गणतन्त्रविरुद्ध कमल थापाको हिन्दुवादी र वामपन्थीसँग मोर्चाबन्दी

गणतन्त्रविरुद्ध कमल थापाको हिन्दुवादी र वामपन्थीसँग मोर्चाबन्दी
सुन्नुहोस्

राजतन्त्र फर्काउने र हिन्दू राष्ट्र बनाउने एजेण्डामा कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले सबै खाले राजावादीहरूसँग सहकार्य गरी मोर्चा बनाउने निर्णय गरेको छ । यो निर्णय सोमबार बसेको सो केन्द्रीय कार्यसमिति बैठकले गरेको हो । समान विचार भएका राष्ट्रिय प्रजातन्त्र पार्टी, लोकेन्द्रबहादुर चन्द, केशरबहादुर विष्ट, स्वतन्त्र राष्ट्रवादीहरू र दुर्गा प्रसाईंको समूहलगायत सीपी मैनाली, मोहन वैद्यलगायत दल, समूह र व्यक्तिसँग मिलेर मोर्चा बनाउने उसको निर्णय छ ।

घुमाउरो पाराले राजा मान्ने दल भनिएका वामपन्थी नेताहरूले भने यसबारे कुनै प्रतिक्रिया जनाउन भ्याएका छैनन् । बैठकपछि जारी पाँच बुँदे विज्ञप्तीमा राजसंस्था र हिन्दुराष्ट्रको स्थापनाबाट कुनै पनि राजनीतिक दल, सूमह वा नेता चिन्तित र विचलित हुनु पर्दैन भन्दै संघीयताको वर्तमान स्वरुप परिवर्तन गरेर केन्द्रमा बलियो सरकार र स्थानीय तहमा अहिलेभन्दा पनि बढी अधिकारसम्पन्न स्थानीय सरकार गरी दुई तहको सरकार कायम राख्न उपयुक्त हुनेलगायतका निश्कर्ष निकालिएको छ ।

बैठकले दुर्गा प्रसाईंले मंसिर ७ गते काठमाडौंमा गरेको शक्ति प्रदर्शनले उनको एजेन्डा सही भएको र त्यसप्रति जनता आकर्षित भएको निश्कर्षसमेत निकालेको छ । यो कार्यक्रमले गणतन्त्रको विकल्पमा राजतन्त्रप्रति जनताको रुझान बढ्न थालेको ठहर गर्दै मोर्चाको नेतृत्व पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई दिने निर्णयसमेत गरेको छ । चन्दकै नेतृत्वमा गणतन्त्रविरुद्ध राजतन्त्रलाई स्थापित गर्न जनता रिझाउँदै तेस्रो जनआन्दोलनको निर्णय गरेको बताइन्छ ।

प्रसाईंले भीड जुटाएको देखेपछि अध्यक्ष कमल थापा निकै हौंसिएको दाबी गरिएको छ । चीरप्रतिद्वन्दी जस्तै देखिएको राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपासँग पनि सहकार्य गर्न थापा तयार भएको देखिएपछि उनको हौसला बढेको पाइएको हो । उनले बैठकमा वर्तमान शासन असफल हुनै लागेको, भ्रष्टहरूको हातमा पुगेको र यस्तो शासन त जीवनमा नदेखेको अनुभव सुनाएको बताइन्छ ।

बैठकमा अध्यक्ष थापाले संसदमा राप्रपाबाट १४ जना सांसद हुनु पनि राजतन्त्रवादी विचारधाराले विस्तारै प्रश्रय पाउनु हो र यिनै सांसदका कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चर्चा पाउने दाबी गरेका थिए । बैठकमा सहभागी राजीव पराजुलीलगायतका पदाधिकारी र केन्द्रीय सदस्यहरूले अध्यक्ष थापाको हाँमा हाँ मिलाएको बताइन्छ । त्यहाँ संविधान परिवर्तनशील छ भन्ने कुराको जस कमल थापालाई दिइएको थियो ।

दुर्गा प्रसाईंसँग राजा सन्तुष्ट नभएको हुनाले राजनीतिक रुपमा आन्दोलन अघि बढाउन नसकेको र यस्तो आन्दोलनको नेतृत्व राजनीतिक दलले नै लिनुपर्ने निश्कर्ष निकालिएको बताइन्छ । यसबीच दुर्गा प्रसाईंको जुलुशमा पूर्वप्रहरी पूर्व डिआइजी सुरज केसी र राजेन्द्र श्रेष्ठहरू पनि देखिएका छन् ।

टिप्पणीहरू