतिष्ठान’ तर यसअगाडि एकेडेमी सबैको साझाजस्तो लाग्थ्यो अहिले एकल नश्लीय भएको केही साहित्यकारको गुनासो सुन्न पाइन्छ । अर्काेतिर यसअघि कारबाहीमा परेका कर्मचारीलाई लाभको पदमा ल्याएको छ । अघिल्लो पटकको परिषद्ले कारबाही गरेको अशोक चौरासियलाई लेखामा ल्याइएको । जयराम जोशीलाई देवकोटा संग्रहालयमा पुर्‍याइएको छ । पहिला जगेडामा राखिएको सन्ध्या पहाडीलाई सुप्रिम बनाइएको छ । कतिसम्म भनिन्छ भने, अहिले अमेरिका शयरमा रहेका भूपाल राईहरूको अमेरिका भ्रमणको चाँजोपाँजो मिलाइदिने उनै सन्ध्या हुन् । सन्ध्याले अनेसासलाई भनेर यो व्यवस्था मिलाइदिएको एकेडेमी स्रोतको भनाइ छ ।

टिप्पणीहरू