काण्ड लागेका जर्नेल विदेशिने क्रममा

काण्ड लागेका जर्नेल विदेशिने क्रममा
सुन्नुहोस्

आउने ०८१ सालको भदौमा प्रधानसेनापति प्रभुराम शर्मा अनिवार्य अवकाश भएपछि त्यो कुर्सी र फुलीको हकदारका रुपमा बुट बजार्न थाल्दा थाल्दै उमेर गड्बडीका कारण ताराध्वज पाँडेले राजीनामा लेखेर हिँड्नुपर्‍यो  । तत्कालको तनाव छल्न उनी अष्ट्रेलिया उड्ने तयारीमा छन् । 

ताराध्वजले हुन्छु भनी सुरसार कसिसकेको आगामी प्रधानसेनापतिको दर्जा अब अशोक सिग्देलले पाउने लगभग निश्चित भयो । उनीपछिको दोस्रो हैसियतमा निर्मल थापा र तेस्रोमा बाबुराम श्रेष्ठ हुन्छन्  । त्यसबीच हिरालाल जोशी र सन्तोष ढकालले उमेरका कारण घर जानुपर्ने अवस्था छ । सन्तोषको बीचमा म्याद थपिएको थियो भने बाबुराम पूर्णचन्द्र थापाले दुःख दिएर ढिलो बढुवा भएको फाइदास्वरुप तीनतारे जर्नेल हुँदै छन् । अहिले राष्ट्रिय सुरक्षा परिषदमा कार्यरत हिरालालको म्याद थपियो भने बैशाख र थपिएन भने यही मंसिरभित्र वा पुसमा घर जान्छन् ।

आगामी प्रधानसेनापतिको रुपमा हेरिएका अशोक सिग्देलको हकमा ताराध्वजको जस्तो समस्या छैन भनिँदैछ । अर्कातिर, चर्को विवादका बीच कोही व्यक्तिका पक्षमा नेपाली सेनाले संस्थागत रुपमा जवाफ दिने कुरालाई लिएर अहिले जंगी अड्डामा आपत्ति जनाइँदै छ । ताराध्वजको शैक्षिक प्रमाणपत्रमा उमेरको विषयलाई लिएर बाहिरफेर गाइँगुँइँ चल्दा हत्तपत्त विज्ञप्ति निकाल्दै सेनाले उनको बचाव गरेको थियो । यसरी उनको पक्षमा जंगी अड्डा नै उभिएपछि उजुरकर्ताहरु अख्तियारदेखि संसदीय समितिसम्म पुगेका थिए । तर, जब ती निकायले रक्षा मन्त्रालयमार्फत ताकेता बढाउन थाले, तब ताराध्वज राजीनामा लेखेर सुरक्षित अवतरणका निम्ति तम्सिएका हुन् ।  उनी सम्पूर्ण बन्दोबस्तीका सामान खरिद गर्ने, कमिशन र पैसाको खेलो चल्ने सम्भाररथी विभागमा दुई वर्ष बसेका जर्नेल थिए । तर, सेनाको इतिहासमै पहिलोचोटि चिफ हुने मुखैमा सर्टिफिकेट काण्ड लागेर हत्तपत्त राजीनामा दिनुपर्ने स्थितिमा पुगे । 

त्यसो त, पूर्णचन्द्रकै कार्यकालमा शैक्षिक प्रमाणपत्रको मामिलालाई कडा बनाइएको थियो । विदेशका विभिन्न शैक्षिक संस्थामा अनलाइन परीक्षा दिएका जर्नेलहरु नयनराज दाहाल, शैलेन्द्रसमशेर थापालाई यही निहुँमा कुनै मौका दिइएन । दिपेशजंग शाहमात्रै त्यस्तो भाग्यमानी हुन्, जसलाई अनलाइनबाट पढेर ल्याएको सर्टिफिकेटकै आधारमा ब्रिटेनमा एनडिसी कोर्ष गर्ने मौका मिल्यो । 

सेनाले शैक्षिक विषयमा जेजस्तो विवाद भए पनि त्रिभुवन विश्वविद्यालयलाई पत्राचार गथ्र्यो । भारततिरका विश्वविद्यालयको प्रमाणपत्र भए पनि सोधनीचाहिँ त्रिविसँगै हुन्थ्यो । त्यसो गर्दा विगतमा कतिपय जर्नेल ‘सेटिङ मिलाएर’ जोगिए । तर, पूर्णचन्द्रको कार्यकालमा अपरेशन नै चलाएझैँ अहिलेका प्रधानसेनापति प्रभुराम शर्माकै नेतृत्वमा एउटा टोली सम्बन्धित सीमापारिका विश्वविद्यालयहरुमा पुगेको थियो । त्यस्तो छानवीनपछि प्रभुरामकै सम्धी देव सुवेदीदेखि अनुज बस्नेतहरु काण्ड लागेर घर गए । पूर्वप्रधानसेनापति रुक्मांगतका छोरा सुभांगत कट्वाल, अमरसिंह थापा, शैलेन्द्रसमशेर थापालगायत १२–१५ जना सहायक रथी र उपरथीहरु पनि सेकिए । 

अहिले त्यस्तै काण्ड लागेर मुखमा आइसकेको प्रधानसेनापति दर्जा माया मार्नुपरेका ताराध्वज नेपालमै बस्ने मनस्थितिमा छैनन् । जंगी अड्डाले काँध थाप्दाथाप्दै पनि अख्तियारदेखि संसदीय समितिसम्म दौडधुप चल्नुका पछाडि कुनै न कुनै चलखेल पक्कै छ । तर, उनले केही बोलेका छैनन् । त्यसैले अष्ट्रेलियामा रहेकी कान्छी छोरी भेट्नेगरी त्यता जाने चर्चा चल्दैछ । जेठी छोरी अमेरिकामा छिन् । उनको विवाह एकतारे जर्नेल याम सापकोटाका छोरासँग पोहोर मात्रै भएको हो । 

यस्ता विभिन्न विवादास्पद घटनाका कारण अहिले आमजनमानसमा ‘नेपाली सेनालाई के भएको हो ?’ भन्ने प्रश्न तेर्सिएको छ । राजनीतिक दलैपिच्छे भूपू सेना, प्रहरीका संगठन बनाउने गरिन्छ । तर, सेनासँग भएकै भूपूहरुको संस्थालाई वास्ता गरिएको छैन । पूर्णचन्द्र, राजेन्द्र क्षेत्रीका पालासम्म भूपूहरुलाई बोलाउने, सल्लाह लिने चलन थियो । व्यक्ति–व्यक्ति बोलाउँदा झण्झट भएको हो भने भूपू संगठनका पदाधिकारीमात्रै बोलाउँदा पनि हुन्थ्यो भन्ने कतिपयको भनाइ छ । ​​​​​​

अवकास भएपछि सबैले सदस्य हुने र आफ्ना कुरा राख्ने थलो बनेको उक्त संगठन एकजना बयोवृद्ध पूर्वजर्नेल ढल्किँदो उमेरमा पनि सम्हालेर बसेका छन् । उनकै पनि सैन्य नेतृत्वलाई कुनै मतलब छैन । बरु, सेनाको जागिर सिध्याएर, निवृत्तिभरण (पेन्सन) बुझ्ने र विभिन्न राजनीतिक दलका गतिविधिमा खुलेआम संलग्न हुने क्रम बढेको छ । जस्तो कि, दुर्गा प्रसाईंले चलाइरहेको अराजकतापूर्ण गतिविधिमा केही पूर्वजर्नेल सक्रिय देखिन्छन् । यसमा सेनाको भनाइ के हो ? कतिपय भूपूहरु प्रश्न गर्छन्– ‘कि, पेन्सन माया मार्नुप¥यो, कि राजनीतिक दल त्याग्नुप¥यो । दुबैथोक एकैचोटि गर्न पाइन्न ।’ अर्कातिर, बेलायती सेना प्रमुख प्याट्रिक स्यान्डरर्स नेपाल आउने चर्चा छ । तर, भ्रमण तालिका भने सार्वजनिक गरिएको छैन ।

टिप्पणीहरू