बिगार्नेलाई बचाउन टाउकैदेखिको बल

बिगार्नेलाई बचाउन टाउकैदेखिको बल
सुन्नुहोस्

– अञ्जनकुमार  

लमजुङ कांग्रेसका प्रदेश सांसद भेषबहादुर पौडेलले डिएसपी मीनबहादुर गुरुङ र सिडिओ रामकृष्ण अधिकारीलाई केही समयपछि आफैंले उपस्थित गराउने भन्दै अहिले पक्राउ नगर्न दबाब दिए । यसो त जिल्ला सभापति तथा अर्का प्रदेश सांसद टकराज गुरुङबाट देउवा पत्नी आरजुमार्फत नै प्रहरीलाई दबाब दिन लगाइयो । सयौँ बचतकर्ताको रकम हिनामिना पारेर कालिका सहकारी तन्नम बनाउने मुख्य आरोपी मृगेन्द्र घिमिरे र पत्नी बिनितालाई बचाउन कांग्रेसको नेतृत्व तह लाग्यो । 

जिल्ला अदालत लमजुङले गत १० गते पुर्जी जारी गरेसँगै पक्राउ परेका थिए अध्यक्ष शिव सिलवाल, उपाध्यक्ष श्रीकृष्ण लामिछाने, प्रवन्धक बेदराज खनियाँ, मिलन शर्मा दनाई, कृष्णबहादुर खत्री र महेन्द्र शर्मा पौडेल । पाँच दिनको म्याद थपेर अनुसन्धानका लागि हिरासतमा राखिएका उनीहरूको बयान नसकिएको भन्दै प्रहरीले थप अनुसन्धानका लागि दश दिनको म्याद मागे पनि गएको शुक्रबार एक हप्ताको म्याद थपिएको छ । म्याद थप्दै प्रहरीले निजहरूलाई २४ दिन कस्टडीको पाहुना बनाउने बुझिन्छ । आर्थिक रूपले कृष्ण केसी कहीँ कतै नमुछिए पनि संस्थाको जिम्मेवारीमा भएकाले उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएका हौं एक प्रहरी अधिकृतले भने ।

‘हामीलाई छोड्नुपर्छ भन्ने छैन, पुर्जी काटिएका अन्यलाई किन पक्राउ गरिएन भन्ने हाम्रो गुनासो हो’ मिलन शर्माले भने । यसो त उनी शुक्रबारदेखि नै आमरण अनशनमा बसेका छन् । पछिल्लो समय पक्राउ पुर्जी काटिएकामध्ये हरिबहादुर थापा मस्र्याङ्दी क्याम्पसका प्रमुख, प्रकाश खनियाँ, तुलानिधि दनाई, चिरञ्जीवी कुँवर, तैमाया गुरुङलगायत छन् । तिनलाई बेसीशहरभित्र नै भएर पनि प्रहरीले पक्राउ गर्न सकेको छैन । प्रकाश सम्पदा सहकारीका हर्ताकर्ता हुन् । तैमाया गुरुङ मिटर ब्याजी । उजुरीकर्तामध्येकी तैमायाविरुद्ध नै पक्राउ पुर्जी जारी भएपछि उनी सम्पर्कविहीन बनेको प्रहरीको भनाइ छ ।

०५६ मंसिरमा स्थापित कालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा २०७७ असारमा सम्पदा र कर्पुरेश्वर मर्ज भएका थिए । बेनपा–८, सेरामा मुख्य कार्यालय रहेको कालिकाको मध्यनेपाल, सुन्दरबजार र दोर्दी गाउँपलिकामा समेत सेवा केन्द्र सञ्चालन गरिएको थियो । कूल ४ हजार ५ सय ९ जना शेयर सदस्य रहेको र शेयर रकम २ करोड ११ लाख ९ हजार ७ सय रूपैयाँ रहेको सहकारी रजिष्ट्रार कार्यालयका तर्फबाट छानबिनकर्ता निर्मल गौतमले प्रतिवेदनमा उल्लेख गरेका छन् ।

प्रतिवेदनमा तत्कालीन कालिका सहकारीका अध्यक्ष एवं एकीकरण अभियानका संयोजक मृगेन्द्र घिमिरे, पत्नी बिनिता घिमिरे (अधिकारी) र आर्थिक विश्लेषण उपसमितिका संयोजक एवं लेखापरीक्षक महेन्द्र शर्मा पौडेललाई मुख्य दोषी देखाइएको छ । पौडेल नाताले घिमिरेका साढुदाइ हुन् । उनले अनुसन्धानलाई नै प्रभावित पार्ने गरी कार्यालयका प्रमाण तथा तथ्यांक नष्ट गरेको आरोप छ । फरार भनिएका घिमिरे दम्पतीलाई बेंसीशहरकै गेट वे हिमालयन रिसोर्टमा लुकाइएको आशंका पनि गरिएको छ ।

टिप्पणीहरू