नापी र मालपोतमा के फल्छ हँ त्यस्तरी !

नापी र मालपोतमा के फल्छ हँ त्यस्तरी !

जसरी परराष्ट्रमा क्षेत्रीत्रयको आतंङ्क छ, उस्तै रोग भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा देखिएको छ । सेटिङ मिलाएर कहिले बेलायत त कहिले जापानको लागि राजदूत हुने सौभाग्य पाएका दुबसु क्षेत्रीले कांग्रेसी परराष्ट्रमन्त्री भएको ‘मौकामा चौका’ आफ्ना दुई भाइहरू चक्र र कृसुको उद्धार गर्नमा सफलता पाइरहेका छन् । ठीक उही शैलीमा उपसचिवले पनि आफू र भाइहरूको उद्धार गर्दै आएको भेटिएको छ । 

यसरी चाँजोपाँजो मिलाउने खेलाडी हुन् रणोद्वीपका नाति, उदय भण्डारीका ज्येष्ठ सुपुत्र लोकबहादुर भण्डारी । ०२५ सालका लोक, ०२६ सालका देवी र ०२८ सालका शेर अहिले तीनै सरकारी सेवामा, उपसचिव (मालपोत कार्यालयका हाकिम) छन् । जेठा मालपोत भक्तपुरका हाकिम, भाइ देवी कपिलवस्तु र कान्छा शेर झापा मालपोतमा छन् । 

०५३ सालमा शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेका भण्डारीले २७ मध्ये २४ वर्ष मालपोतमै व्यतित गरेका छन् । मालपोत दमक, सुनसरी, ललितपुर हुँदै डिल्लीबजार मालपोतमा रहे । विशेष बढुवाबाट उपसचिवमा उक्लिएपछि छोटो समय उपराष्ट्रपति कार्यालय, इलाम नगरपालिका, प्रदेश सभा सचिवालयमा बसेर सेवा गरेबाहेक जागिरे जीवनका बाँकी समय मालपोतमै बिताएको उनको पिआइएस हेर्दा भेटिन्छ ।

मालपोत काभ्रेपलाञ्चोकको हाकिम हुँदै ०७७ साल चैत्रमा मोरङ मालपोतको हाकिम हुन गएका उनी गत वर्ष भदौं १६ देखि भक्तपुर मालपोतका हाकिमको रूपमा कार्यरत छन् । अहिले भतिज मोहन भण्डारी र ज्वाइँ डम्बर कार्कीलाई समेत सोही अड्डामा लिएर गएका छन् । हालैमात्र भण्डारीलाई त्यहाँबाट सरुवा गर्ने गृहकार्य अगाडि बढ्यो । सरुवा उल्टाएर उनी पुरानै ठाउँमा फर्किन सफल भए । 

भाइ देवी भण्डारीले तीन वर्षमात्र मालपोत बाहेकका कार्यालयमा बसेर काम गरेको अभिलेख जनआस्थाले फेला पारेको छ । ९ महिना स्वास्थ्य सेवा विभाग, तीन महिना स्थानीय विकास मन्त्रालय, १ वर्ष ४ महिना अख्तियार र ७ महिना जिल्ला प्रशासन कार्यालय मोरङ बाहेक बाँकी समय मालपोत छोडेर दायाँ बायाँ हुनु परेको छैन । ०७३ सालमा उपसचिवमा बढुवा भए यता दमक मालपोत, कलंकी मालपोत, भूमिसुधार कार्यालय भक्तपुर, मालपोत कार्यालय बुटवल हुँदै अहिले कपिलवस्तु मालपोतमा हाकिम छन् । 

अर्काे भाइ शेरबहादुर भण्डारी पनि ५२ सालमै निजामती सेवामा पाइला राखेका । समायोजन हुँदा निजामती किताबखानामा पुगेका शेरबहादुर ७६ साल चैतमा उपसचिवमा बढुवा भएर भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा पुगे । त्यस यता तनहुँ, चितवन हुँदै झापा मालपोतको हाकिम भैसकेका छन् । 

सबैभन्दा बढी भ्रष्टाचार हुने कार्यालयमा पर्छ, नापी र मालपोत । पछिल्लो समय अख्तियारको वक्रदृष्ट्रि मालपोत, नापी लगायतका कार्यालय परेको देखिन्छ । सोही कारण हुनुपर्छ एक तिहाई दरबन्दी रिक्त छ, ती निकायमा । इमान्दार कर्मचारी फसिएला भनेर जानै मान्दैनन्, भागी हिँड्छन् । एउटै कर्मचारी २० वर्षसम्म मालपोतमै जरा गाडेर बसिरहँदा के हेरिरहेछन् सचिव गोकर्णमणि दुवाडी र कप्रका हाकिम कृष्णप्रसाद सापकोटाहरू ? मन्त्रालयकै कर्मचारीको प्रश्न हो यो ।
 

टिप्पणीहरू