बालकृष्णलाई छुटाउनुपर्यो यार
शेरबहादुरले माग्नुभयो केपी ओलीसँग सहयोग :
शेरबहादुर देउवाले केपी ओलीलाई फोनमा भन्नुभयो, ‘अदालतमा तिम्रा धेरै मान्छे न्यायाधीश छन्, बालकृष्णलाई छुटाउन सहयोग चाहियो यार !’ मध्यपहाडी लोकमार्गअन्तर्गत बैतडीको झुलाघाटबाट अगाडि बढ्दै डडेल्धुरा पुगेपछि एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच फोन संवाद भएको समाचार त सुनियो । तर, कुरा के भयो ? सम्पूर्ण विवरण बाहिर आएको थिएन ।
अछाम पुग्दानपुग्दै बाटोमा ओलीले सँगै गएका कृष्णगोपाल श्रेष्ठहरुसँग भन्नुभयो, ‘बालकृष्ण खाँणलाई छुटाइदेऊ भन्छन् !’ देउवाको गृहजिल्ला टेकेर फोन गर्नुभएका ओलीले जब त्यस्तो आग्रह सुन्नुभयो, त्यसबारे भन्नुभयो, ‘बालकृष्णको कुरा गर्नेले टोपबहादुरलाई पनि छुटाउनुपर्छ चाहिँ किन नभनेको होला ?’
एमालेले झुलाघाटबाट शुरु गरेको मध्यपहाडी यात्रा पाँचथरको चिवाभञ्ज्याङमा पुर्याएर टुंग्याइँदैछ । ठाउँ–ठाउँमा सभा त गर्ने तर अध्यक्षले एक्लै बोल्ने काम भइरहेको छ । सभामा नेता हेर्न र तिनका कुरा सुन्न आएका दर्शक देखेर एमालेकै कतिपयले बाटोमा विभिन्न चर्चा गर्दै हिँड्ने गरेका छन् । योगेश भट्टराईले त २०५५ सालमा धादिङमा भएको एउटा आमसभाको चर्चा गरे । माघको मध्यजाडोमा सभा थियो । प्रमुख वक्ता अध्यक्ष मनमोहन अधिकारी हुनुहुन्थ्यो । त्यसैले गाउँगाउँबाट बालबालिकादेखि वृद्धवृद्धासम्मको घुइँचो लाग्ने नै भयो ।
त्यति ठूलो सभा त भयो तर तीन महिनापछि सम्पन्न चुनावमा एमाले उम्मेदवार गंगालाल तुलाधरको पराजय भयो । उनीहरुले यस्तो चर्चा गर्नुको कारण थियो, चुनावमा उम्मेदवार नपाएर आगन्तुक उठाउनुपर्ने स्थिति भएको अछामको मंगलसेनमा मान्छेको उपस्थिति राम्रो त थियो । चुनावचाहिँ एमालेबाटै फुटेर बनेको एकीकृत समाजवादीले जित्यो ! गत निर्वाचनमा त्यहाँबाट समाजवादीका शेरबहादुर कुँवर विजयी भएका थिए ।
एमालेको उक्त यात्रा राजनीतिक नै हो तर ठाउँ–ठाउँमा मठमन्दिर घुम्दै टोली अगाडि बढिरहेको छ । राजनीतिक दलले गर्ने त्यस्तो यात्रामा निश्चित उद्देश्य र सन्देश हुन्छन् तर एमालेले त्यस्तो कुनै विचार दिएको छैन । बैतडीमा पहिलो दिन एकीकृत समाजवादीका जिल्ला अध्यक्ष महादेव भट्ट र इञ्चार्ज नरेन्द्र विष्टलाई प्रवेश गराइयो । उनीहरुसँगै सो पार्टीबाट सयभन्दा बढी प्रवेश गरेको भनी नाम पनि पढियो । तर, दुईजना बाहेक सबैले पछि सो कुरा अस्वीकार गरे । यसपछि एमालेले पार्टी प्रवेशसहितका कार्यक्रमहरु गर्न छोडेको छ ।
अध्यक्ष ओलीले डोटीस्थित शैलेश्वरी मन्दिरबाट धार्मिक यात्रासमेत थाल्नुभएको छ । त्यहाँका पुजारीले पशुपतिमा जलहरी राख्न ३० करोड दिएजस्तै यहाँको मन्दिर जीर्णोद्वारका निम्ति पैसा हालिदिने अपेक्षा राखेका छन् । साँफेबगरको किनारमा वैद्यनाथ मन्दिर छ । त्यसमा बूढीगंगा नदीले पुरै कटान गर्दै लगेको छ ।
ओलीले तटबन्धन हालिदिनुहुन्छ र धाम घोषणा गरिदिनुहुन्छ भन्ने अपेक्षासमेत प्रकट भएको छ । पञ्चदेवलमा पनि पैसाकै माग भयो । उक्त मन्दिर सात–आठ सय वर्षअगाडि बनाइएको हो । ०९० सालको भूकम्पले एउटा देवल भत्कायो । अर्को देवल आधा भत्किएको छ । दक्षिण भारततिरका मठमन्दिरजस्ता देखिन्छन् । पुरातात्विक महत्वको हिसाबले पनि त्यो बनाउनुपर्ने अवस्थामा छ । कला, सभ्यताको कुरा पनि जोडिने नै भयो । इजिप्टमा ममी बचाएर राख्ने, पुराना धार्मिक स्थल जोगाउने कुरा सभ्यता र पर्यटनका लागि पनि हो भन्दै एमाले नेताहरु मन बुझाइरहेकै छन् ।
पञ्चदेवल मन्दिरका लागि विष्णु पौडेल अर्थमन्त्री हुँदा बजेट हालिदिएबापत उनलाई ओलीलाई भन्दा बढी तामझामका साथ स्वागत गरिएको र फेरि बजेट माग गरिएकोमा ‘हामी हेरौँला–गरौँला’ भनिएको छ ।
यसरी अहिले ओली नेतृत्वमा एक सय पचास जनाको डफ्फाले यात्रा गरिरहेको छ । खाने र बस्ने व्यवस्था स्थानीय कमिटीले मिलाएका छन् । अध्यक्ष ओली आफैँले पाँच वटा गाडीको प्रबन्ध गर्नुभएको छ । अरुले चाहिँ आफैँआफैँ गाडी मिलाएका छन् ।
टिप्पणीहरू