छोराछोरी विदेश धकेल्न अदालतको आड

छोराछोरी विदेश धकेल्न अदालतको आड
सुन्नुहोस्

नेपालबाट युवा तथा शैक्षिक जनशक्तिको पलायनलाई नियन्त्रण गर्न सरकारले कदम नचालेको हैन, तर अदालत सहयोगी नहुँदा त्यसको दर दिनदिनै बढ्दो छ । 

आजभन्दा चार वर्ष पहिल्यै, अर्थात् २०७६ जेठ २९ गते सूचना जारी गरी शिक्षा मन्त्रालयले विद्यार्थी पलायनको दरलाई नियन्त्रण गर्ने नीति ल्याएकै हो । एसइई परीक्षा उत्तीर्ण हुनेबित्तिकै बाबु–आमाले काम नगराई सुखमा हुर्काएका केटाकेटी परदेश पुगी कमाउँदै पढ्नुपर्ने भएपछि तनावका कारण दुव्र्यसन, डिप्रेशन र आत्महत्याको शिकार हुने गरेका घटना अनोकौं छन् ।

विद्यार्थीले साथीभाइको देखासिकी अध्ययन गन्तव्यका रुपमा विदेश रोज्ने र पलायन हुने दर बढेपछि मन्त्रालयले प्लस टु उत्तीर्ण नभई नो अब्जेक्सन लेटर (एनओसी) नदिने सूचना जारी गरेको थियो । तर, त्यस्तो नीति एक हप्ता पनि टिकेन । अधिवक्ता रामदत्त ओझाले उत्प्रेषणको आदेश माग गर्दै सर्वोच्चमा रिट दायर गरे । असारको ४ गते न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले उक्त सूचना कार्यान्वयन नगर्न, नगराउन आदेश दियो । फलतः शिक्षा मन्त्रालयको अभिलेखअनुसार गत आर्थिक वर्षमा मात्रै एक लाख १० हजार विद्यार्थीले एनओसी लिए ।

त्यसमध्ये १० हजारको भिसा प्रक्रिया बिग्रिएको वा रद्द भएको रहेछ भने पनि एक लाखले एकै वर्षमा देश छाडेर हिँडे । गाह्रो साँघुरो बुझ्ने उमेर पनि भैनसकेका एसईईमा सामेल हुने त्यस्ता विद्यार्थीमध्ये बर्सेनि साढे दुईदेखि तीन लाख उत्तीर्ण हुन्छन् । त्यसमध्ये अधिकांशले त्यसपछिको शैक्षिक गन्तव्यका रुपमा देशका शहर हैन, विदेशी भूमि नै रोजेको पाइन्छ । पोहोर १ वर्षभित्र ४९ हजार नेपाली विद्यार्थी जापान गएकोमा यो वर्ष १० महिनामै यो संख्या ५२ हजार कटिसकेको छ ।

अहिले स्नातक तहको कक्षा सञ्चालन गरिरहेका नेपालका कलेजहरुको हालत नाजुक छ । एसइईदेखि नै विदेशिने लहर शुरु भएपछि जसोतसो प्लस टुसम्मका विद्यार्थी पाइने, तर त्यसभन्दा माथिका विद्यार्थी नआउने समस्या छ । विदेशी शिक्षण संस्थाहरुले स्वास्थ्य, प्राविधिक र अन्य केही विषयका विद्यार्थीको हकमा प्लस टु उत्तीर्ण गरेपछि मात्रै भर्ना लिने कारण नेपालका प्लस टुहरु जसोतसो चलेका हुन् । स्नातक कक्षाको स्थिति कस्तो छ भने, पहिलो वर्ष कक्षामा विद्यार्थी भरिभराऊ हुन्छन् । दोस्रो वर्ष आधा घट्छन् । तेस्रो वर्ष दोस्रो वर्षकाभन्दा आधा हुन्छन् । चौथो वर्षसम्मको कक्षामा सामेल हुने विद्यार्थी बिरलै भेटिन्छन् । किनभने, प्लस टु सकेर विदेश अध्ययनको प्रयास असफल भएपछि स्नातकमा भर्ना हुने र त्यसपछि पनि भिसा प्रक्रियामा सामेल भइरहने विद्यार्थी हुन्छन् । तीमध्ये अधिकांशका प्रयास सफल हुँदा नेपालमा स्नातक कक्षा सञ्चालन गर्ने कलेजहरु मारमा पर्ने गरेका छन् । 

एकातिर विद्यार्थी पलायनको कथा यस्तो छ । अर्कातिर यही देशमा १३–१३ वटा विश्वविद्यालय खोलिएका छन् । निजी विद्यालयका कारण सामुदायिकतर्फ विद्यार्थीभन्दा शिक्षक बढी हुने स्थिति त छँदैछ । यसरी विद्यार्थीजति विदेश हिँड्छन्, यता देशमा १३ वटा विश्वविद्यालयका निम्ति उपकुलपति, रेक्टरसहितका पदाधिकारी नियुक्तिमा ठूलो राजनीतिक घम्साघम्सी चल्ने गरेको छ । त्यसो त इञ्जिनियरिङ, चिकित्सा शिक्षाका लागि केही विदेशी विद्यार्थी नेपाली कलेजमा आउने गरेका छन् । विदेशमा भन्दा कम खर्चमा पढ्न पाइने कारण ती यता आउने हुन् । 

राज्यले शिक्षक पाल्नुपर्ने, तर विद्यार्थी देशमा नटिक्ने स्थितिकै बीचमा नेपालको शैक्षिक उन्नयनका निम्ति विभिन्न विदेशी दातृ निकायले वार्षिक १४ अर्ब रकम सहयोग उपलब्ध गराउँदै आएका छन् । उनीहरुले विशेषतः प्राविधिक, सीपमूलक शिक्षासहित विपन्न र पिछडिएको क्षेत्रका विद्यार्थीका नाममा लगानी गर्ने गरेका छन् । देशमा अहिले प्लम्बरको पनि संकट छ । जान्ने, नजान्ने सबै विदेशतिर गएका छन् । 

यसबीच, नेपालमा विद्यार्थी नटिक्ने भएपछि विदेशी विद्यार्थीलाई अलपत्र पार्ने काम पनि भएको छ । यस्तो काममा संलग्न व्यक्ति हुन्, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका पूर्वअध्यक्ष राजकुमार पौडेल । उनले टोखाको वेस्टर्न कलेजमा स्नातक कक्षा सञ्चालन गर्ने भनी चीनका विद्यार्थीलाई नेपाल भिœयाए । तर, विदेशी विद्यार्थी अध्यापन गर्ने स्वीकृति नलिएका कारण कक्षा सञ्चालन हुन सकेन । र, ती विद्यार्थी अहिलेसम्म अलपत्र छन् । यिनले ०७४ को स्थानीय निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट उम्मेदवार भई कांग्रेसका साङ्बु शेर्पालाई हराए ।

तर, चुनाव जितेको चार महिनापछि जिल्लाबाटै फरार । कारण हो, सुन तस्करीमा संलग्न हुनु । १६ केजी सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले खोजी थाल्यो । नभेटिएपछि उनीसहित नौ जनालाई प्रतिवादी बनाई अदालतमा मुद्दा दायर गरियो । पछि अदालतमा एक लाख रुपैयाँ धरौटी बुझाएर खुला भएका तिनै व्यक्ति अहिले कलेजमा चिनियाँ विद्यार्थी पढाउने नाममा अर्को धन्दा गरिरहेका छन् । 

टिप्पणीहरू