नेविसंघ : जिल्ला–जिल्लामा अनेक तरंग

नेविसंघ : जिल्ला–जिल्लामा अनेक तरंग

नेपाल विद्यार्थी संघको निर्वाचन समयमा नहुँदा खल्तीका व्यक्ति नियुक्त गर्ने र नेतृत्व हत्याउने क्रम जिल्लामा रोकिएको छैन । कांग्रेसका दुई समूहले अलग–अलग व्यक्तिलाई सभापतिको पत्र थमाउँदै गतिविधिमा समेत रोक लगाउन खोजेका छन् ।

‘पवित्र उद्देश्य बोकेर जाजरकोटका भूकम्पपीडितको लागि पारदर्शी रुपमा कार्यकर्ता तथा स्वतःस्फूर्त रुपमा क्युआर कोड सार्वजनिक गरी चन्दा संकलनको आह्वान गरेका थियौं, दुई घण्टामा जम्मा भएको १२ हजार ६ सय २५ रुपैयाँ सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गठन गरेको कोषमा जम्मा गरिदिएका छौँ’, नेविसंघ सभापति नृपेश बादेले भने, ‘पार्टीकै सार्थीहरूको दबाबमा प्रशासनमार्फत चन्दा संकलन नगर्न पत्र प्राप्त भएलगत्तै हामीले त्यो काम रोकेका हौं ।’ चन्दा संकलन रोके पनि अन्य सामाजिक क्रियाकलाप तथा विपदमा परेकाहरूको सहयोग र उद्धारका कार्यमा निरन्तर सहयोग पु¥याइरहेको बादेले बताए ।

तत्कालीन सभापति माधव ढकाल केन्द्रीय सदस्य भएलगत्तै कार्यवाहक सभापति भएका बनेपाका नृपेश बादे २०७५ भाद्र ४ गते सम्पन्न भेलाबाट सर्वसम्मत भएका थिए । उनी केन्द्रीय सदस्य मधु आचार्य र गणेश लामा तथा क्षेत्रीय सभापति महेश खरेल र प्रदेश सभापति कञ्चनचन्द्र बादे निकट हुन् । निरन्तर सभापति रहेका बादेले ०७४ को आमनिर्वाचन तथा ०७९ मा सम्पन्न तीन तहकै निर्वाचनमा सक्रिय भूमिका खेले ।

कांग्रेसको अर्काे समूहले भने बादे सभापति हुँदाहुँदै अधिवेशन नै नगरी केन्द्रमा नैनसिंह महर सभापति भएका बखत प्रेम तामाङलाई सभापति बनाएको पत्र बोकेर आयो । उक्त समूहको सभापति प्रेम तामाङ भए पनि खासै कार्यक्रम आयोजना गर्ने भूमिका देखाएनन् । त्यतिबेला पनि पार्टीको आधिकारिक समूहले बादेलाई नै सभापति मानिरह्यो । जब ०७९ को निर्वाचन सकियो, तब कांग्रेसको एउटा समूहले केन्द्रीय सदस्यद्वय आचार्य र लामालाई कारवाहीको सिफारिस गर्दै सभापतिमा २०७९ पुस ५ गते पाँचखालका अञ्जनराज खतिवडालाई नियुक्त गरेको पत्र निकाल्यो । 

पछिल्लो समय २०८० कात्तिक १८ गते नृपेश बादे सभापति रहेको लेटरप्याडमा विज्ञप्ति प्रकाशन गरिएको छ । यसले गर्दा कांग्रेसजनमै नेविसंघको सभापति को हो भन्ने अन्योल बढेको छ भने कांग्रेसभित्र गुटअनुसारका फरक फरक सभापति भएकाले अन्य भ्रातृ संगठन र जिल्लामै पनि समानान्तर समिति किन नबनाउने ? भन्ने प्रश्न कार्यकर्ताले उठाएका छन् ।

टिप्पणीहरू