रुसबाट शव ल्याउन एकदम संकट

रुसबाट शव ल्याउन एकदम संकट
सुन्नुहोस्

युक्रेनसँगको युद्धमा रसियातर्फबाट सामेल नेपालीमध्ये ६ जनाले रणमैदानमा ज्यान गुमाएका छन् । तर, तिनको शव स्वदेश आउने संभावना छैन ।

रुसले मृतकलाई आफ्नो देशभित्र जहाँ भए पनि पुर्‍याउने, तर देशबाहिर पठाउने संयन्त्र बनाएको छैन । बरु, राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिन्छ । नेपालीका हकमा न शव ल्याउन सकिएको छ, न त त्यतै क्षतिपूर्तिकै कुरा छ । युद्धमा ज्यान गुमाएका मानिसको शव पक्कै पनि सग्लो हुँदैन । त्यहाँबाट नेपाल शव ल्याउन कम्तीमा ६ लाख रुपैयाँ खर्च हुन्छ ।

कसले तिर्ने ? नेपाल सरकारले कि रुस सरकारले ? अन्यौल कायमै छ । मृतकहरु कोही पनि श्रम स्वीकृति लिएर गएका हैनन् ।अर्थात् सरकार उनीहरुको शव ल्याउनुपर्ने अनिवार्य दायित्वबाट मुक्त छ । यताबाट कडैसँग पेल्न सकियो भने रुसले आफ्नो तर्फबाट ज्यान गुमाउनेहरुलाई प्रति व्यक्ति नेपाली रुपैयाँ ७५ लाखदेखि एक करोडसम्म दिन सक्छ । त्यसमाथि नेपाली मृतकमध्ये एकजनाको शव त्यहीँ व्यवस्थापन (गाडिएको) भइसकेको छ ।

मृतकका आफन्तलाई रुसले छिटो नलगे गाडिदिन्छु भनिरहेको छ । त्यहाँ नेपाली दूतावास त छ तर उसलाई पनि उनीहरुले त्यति रेस्पोन्स गरिरहेका छैनन् । मृतकका शव अहिलेसम्म नगल्ने गरी आइसमा राखिएको छ ।विदेशमा ज्यान गुमाउनेमध्ये खाडी राष्ट्रतिर त्यति समस्या हुँदैन । खाडीमध्ये प्रक्रियाका कारण साउदी अरबमा अलिक गाह्रो छ । नत्र, सम्बन्धित कम्पनीले नै शव पठाउने चाँजोपाँजो मिलाउँछ । प्रायः नेपालमा श्रम स्वीकृति लिएर र वीमा गरेर गएका हुन्छन् । त्यस्ताको हकमा सरकारले नै ल्याउने र काठमाडौंबाट मृतकको परिवार रहेको ठाउँसम्म पुर्‍याउने व्यवस्था छ । जापानबाट पनि मृतकलाई स्वदेश ल्याउने खर्च महँगो छ । एक त नेपाली लुकेर, भागेर जाने बढी छन् । जब अप्ठेरो पर्छ, अनि मात्रै सरकार सम्झिने गरिएको गुनासो छ । तर, तिनले सरकारले व्यवस्थापन गर्नुपर्ने प्रावधान पूरा गरेका हुँदैनन् ।

जापानमा निधन भएका नागरिकको शव लैजान कस्ता–कस्ता धनी राष्ट्रलाई पनि धौ–धौ पर्ने गरेको छ । हाम्रो त देशै गरिव । जापानमा अघिल्लो वर्ष ४९ हजार नेपाली विद्यार्थी अध्ययनका निम्ति पुगे । यसपालि १० महिनामै ५२ हजार भीसा जारी भइसक्यो । अपराधमा संलग्न हुने नेपालीको संख्या झिनो छ । नेपालीहरुको एउटा राम्रो बानी, देशमा जतिसुकै झैंझगडा गरे पनि विदेशमा चाहिँ दलका शाखा र जातीय, भेगीय समाज खोल्नेबाहेक अरु कुरामा मिलेर बस्छन् । धर्मका कारण पनि जापानमा नेपालीको स्थिति राम्रो भएको हो । बुद्ध धर्म मान्ने कारण त्यहाँ मुस्लिमभन्दा हिन्दूलाई प्राथमिकता दिने गरिन्छ । अब त जर्मनीले पनि नेपाली कामदार लैजाने भएको छ । 

प्रविधि र सीपमा पोख्त नभई नेपाली विद्यार्थी विदेश गएका छन् । नेपालमा बाबुआमालाई घुक्र्याए पनि त्यहाँ आफैंले काम नगरी खान पाइँदैन । अष्ट्रेलियामा त्यस्ता कतिपय विद्यार्थीले अहिले मागेरै पनि पेट पालिरहेको दृष्य देख्न सकिन्छ  । यस्तो भएपछि त्यसरी गएका मध्ये थुप्रै मानसिक समस्यामा परेका छन्, केहीले आत्महत्या पनि गरेका छन् ।

उता, इजरायलमा मारिएका नेपालीको परिवारलाई क्षतिपूर्ति दिने कुरा अन्यौलमै छ । इजरायल आफंै पीडित छ, यस्तो अवस्थामा शायद दिँदैन भन्ने बुझिन्छ ।विदेश जानका लागि अघिल्लो वर्ष ३ लाख १० हजारले पुलिस रिपोर्ट लिएका थिए । 

टिप्पणीहरू