कसले दियो एअर इण्डियालाई काठमाडौंमा ‘थ्रेट’ ?

कसले दियो एअर इण्डियालाई काठमाडौंमा ‘थ्रेट’ ?

पहिला एकचोटि काठमाडौंबाट अपहण गरी अफगानिस्तान पुर्‍याइएको भारतको राष्ट्रिय ध्वजावाहक एअर इण्डियालाई काठमाडौंमा फेरि सुरक्षा ‘थ्रेट’ दिइएको छ । आफूलाई आएको सुरक्षा चुनौतीबारे उसले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई गत कात्तिक १९ गते इमेल र भिडियो पठाएपछि त्यसबारे चर्चा भएको हो । लगत्तै कात्तिक २१ गते सुरक्षा चुनौतीबारे प्राधिकरणले अन्तर्राष्ट्रिय विमानस्थलमा तैनाथ सबै सुरक्षा र अन्य निकायका प्रतिनिधिको बैठक राखेर आवश्यक निर्णय गरेको बताइन्छ । 

विमानस्थल सुरक्षा समितिको निर्णयमा सुरक्षा थ्रेट दिएको भनिएको संस्था वा व्यक्तिबारे कुनै जानकारी नदिइएको उल्लेख गर्दै स्रोतले भन्यो, ‘विभिन्न निकायबाट सुरक्षासम्बन्धी थप सतर्कता अपनाउने भनिएको छ ।’ विमानस्थल सुरक्षा कार्यालयले पाँच वटा विषयमा थप पहल गर्ने भन्दै विमान कम्पनीका क्याटरिंगको सुरक्षा जाँच कार्यलाई थप प्रभावकारी बनाएर भारतीय वायुसेवा कम्पनीहरूका उडानमा विशेष सतर्कता अपनाउने निर्णय भएको छ ।

विमानस्थल सुरक्षा कार्यालयलाई दिइएको निर्देशनमा लेखिएको छ, ‘यात्रुका लगेज तथा कार्गो सामानहरूको अनिवार्य रूपमा डग स्निफिङ गराउने, सुरक्षा जाँच भइसकेका लगेजको पनि कम्तिमा १५ प्रतिशत र्याण्डम्ली छुट्टै सुरक्षाकर्मीमार्फत् हातैले खानतलासी लिई त्यसको विवरण राख्ने ।’ त्यसैगरी, सिसीटीभी क्यामेराबाट गर्दै आएको निगरानीलाई बढाउन, र्‍याम्प तथा विमानको पार्कड एरिया र प्रस्थानतर्फको ब्यागेज चेकअप एरियाको निगरानी बढाउन पनि निर्देशन दिइएको छ । सँगसँगै यात्रुहरूलाई बिदाइ गर्न आउने व्यक्तिको गतिविधिमा थप नियन्त्रण गर्ने पनि भनिएको छ ।

राष्ट्रिय अनुसन्धान विभाग र सशस्त्र प्रहरी बल इकाइलाई नियमित रूपमा गर्दै आएको ल्याण्ड साइड तथा एअर साइड क्षेत्रको सुरक्षा निगरानीलाई थप प्रभावकारी बनाउन निर्देशन दिइएको छ । सेनाको १४ नम्बर बाहिनी अड्डालाई विमानस्थल पेरिमिटर सुरक्षा थप प्रभावकारी बनाउँदै दैनिक पेट्रोलिङ गर्न भनिएको छ ।

निर्णयको बुँदा नम्बर ५ मा नेपाली सेना तथा नेपाल प्रहरीले विमानस्थलमा सुरक्षासम्बन्धी घटना घटेमा तत्कालै कारबाही गर्न सक्नेगरी क्युआरटी युनिटलाई चौबिसै घण्टा तयारी अवस्थामा राख्ने उल्लेख छ । त्यसैगरी अध्यागमन तथा भन्सार कार्यालयले कार्यसम्पादनका दौरान कुनै शंकास्पद गतिविधि देखिए वा लागेमा तत्काल सुरक्षाकर्मी तथा नागरिक उड्डयन कार्यालयलाई जानकारी गराउनुपर्ने छ ।

ग्राउण्ड ह्याण्डलिङ गर्ने वायुसेवा कम्पनीहरूको सम्बन्धमा नेपाल वायुसेवा निगम र एअर इण्डियालाई आफ्नो स्वीकृत सुरक्षा कार्यक्रममा उल्लेख भएबमोजिम प्रभावकारी रूपमा कार्यसम्पादन गर्न निर्देशन दिइएको छ । शंकास्पद गतिविधि देखिएमा तत्काल सुरक्षाकर्मी तथा नागरिक उड्डयन कार्यालयलाई जानकारी गराउन सम्झाइएको छ । बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयलाई छ वटा निर्देशन दिएको छ । जसमा सुरक्षा उपकरणहरूको प्रभावकारी सञ्चालन, सबै सरकारी तथा गैरसरकारी निकायबीच समन्वय गर्ने, अत्यावश्यकबाहेक अस्थायी तथा स्थायी प्रवेश पासको सिफारिस नगर्ने र निर्माण कार्यमा खटिने कर्मचारी तथा कामदारबाट हवाई सुरक्षाका मापदण्डको पालना सुनिश्चित गराउने विषय उल्लेख छ  ।

क्यानडामा सिख नेता हरदिप सिंह निज्जरको हत्या र अमेरिकामा पनि गुरपत वन्त सिंह पन्नुमाथि हालै त्यस्तै अर्काे प्रयत्न भएपछि भारतबाट भागेर अन्यत्र बसेका नागरिकहरुबाट यसरी धम्की आउने गरेको श्रोतको दाबी छ ।
 

टिप्पणीहरू