भारतलाई गाली गर्दै, महेश बस्नेतलाई भारत पठाउँदै

दुर्गालाई तेर्साएर राजतन्त्र फर्काउने दाउ

भारतलाई गाली गर्दै, महेश बस्नेतलाई भारत पठाउँदै

जनताका प्रतिनिधिले शासन गर्ने व्यवस्थालाई आधुनिक विश्वमा सबैभन्दा उन्नत राजनीतिक प्रणाली मानिन्छ । प्रचलित राज्य प्रणालीमध्ये लोकतान्त्रिक विशेषता भएको गणतान्त्रिक व्यवस्था लोकप्रिय व्यवस्था पनि हो । यही प्रणाली अवलम्बन गरिरहेको नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दुई दशक पनि पुगेको छैन । तर, किशोर अवस्थामै रहेको गणतन्त्रको विकल्पमा पुरानै व्यवस्था फर्काउन सदनदेखि सडकसम्म आवाज उठ्न थालेका छन् ।  

वास्तवमा लोकतन्त्रको विकल्प अझै उन्नत लोकतन्त्र हो, भनिन्छ । यस अर्थमा वंशवाद मूल विशेषता हुने राजतन्त्रात्मक व्यवस्था लोकतान्त्रिक गणतन्त्रको विकल्प नहुनुपर्ने हो । तर, गणतन्त्रले सुशासन र संमृद्धिको प्रत्याभूति गराउन नसक्दा २४० वर्षको शासनबाट असफल सिद्ध भैसकेको राजतन्त्र फर्काउन मौका छोपेर बसेका व्यवस्था विरोधी शक्तिहरूले टाउको उठाउने मौका पाएका छन् । दुर्गा प्रसाईं जस्ता विवादित पात्रहरू सडकमा ‘मुक्तिदाता’ बनेर उनको पक्षमा ‘जिन्दावाद’ को नारा लागिरहँदा स्थापित पार्टी र तिनका नेताहरू रक्षात्मक हुनुपर्ने अवस्था सिर्जना भएको छ । 

आखिर यो स्थिति किन आयो ? जवाफ प्रष्ट छ – २०६२÷६३ को आन्दोलनपछि लोकतन्त्रसँगै जनताले तीव्र विकास र समृद्धि खोजेका थिए । तर, नागरिकको त्यो आकांक्षा पूरा हुन सकेन । अवस्था परिवर्तन नहुँदा व्यवस्थामाथि प्रश्न उठ्यो । जबकि प्रणाली आफैँमा साध्य होइन, साधन हो भन्ने कुरा राजनीतिक नेतृत्वले जनतालाई बुझाउन सकेन । फलतः दुर्गा प्रसाईंहरूले सडकमा भीड जम्मा गरेर आफ्नो राजनीतिक अभिष्ट पूरा गर्न जनतामा रहेको चरम निराशालाई गणतन्त्रमाथि निशाना बनाइरहे । सँगसँगै अर्को पनि प्रश्न छ – यो सरकार ढालेर नयाँ समीकरण बनाउन राजावादी शक्तिहरू जम्जमाइरहेको बेला कुन आत्मविश्वासका साथ उनीहरू यो तहमा पुगे ? यसका पछाडि बाह्य तत्वले कति काम गरिराखेको छ ? र, भारतीय सत्तारुढ दल बिजेपीको मातृसंस्था आरएसएसले हिन्दुत्वका नाममा दुर्गा प्रसाईंलाई साथ दिइरहँदा, अर्कोतिर प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीले हामीमाथि देशी–विदेशी घेराबन्दी भैरहेको छ भनिरहँदा उनको पक्षबाट सडकमा उग्रताका साथ प्रस्तुत हुने महेश बस्नेत यतिबेलै भारत जानुको उद्धेश्य के होला ? राजतन्त्र फर्काउने नाममा सडकमा देखिएका खेल र पृष्ठभूमिमा विकसित यी घटनाक्रमको साइनो सम्बन्ध होला कि नहोला ?

सामान्यतयाः भीडतन्त्र त्यो बेला हावी हुने गर्दछ जतिबेला स्थापित भनिएका दलबीच राष्ट्रिय मुद्दामा एकता हुन सक्दैन । अहिले प्रमुख राजनीतिक पार्टीहरू सत्ता र शक्तिका लागि आपसमै लडिरहेका छन् । दलहरूमा द्वन्द्व बढ्दा विदेशी शक्तिहरूले आफ्नो अनुकूल उचाल्ने र पछार्ने काम गर्नु अस्वाभाविक होइन । त्यसो त, राजनीतिक दलका नेताहरूमा रहेको व्यक्तिवादी सोच र शासन लम्ब्याउन जस्तोसुकै सम्झौता गर्ने प्रवृत्ति नेपाली राजनीतिमा विगतदेखि नै हुँदै आएको छ । 

०४६ को परिवर्तनपछि बहुदलीय प्रजातन्त्रलाई बलियो बनाउन त्यसबेलाको राजनीतिक नेतृत्वले प्रभावकारी भूमिका खेल्नुपथ्र्यो । तर, सत्ताको नेतृत्व पाएको कांग्रेसले त्यसअनुसार काम गर्न सकेन । बरु, आफ्नालाई मात्रै सबैतिर भर्न खोज्दा गणेशमान, गिरिजा र कृष्णप्रसाद भट्टराईबीच विवाद बढ्यो । त्यसले कांग्रेसमात्र कमजोर भएन संसदीय राजनीति नै विकृत हुन पुग्यो । कांग्रेसमा त्यत्रो विरासत भएका कोइरालाहरू क्रमशः खिइँदै गएर देउवाहरू हावी हुने स्थिति त्यसैको उपज हो । आज शेखर कोइराला देउवासँग भागबण्डा माग्नुपर्ने निरिह अवस्थामा छन् । सर्भिस डेलिभरीमा भन्दा आफ्ना मान्छेहरूको व्यवस्थापनका कारण सिङ्गै प्रणालीप्रति आमनागरिकको असन्तुष्टि बढ्दै जाँदा त्यसले निम्त्याउने परिणाम कस्तो हुन्छ भन्ने एउटा उदाहरण हो यो ।

एमालेमा पनि अवस्था त्यस्तै हो । झण्डै दुई तिहाई जनमतको नेतृत्व गर्दै पाँच वर्ष अविच्छिन्न सरकारको नेतृत्व गर्ने अभूतपूर्व अवसर केपी ओलीलाई थियो । तर, पार्टीभित्रै सन्तुलन मिलाउन नसक्दा त्यो अवसर गुम्यो । ओलीको सत्ता बहिर्गमनयता एमालेको हातमा पराजयसिवाय अरु केही छैन । प्रतिनिधिसभामा १२१ सिटबाट ७९ मा झरेको एमाले स्थानीय तह र प्रदेशमा पनि पहिलेभन्दा खुम्चिएको छ । माघ ११ गते १९ सिटका लागि हुने राष्ट्रियसभाको चुनावमा पनि एमालेले अध्यक्षसहित धेरै संख्या गुमाउने देखिँदै छ । आफ्नालाई बाहेक अरुलाई कतै पनि ढिम्कनै नदिने ओली नीतिको उपज हो यो । 

३२ सिटको तेस्रो शक्ति भएर पनि सरकारको नेतृत्व पाएको माओवादीको हालतसमेत उस्तै छ । आफ्ना वरपर घुम्नेलाई च्याप्ने अनि फरक विचार राख्नेलाई ङयाक्ने परिपाटी एमालेभित्र भन्दा कम छैन माओवादीमा पनि । १० वर्षसम्म फौजी अनुशासनमा हिँडेको पार्टी पटक–पटकको टुटफुट र विभाजनले अस्तित्वकै संकटमा पुग्दैछ । तर, माओवादीको मूल खेमा अहिले पनि सत्ता केन्द्रित राजनीतिमै हराइरहेको देखिन्छ ।   यता, राजा फर्काउने अभियानमा रहेका पूर्वपञ्चहरू पनि एकजुट छैनन् । निर्मल निवासले घेराबन्दी ग¥यो भन्दै पार्टी छोडेर एमालेको सूर्य चिह्नअन्तर्गत चुनाव लडेका कमल थापा राप्रपा नेपालको नाममा छुट्टै नाङ्ले पसल चलाइरहेका छन् । मूल राप्रपाको नेतृत्व गरिरहेका राजेन्द्र लिङ्गदेनलाई छरिएर रहेका राजावादीले विश्वास गरेको देखिँदैन । अरु विभिन्न नाममा राजतन्त्रको वकालत गर्नेहरू पनि एक ठाउँमा उभिन सकेका छैनन् । नयाँ शक्ति भनेर खोलेको बाबुरामको पार्टी पनि एकढिक्का रहेन । अस्तित्व रक्षाको संकटबाट गुज्रिरहेका उनी माओवादीमै फर्किने सुरसारमा छन् । सत्ताका लागि पटक–पटक विभाजित हुने मधेसवादी दलको त विशेषताजस्तै भैसकेको छ । नयाँ भनेर आएका रवि लामिछानेहरूले पनि जनतामा कुनै आशा जगाउन सकेका छैनन् ।  

अर्कोतिर, आफ्नो शक्ति देखाउन दलहरूबीच विवादित पात्रलाई भिœयाउने होडबाजी उस्तै छ । पार्टी सदस्यता नदिई एकैचोटि केन्द्रीय सदस्य बनाइएका दुर्गा प्रसाईं अहिले आफ्नै लागि चुनौती बनिरहँदा एमालेले विवादास्पद ठेकेदार पप्पु कन्स्ट्रक्सनका मालिक हरिनारायण रौनियारलाई त्यसैगरी रातोकार्पेट बिछ्याएर स्वागत गरेको छ । जबकि अहिलेको आवश्यकता मिल्नसक्ने तहसम्म वाम एकताको पहल गर्नुपर्ने हो । तर, एमाले जो ठूलो दलको हिसाबले बढी जिम्मेवार हुनुपर्ने थियो, उसको प्राथमिकता कम्युनिष्ट एकता नभई व्यक्ति र कमिटी छानेर पार्टी प्रवेश गराउनेतिर बढी केन्द्रित देखिन्छ । एमालेका तर्फबाट वामपन्थी एकताको सट्टा माओवादी र एकीकृत समाजवादीका कार्यकर्ता र स्थानीय कमिटीहरूलाई आफ्नोमा मिसाउने कम्युनिष्ट एकताको नयाँ व्याख्या गरिंदैछ, जसलाई नेपालमा वामपन्थी एकताको पक्षमा सदाशयता राख्दै आएको उत्तरको मित्रराष्ट्रले मञ्जुरी नजनाएको भनिँदै छ ।

व्यवस्थामाथि सडकबाट उठाइएका प्रश्न र असन्तुष्टिको एकमुष्ट जवाफ हो– राष्ट्रिय मुद्दामा दलहरूबीच बलियो एकता गर्दै सर्भिस डेलिभरी । तर, सरकार र राजनीतिक नेतृत्व अझै पनि यसतर्फ सचेत देखिँदैनन् । एकजना व्यक्तिसँग प्रतिष्पर्धा गर्न कार्यकर्ता सडकमा उरालेर व्यवस्थाको रक्षा हुन्छ कि जनताको अवस्था सुधारेर ? राजनीतिक नेतृत्वले आफ्ना कार्यशैली र व्यवहार बदलेर जनताको विश्वास फर्काउन सके गणतन्त्रको रक्षाका लागि सडकमा ओर्लनै पर्दैन ।


 

टिप्पणीहरू