दुर्गा प्रसाईंलाई सिलिगुडी लगेर भारतले किन सम्मान दियो ?

दुर्गा प्रसाईंलाई सिलिगुडी लगेर भारतले किन सम्मान दियो ?

– रविन कोइराला, पुराना कम्युनिष्ट नेता

झापाको कम्युनिष्ट आन्दोलनका कुशल कार्यकर्ता हुन् रविन कोइराला । ०५४ मा एमाले–माले विभाजन हुनुपूर्व सीपी मैनाली निकटस्थ भनेर चिनिन्थे । पार्टी मिलेपछि माधव नेपाल पक्षधर भए । ०७० सालको निर्वाचनमा विश्वप्रकाश शर्मालाई हराएर क्षेत्र नम्बर १ बाट निर्वाचित भए । ०७९ मा सोही क्षेत्रबाट टिकटका प्रवल दावेदार थिए तर १० बुँदे पक्षधर भएकै कारण टिकट खोसेर पूर्व कानुनमन्त्री एवं महान्यायाधिवक्ता अग्नि खरेललाई उठाइयो । तर, अग्निले जित्न सकेनन् । एमालेको किल्ला मानिने दमक नगरपालिकासमेत एमालेले गुमायो र राजावादीले जिते । त्यसलाई सैद्धान्तिक रूपमा वारिपारि भएका दल एमाले र राप्रपाबीच गठजोडको परिणाम मान्छन्, रविन । एमाले केन्द्रीय कमिटी सदस्य र झापा जिल्ला अध्यक्ष, सहइञ्चार्ज चलाइसकेका उनी नेतृत्व सच्चिनुको विकल्प नभएको बताउँछन् ।

– हरि गजुरेल

० ०५४ मा सीपी मैनाली निकटस्थ हुनुहुन्थ्यो, पछि माधव नेपालतिर लाग्नुभयो । सोही कारण ०७९ को निर्वाचनमा तपाईंंले पाउनुभएको प्रतिनिधि सभाको टिकट खोसेर क्षेत्रै परिवर्तन गरी अग्नि खरेललाई उठाइयो । यो स्थितिलाई अहिले कसरी मूल्यांकन गरिरहनुभएको छ ? 

– पार्टीले वैचारिक रूपबाट आत्मसमीक्षा गरेर अगाडि बढ्नुपर्छ भन्ने मान्यता अगाडि सार्दा लामो संघर्ष÷अन्तरसंघर्ष चल्यो । पार्टी विभाजनका पक्षमा हामी थिएनौं । नेतृत्वले, हामी सबैले समान रूपमा विचार, दृष्टिकोण राखेर पार्टीलाई मजबुत बनाएर लैजान सक्नुपथ्र्याे । यस विषयमा अहिले पनि हामी÷हाम्रो नेतृत्व गम्भीर बन्न सकेको जस्तो लाग्दैन । मैले के पाएँ वा केही पाइन भन्ने विषयमा मेरो केही टिप्पणी छैन । समाज बदल्ने दृष्टिकोणप्रति अलि बढ्दा चिन्ता छ । 

० तपाईं मेचीको पहिलो मेयर, संविधानसभा सदस्य पनि । अध्यक्ष केपी शर्मा ओलीले यतिविघ्न प्रतिशोध साँध्नुपर्ने कारणचाहिँ के होला भन्ने लाग्छ ?

– कमरेड मदन भण्डारी भन्नुहुन्थ्यो– ‘दलाल पुँजीवादको पखेडा काटेर, उड्न नदिएर, यहाँको पुँजीलाई नाफा कमाउने नाममा बाहिर लान नदिएर देशभित्रै राष्ट्रिय पुँजीको रूपमा विकास गर्नुपर्छ ।’ तर, हामी मूल लक्ष्यबाट विचलित भयौं ।  पछिल्लो समय एमालेभित्रका इमान्दार कार्यकर्ताले पार्टीको लक्ष्यबारे विचार राख्ने क्रममा संस्कार विकसित हुँदै गएको छ । जसलाई परास्त गर्न सकेका छैनौं । नेतृत्वसँग खुलेर विचार राख्ने, आलोचना गर्ने, आत्मआलोचना, कमी भयो कि भएन भनेर समीक्षा गर्ने, कमी भएको भए करेक्सन गरेर अगाडि जाने परिपाटीमा पार्टी चुकिरहेको छ । अन्यथा एउटा मान्छेले गणतन्त्रविरुद्ध धावा बोल्दा सबैतिर भूकम्प जाने परिस्थिति विकसित हुने गर्छ ।

० झापा आन्दोलनका सहयात्री सिके, आरके मैनाली, नरेश, घनेन्द्रलगायत आज कोही किन पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग छैनन् ? 

– यो विषयमा मभन्दा पनि भुक्तभोगीहरूकै विचार लिनु उपयुक्त होला । म पहिलो फेजको झापा आन्दोलनको प्रोडक्ट होइन । यो आन्दोलनमा समाहित दोश्रो पुस्ताको मान्छे हुँ । सिपी मैनाली नेकपा माले गठन गरेर बस्नुभएको छ । राधाकृष्ण मैनालीले एक पटक कमजोरी गर्नुभयो र करेक्सन गरेर आउनुभयो । अहिले स्वतन्त्र रूपमा रहनुभएको छ, उहाँझैँ नरेश खरेल पनि स्वतन्त्र हुनुहुन्छ । मुकुन्द, केदार न्यौपानेहरू भर्खरै एमालेमा फर्कनुभएको छ । आज सम्झन चाहन्छु, त्यो आन्दोलनको अगुवामध्ये एक जना अध्यक्ष बन्नुभएको छ । सत्र वर्षसम्म जेल बसेका नरेश खरेल, मनकुमार गौतम कता हुनुहुन्छ । सबै मान्छे कोही आन्दोलनबाट बाहिर, कोही निराशामा, भिष्म धिमाल कहाँ हुनुहुन्छ ? साथीहरूका केही कमीकमजोरी होलान् । त्यसका बाबजुद पनि केपी ओली सर्वाेच्च कमाण्डर भएको बेला हिजोका सहयात्रीलाई समेटेर लैजाँदा आफू पनि बलवान हुन सक्नुहुन्थ्यो । त्यो भूमिका पूरा भइरहेको छैन । केपी कमरेडलाई अनुरोध छ– सबै खालको अन्तरविरोधलाई थाती राखेरै भए पनि झापा आन्दोलनको विरासतबाट उभिएको नाताले सबैसँग संवाद, छलफल गरेर आन्दोलनलाई अगाडि बढाउनु श्रेयष्कर हुन्छ ।

० झापा आन्दोलनको अगुवाले नेतृत्व गरेको पार्टी किन ट्रयाकमा छैन त ? 

– मुख्य लक्ष्य –दलाल, पुँजीवादविरुद्ध उभिने र राष्ट्रिय पुँजी निर्माण बाँकी छ । त्यो कामलाई झापा आन्दोलनबाट विकास भएको कम्युनिष्ट आन्दोलनले बोक्न सक्नुपर्छ । हामीले त्यही ढंगले छलफल गरेका छौं, सुझाव दिएका छौं । 

० हिजो एमाले छाडेर हिँडेकाहरूको भविष्य कस्तो देख्नुहुन्छ ?

– आ–आफ्ना ठाउँबाट सबैले आत्मसमीक्षा गरौं । कम्युनिष्ट आन्दोलनको एकता, ऐक्यबद्धताको पक्षमा न्यूनतम छलफल गरेर अगाडि बढ्नुको विकल्प छैन । एक्लाएक्लै हिँडेर हामी कोही बहादुर हुन सक्दैनौं । पार्टी एकताको पक्षमा लाग्नुको विकल्प छैन । कम्युनिष्ट पार्टीलाई आकारमा मात्र ठूलो बनाएर हुँदैन रहेछ भन्ने शिक्षा पाइसकेका छौं । यसले राख्ने लक्ष्य स्पष्ट हुनुपर्छ । नेपालका कम्युनिष्टहरू विभक्त हुँदा यहाँ एमसीसीजस्ता परियोजना पास भए, बाह्य शक्तिका लागि क्रिडास्थल बन्न पुग्यो नेपाल । कम्युनिष्टका फरक–फरक पसल हुँदा, विभाजित मनस्थितिका साथ बढ्दा क्रमशः देश कमजोर हुँदै गइरहेको छ । विगतमा हाम्रा कति कमजोरी भए, त्यसले राष्ट्रलाई कति घात ग¥यो ? समाजवादतर्फ उन्मुख हुनुपर्ने हाम्रा पाइला वा बाटोमा कति अवरोध भयो ? गणतन्त्र प्राप्त भएको यत्तिका वर्षसम्म जनतालाई प्रतिफल किन दिन सकेनौं ? १० बुँदे साथीहरू मात्र नभई समग्र कम्युनिष्ट पार्टी एक हुनु जरुरी छ । अझै त्यो एकतामा झापा आन्दोलनको विरासतबाट अगाडि बढेका साथी छुट्नु भएन । उहाँहरूसँग छलफल चलाएर, एकाकार बनाउँदै अघि बढ्न सक्यौं भने समाजवाद निर्माणको बाटोमा अगाडि बढ्न सक्छौं । विभाजित, पलायन हुँदै व्यक्ति– व्यक्तिमा असन्तुष्टि हुर्कंदै जाने हो भने हिजो हामीले राखेको लक्ष्य पूरा गर्न सक्दैनौं । कथं नेकपा माओवादी र एमाले एकता गर्न सकिँदैन भने सहकार्य गरेर त जान सकिन्छ नि ! गणतन्त्रलाई अगाडि बढाउन, सरकार निर्माण, आर्थिक नीति र योजना, समाजवाद निर्माणका लक्ष्य अगाडि सार्ने काममा एकताबाट दिने परिणामले राम्रो गर्छ । हाम्रै छिमेकी भारतमा नमिलेका दल सहकार्य गरेर अगाडि बढेका छन्् । त्यहाँको राम्रो प्राक्टिस यहाँका कम्युनिष्ट दलहरूले सिक्नु हुँदैन ? 

० दुर्गा प्रसाईं एमालेको केन्द्रीय सदस्यसम्म पुगे तर सौराहा महाधिवेशनमा तपाईं पुराना कम्युनिष्ट नेता महाधिवेशन स्थलबाटै लखेटिनुपर्ने स्थिति आयो । यसमा कुन फ्याक्टरले काम गरेको हो भन्ने लाग्छ ? 

– पार्टीभित्र लामो समयदेखि चलिरहेको अन्तरविरोधको असर हो यो । ०५४ साल भदौ १२ गते एमाले पार्टीको सरकारलाई अदालतले विस्थापन गरेको थियो । त्यतिखेर महाकाली सन्धिसँग सम्बन्धित भएर पार्टी विभाजित भयो । महाकाली सन्धिको पक्षमा उभिनुभएका कमरेडहरूले अहिले पनि समीक्षा गर्दा भारतले आफूले लिने लाभ लियो तर नेपालले केही प्राप्त गर्न सकेन । उक्त सन्धिको विपक्षमा उभिएर पार्टी विभाजन भयो । त्यसमा मुख्यतया एमाले विभाजन नगरी हुँदैन भन्ने शक्तिले काम गरेको थियो । पछि पार्टी एकता त भयो तर समग्र साथीहरू समेटिएनन् । यस पटक सौराहा सम्मेलनअगाडि नै माधव नेपाल, झलनाथ खनालहरू पार्टी विभाजनमा जानुभयो । हामीले उहाँहरूलाई रोक्ने प्रयास गरेका हौं । पार्टीमै बसेर यहीँभित्रै अन्तरसंघर्ष र बिग्रिएका विषयवस्तु करेक्सन गरौं भनेका थियौं । ०५४ सालमा एमाले विभाजन हुँदा सानो एमाले र ठूलो एमाले मात्र बन्थ्यो, निराशा मात्र उत्पन्न गथ्र्याे । बिग्रिएको बाटो करेक्सन गर्न दुबै पक्षले सोच्नु आवश्यक छ । 

० झापामा राजेन्द्र लिङ्देनसँग तालमेल, कमल थापालाई सूर्य चिह्न, क्रिश्चियन धर्मको प्रचारक एकनाथ ढकाल एमाले सांसद । यो के हो ?

– गम्भीर विषय उठाउनुभयो । यसबारे पार्टीभित्रै आफ्नो मत राखेको छु । छलफल हुन्छ होला । हाम्रा काम कारबाहीलाई गम्भीरपूर्वक आत्मसमीक्षा गरिएला भन्ने आशा छ । 
० तपाईंंहरूले राख्नुभएको ‘नोट अफ डिसेन्ट’ हेडक्वार्टरले कत्तिको सुन्छ ? 

– यही मंसिर १४ देखि मेची– महाकाली यात्रा अभियानमा छौँ । त्यो अभियान पूरा भइसकेपछि पार्टी अध्यक्ष ओलीले पुस अन्तिममा बैठक बसौं । तपाईंहरू सबैले आफ्ना विचार, धारणा, सुझाव, प्रस्ताव राख्ने बैठक बसौं । लामो उचाइबाट अगाडि बढ्नुपर्छ भन्नुभएको छ । किन हामी विस्थापित हुँदै छौं ? जनताको आँखामा विश्वासिलो बन्ने परिस्थिति किन बनिरहेको छैन ? हाम्रा एजेण्डामा के कमी छ ? अघिल्लो आर्थिक वर्षमा मात्र २४ लाख बढी मान्छे बिदेसिएका छन् । एमाले पार्टी, जो जनताको लोकप्रिय पार्टी भन्छौं भने यत्रा मान्छे बाहिरिँदा हाम्रा नीति कार्यक्रममा किन यस्ता विषयवस्तु समेटिँदैनन् ? नीति कार्यक्रममा कुनै करेक्सनको आवश्यक्ता छ÷ छैन ? आफ्नो आन्दोलनप्रति पछाडि फर्किएर हेर्नुपर्छ कि पर्दैन ? गम्भीर भएर आउँदो बैठकमा छलफल चलाउँछौं । त्यो बैठकपछि एउटा नयाँ उचाइसाथ अगाडि बढ्न सकिन्छ कि भन्ने विश्वास र आशावाद छ । 

० पछिल्ला घटनाक्रम हेर्दा संगठित दस्ताभन्दा असंगठित दस्ता मुलुकका निम्ति भयावह देखिँदै छ । कुनै समय वाइसिएललाई ¥याख¥याख पार्ने युवासंघले आयोजना गरेको कार्यक्रममा भन्दा दुर्गा प्रसाईंंको पछाडि लाग्ने भीड बढी देखियो । यो संसद्को सबैभन्दा ठूलो दल एमाले क्षयीकरण हुँदै गएको संकेत हो ? 

– हामी हाम्रा कामकारवाहीमा गम्भीर आत्मसमीक्षा गरेर अगाडि बढ्नुपर्ने स्थितिमा छौं । दुर्गा प्रसाईं आफू मात्र उभिएर यी कार्यक्रम गरिरहेका छैनन् । कुन तागत, शक्तिले उनलाई भरोसा दिइरहेको छ ? एकातिर उनी ऋणमा डुबेका छन्् । भनिँदै छ, अर्कातिर उक्त कार्यक्रम झण्डै साढे चार करोड खर्चेर आयोजना गरिएको छ ।

० यसका पछाडिको तागत, शक्ति, फाइनन्सर को हो त ? 

– दुर्गा प्रसाईंलाई सिलिगुडीमा भारतीय पार्टीहरूले कार्यक्रम नै आयोजना गरेर सम्मान गर्नुपर्ने कारण के थियो ? सुन्दै छु, त्यस प्रकारको कार्यक्रम दिल्लीमा पनि हुँदै छ । दुर्गा प्रसाईंलाई सम्मान गर्नुपर्ने गरी किन त्यत्रो चासो भयो भारतीयलाई ? यसका पछाडि केही रहस्य बुझेर अगाडि बढ्नु जरुरी छ । हिजो बिपी कोइराला, पुष्पलाल, मनमोहन अधिकारीजस्ता नेता लामो समयसम्म भारत बस्नुभयो । उहाँहरूलाई दुर्गा प्रसाईंलाई जस्तो सम्मान गरेको कतै पढेको वा सुनिएको छैन । कुन– कुन तागतले यी सबै विषयलाई उछालेका हुन् ? धार्मिक प्रवृत्ति, जातीय प्रवृत्तिका विषयलाई उछालेर द्वन्द्व गराउने प्रयत्न यसअघि नेपालगञ्ज, मलंगवा वा नेपालगञ्जमा भएका घटनालाई हेर्दा बुझ्न सकिन्छ । यी घटना र पछाडि उभिएका मान्छे, त्यहाँ सम्मानित बन्नेहरूलाई राम्ररी विश्लेषण गरेर निचोडमा पुग्नुपर्छ ।

० कम्युनिष्टको प्रभुत्व भएको दमकजस्तो ठाउँमा राप्रपाले चुनाव जित्ने परिस्थिति कसरी निर्माण भयो ? 

– सैद्धान्तिक रूपमा वारि–पारि भएका दल हुन्, एमाले र राप्रपा (राजतन्त्रवादी र गणतन्त्रवादी), यी दलबीचको सहकार्य ट्याक्टिकल मुभका लागि भएको भए एउटा कुरा तर पनि अलि लामो, धेरै पल्ट भयो । झापाको क्षेत्र नम्बर ३ मा जुन सहकार्य लगातार भइरहेको छ, त्यसले नेकपा एमाले पार्टीलाई आफ्नो संगठन जोगाउन गाह्रो पर्ने देखिँदै छ । सोही सहकार्यको परिणाम हो, दमकको चुनाव । जसरी आज कांग्रेस र माओवादी गठबन्धनको सरकार दिशाहीन बनेको छ । उसैगरी राप्रपा र एमालेको गठबन्धन दिशाविहीन हो । यो कुरालाई पार्टीले भविष्यमा नदोहोरिने गरी सोच्नुपर्छ र आफूलाई करेक्सन गर्नुपर्छ । 

० यो विषयमा पार्टी अध्यक्ष ओलीसँग अब्जेक्सन राख्नुभएन ? 

– उहाँले नेतृत्व सुरक्षित गर्नका लागि कतिपय ट्याक्टिकल मुभ गर्ने स्थिति आउन सक्छ भन्न्नुभयो । सधैँ सधैँको ट्याक्टिकल मुभले एउटा मान्यता स्थापित गर्छ । त्यो मान्यताकै परिणाम आज दमक, झापा ३ को रिजल्ट हुन सक्छ । अस्ति ९ गते राप्रपाको आयोजनामा गणतन्त्रविरुद्ध पूर्वराजालाई लिएर कार्यक्रम नै सम्पन्न भयो । त्यो तागत हामीले नै प्रदान गरेको मतको परिणाम हो । त्यसलाई भविष्यमा नदोहोरिने गरी करेक्सन गर्नुपर्छ भन्ने सुझाव फेरि पनि पार्टी अध्यक्षसँग राख्छु । उहाँलाई पनि यो कुरा महसुस भएको हुनुपर्छ । 

० नेतृत्व नसच्चिने हो भने ०८४ को निर्वाचनमा झापा र समग्र मुलुकभर एमालेको पोजिसन कस्तो रहला ? 

– अहिलेको अवस्थामा सबैभन्दा बढी समानुपातिक मत ल्याएको पार्टी हो एमाले । त्यो आस्था, विश्वास आज पनि जनतामा छ तर हाम्रा कार्यक्रमले ती मतलाई सुरक्षित गर्नुपर्छ । अबको मिटिङमा समाजवादको खाका, समाज परिवर्तन, सद्भावको एजेण्डा बोकेर जान सकेको खण्डमा फराकिलो मत पाउन सक्छौं । अन्यथा साँघुरिँदै जान्छौं । 

० समकालीन राजनीतिमा हेर्ने हो भने केपी ओली जत्तिको चतुर खेलाडी अरू कोही छैनन् । यद्यपि, केपी ओलीले पटक पटक किन धोखा खाइरहनुभएको छ ? 

– कम्युनिष्ट पार्टी विकास गर्दा सामूहिक नेतृत्व, व्यक्तिगत जिम्मेवारीका आधारमा विकास भएका छन््, दुनियाँभर । नेपालमा पनि त्यहीअनुसार भएका हुन् । कहिलेकाहीँ आन्दोलनमा आफू समान अनुभव बोकेका व्यक्तित्व नरहँदा अरूले दिएका सुझाव अपरिपक्व लाग्नु स्वाभाविक होला । सामूहिक नेतृत्वबाट नीति निर्माण गर्ने कुरालाई अगाडि बढाएको खण्डमा नेपालको राजनीतिक आन्दोलनको चतुर, कुशल नेतृत्व गर्ने हाम्रो नेतृत्व सबल सक्षम छ भन्ने कुरामा दुईमत रहँदैन ।

टिप्पणीहरू