गोडाको उपचार गर्न निस्केका प्रसार्ईंलाई घर फर्काइयो, दुई जना गिरफ्तार

गोडाको उपचार गर्न निस्केका प्रसार्ईंलाई घर फर्काइयो, दुई जना गिरफ्तार
सुन्नुहोस्

राजतन्त्र फर्काउने र बैंक तथा वित्तीय संस्थाको ऋण माफी गराउने योजनासहित आन्दोलनमा उत्रेको दुर्गा प्रसाईं नेतृत्वको समूहले आज पनि राजधानीमा विरोध प्रदर्शनको प्रयास गरेको छ । राष्ट्र, राष्ट्रियता, धर्म, सांस्कृतिक बचाउ महाअभियान नेपालको आयोजनामा भइरहेको आन्दोलनमा हिजो गौशालामा ३८ जना घाइते भएका थिए । 

तीमध्ये एक जनाको सिनामंगलस्थित केएमसी अस्पतालमा आज पनि उपचार भइरहेको बताइन्छ । चितवनका ३० वर्षे पदम सुनुवार बाहेक अरु सबै हिजो राति ११ बजे डिस्चार्ज भएका हुन् ।

टाउकोमा चोट लागेका सुनुवारको अस्पतालको चौथो तलाको बेड नम्बर ४२० मा उपचार भएको अस्पतालले जनाएको छ । उनै सुनुवारलाई भेट्ने र आफ्नो गोडाको उपचार गराउने भन्दै भक्तपुरको ठिमीस्थित घरबाट निस्केका प्रसार्ईंलाई पौने १ बजे प्रहरीले पुनः घरमा फिर्ता गराएको बुझिएको छ । उनी दुई वटा गाडीमा झण्डै एक दर्जन समर्थकसहित सवा १२ बजेको समयमा भक्तपुरबाट काठमाडौंतर्फ आएका थिए ।

सोही समयमा उक्त आन्दोलनका मधेश इञ्चार्ज सानु मगरलाई गौशालाको घरेलु होटल नजिकैबाट प्रहरीले पक्रेको थियो । उनलाई प्रहरीले गौशाला वृत्तमा लगेर राखेको बताइन्छ । 

त्यसपछि गौशालाकै बैंकटेश्वर मन्दिर छेउबाट दुर्गा प्रसाईंका समर्थक योगी नरहरी पिठाधिश तिलक रिजाललाई पनि प्रहरीले नियन्त्रणमा लिएर सोही वृत्तमा लगेर राखेको हो ।

प्रसाईं समर्थित नागरिक आन्दोलनले हिजो पक्राउ परेका श्रीनिवास आचार्यले प्रहरी हिरासतभित्रै आमरण अनसन थालेको जनाएको छ । विशालबजारस्थित जनसेवा प्रहरीको हिरासतमा रहेका उनको अवस्था तलमाथि भएमा राज्य जवाफदेही हुनुपर्ने सामाजिक सञ्जालमा लेखेको छ ।

टिप्पणीहरू