दोस्रो वरीयतामा ओली पत्नी राधिका कसरी ?

दोस्रो वरीयतामा ओली पत्नी राधिका कसरी ?
सुन्नुहोस्

शक्ति दुरुपयोगका हिसाबले नेपालका प्रायःजसो नेतापत्नी विवादमा पर्छन् । त्यो हिसाबले हेर्दा एमाले अध्यक्षपत्नी राधिका शाक्यले कहिले पनि शक्तिको दुरुपयोग गरेको भेटिँदैन । तर, मध्यपहाडी (पुष्पलाल) राजमार्ग यात्राका क्रममा भने उनलाई विवादमा पार्न खोजिएको छ । मंगलबारसम्मको यात्रामा ओलीपत्नी राधिकालाई दोस्रो वरीयतामा राखेर आसन ग्रहण मात्र गराइएको छैन, मञ्चमा समेत ओलीसँगै राखिने गरिएको छ । 

सुर्खेतमा मात्र होइन, दैलेखका आधा दर्जन सभामा समेत उनलाई ओलीपछि आसन ग्रहण गराइएको थियो । राधिकालाई बैतडीदेखि नै त्यस्तै गरिएको एमाले स्रोतको भनाइ छ । नेपाल भारतको सीमा नदी महाकाली छेउ बैतडीको झुलाघाटबाट शुरु भएको कार्यक्रमदेखि नै उनलाई दोस्रो वरीयतामा आसन ग्रहण गराएर मञ्चमा राख्न थालिएको हो । गोठालापानीको सभामा त बैतडीका माग पत्र राख्दै निवर्तमान प्रदेश कमिटीका अध्यक्ष दामोदर भण्डारीले उनलाई देशकै आमा भनेका थिए । प्रतिनिधि सभा सदस्यसमेत रहेका भण्डारी तत्काल केन्द्रीय र पोलिटब्युरो सदस्य हुन चाहन्छन्, त्यसैले उनले ओलीलाई खुशी बनाउन राधिकालाई देशकै आमा भनेको बताइन्छ । 

ओलीसित कसैले पनि राधिकालाई किन दोस्रो वरीयता दिएझैँ आसन ग्रहण गराएर मञ्चमा राखियो भन्न नसके पनि नेता र कार्यकर्ताले एकआपसमा त्यो शैलीलाई राजाको शैलीको झल्को हो भन्न थालेका छन् । प्रचण्डले पिएको हैसियतमा रहेकी छोरी गंगालाई झैँ नेपालका कुनै पनि नेताले त्यसरी पत्नीलाई दोस्रो वरीयतामा राखेका थिएनन्, छैनन् राजाहरूले राख्ने गर्थे भन्ने चर्चा एमालेभित्र चलेको छ । हरेक सभामा ओलीलाई खुशी बनाउन राजनेता, सम्बद्ध नेपाल, खुशी नेपालीका कल्पनाकारजस्ता अलंकारले सम्वोधन गर्ने गरिएको छ । त्यस्ता अनेक अलंकारले ओलीलाई सम्बोधन गर्नेमा एमालेका नेता भीमबहादुर रावलका भिनाजु गोविन्द कुँवर पनि एक छन् ।

उनले अछाम साँफेबगरको सभा सञ्चालन गर्दा ओलीलाई खुशी बनाउन अनेक शब्द प्रयोग गरेको खबर छ । उनी अघिल्लो सुदूरपश्चिम प्रदेश सभाका सदस्य पनि थिए । अचम्म त के भने कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका विभिन्न सभामा आएका जनतालाई ओलीले घण्टौँसम्म कुराएका थिए । खोजीखोजी मन्दिरमा जान र निकटस्थको मात्र कुरा सुन्न समय खर्चिन थालेपछि हरेक सभामा उनी ढिला पुग्ने गरेका छन् । मन्दिर जाने क्रममा डोटीको शैलेश्वरीमा अरू सबैलाई पिताम्बर र दोसल्लाले सम्मान गरिए पनि ईश्वर पोखरेललाई वास्ता गरिएको थिएन । ईश्वरलाई त्यहाँ माला हाल्न ओलीदेखि जिल्ला इञ्चार्ज लीला भण्डारी र जिल्ला अध्यक्ष चक्र मल्लले पनि बेवास्ता गरेका थिए । अछामको मंगलसेन र दैलेख विभिन्न ठाउँका जनतालाई रातिसम्म कुराएका थिए । यति ठूलो देशव्यापी सभामा उनी एक्लै बोलिरहेका छन्, बरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेल, महासचिव शंकर पोख्रेलसहितका पदाधिकारीले दर्शक मात्र बन्नुपरेको छ ।

१९ जना पदाधिकारीमध्ये उपाध्यक्ष सुवास नेम्वाङको मृत्यु भएको छ । उपाध्यक्ष अष्टलक्ष्मी बिरामी भएकाले काठमाडौँमै छिन् भने टोपबहादुर रायमाझी जेलमा छन् । उपमहासचिव प्रदीप ज्ञवाली चीन गएकाले दैलेखबाट सहभागी भए । अरु १५ जना पदाधिकारी ओलीको भाषण सुन्दै ताली पिट्ने गर्छन् । धेरैको नेता, कार्यकर्ताको भनाइ छ, यस्ता सभाले नयाँ नेता जन्माउने कसरी ? ओली एक्लै बोलिरहेका छन् । मुख्यवक्ता उनी भए पनि पालौपालो सबै नेतालाई किन बोल्न दिइएन । घण्टौ जनता कुराउनुभन्दा ओली नपुग्दासम्म अरु नेतालाई किन बोल्न दिइएन भन्ने प्रश्न जताततै उठेको छ । धेरैले झलनाथ, माधव, वामदेव नहुँदा यस्तो भएको र उनीहरू भएको भए अरु नेताहरू पनि बोल्ने वातावरण बन्ने थियो, ईश्वरहरू बोल्न नसक्ने दास भएको चर्चा गर्न थालेका छन् ।

ओलीलाई खुशी बनाउन अछामको पञ्चदेवल विनायक विद्यामन्दिर नमुना मावि बन्द गरेर ओली बा हाईहाई भन्न लगाइएको थियो । एमाले नेताहरू जनताका बीचमा गएपछि सोधिने एउटै प्रश्न हुने गरेको छ– भीम रावल खोइ ! त्यो प्रश्न सोध्नेमा साधारण नागरिकदेखि एमाले कार्यकर्तासम्म छन्, नेताहरूले त्यो प्रश्न अछाममा मात्र होइन, दैलेख, सुर्खेत, जाजरकोटमा पनि उठेको छ । कार्यक्रम शुरु भएको बैतडीदेखि डडेल्धुरा, डोटीमा पनि रावललाई किन कार्यक्रममा बोलाइएन भनिएको छ । रावलले ट्वीटरमा प्रदेशका अध्यक्ष कृष्ण जैसीलाई बोलाए पनि माथिको नेतृत्वले नबोलाएको भनेर झुलाघाट–चिवाभञ्ज्याङ यात्रामा नगएको बताएका छन् ।

अछाममा भने ओलीविरुद्ध प्रदर्शन हुने चर्चा थियो । त्यो हुन नदिन रावल स्वयंदेखि जिल्ला इञ्चार्ज लालबहादुर थापा, रावलनिकट रमेश कुँवर, प्रकाश शाह (अछाम) ले भूमिका खेलेको बताइन्छ । यद्यपी सदरमुकाम मंगलसेनको सभामा ओली बा आइलभ यू, ओली बा हाईहाई, भीम रावल हाईहाई भनिएको थियो । एमालेका कार्यकर्ता भने ओली बा हाईहाईको सट्टा जबज जिन्दावाद, एमाले जिन्दावाद किन भनिँदैन भनेर चिन्ता गर्न थालेका छन् । उनीहरू के जबज माओवादी र घनश्याम भुसाल एमाले हुँदा मात्र उठाउने विषय हो र भन्ने गर्छन् ।
 

टिप्पणीहरू