पद देशको, नेता मान्छे विशेषको

पद देशको, नेता मान्छे विशेषको
सुन्नुहोस्

नेपालको राजनीतिका रंग र रहरहरु फेरिँदा छन् । त्यसले आउँदो राष्ट्रियसभा निर्वाचनपछि अर्को आकार लिने सम्भावना छ । 

एमालेलाई ‘कोशीको धोका’ पछि अब कांग्रेसबाट आश गर्ने ठाउँ भएन । शेरबहादुर देउवालाई यही मौका छोपेर पार्टीभित्र डा.शेखर कोइरालालाई कमजोर बनाई ८० प्रतिशतमा हावी हुने मौका आउँदैछ !त्यहीँभित्र रवि लामिछानेका ‘रगरग’, मध्यावधिदेखि गठबन्धन तलमाथि पार्नेसम्मका खेलोमा देश मग्न छ ।

राष्ट्रियसभा निर्वाचनबाट केही व्यक्तिको व्यवस्थापन गर्न सक्दा देउवा किन बलियो बन्नुहुन्छ भने, यसअघि राष्ट्रपति बनाएर रामचन्द्र पौडेलको चित्त बुझाइसकियो । अब कृष्णप्रसाद सिटौलाको व्यवस्थापन हुँदा डा.शेखरतिर केन्द्रित शक्तिमा केही फाइदा आफूतिर आउँछ । अनि, सीधा टक्कर देउवा र शेखरकै हुने भयो ।

शेखरलाई एक्लो बनाउन सक्दा देउवाको पक्षमा ८० प्रतिशत संख्या हुन्छ । देउवाले चाहँदा गठबन्धन टुट्न पनि सक्छ । खासमा डा.शेखरले हो, गठबन्धन टुटाउन खोज्ने । तर, त्यसो गर्दा फाइदा केही पनि छैन भन्ने उनले बुझेका छन् । शेखरले कोशीमा मुख्यमन्त्री पाएपछि गठबन्धनलाई निरन्तरता दिइएको छ । अर्थात्, डा.शेखरले पार्टीभित्र भाग पाइरहेकै स्थिति छ । सर्वोच्चको न्यायाधीशमा विजय मिश्रलाई पाखा लगाएर आफूपक्षीय सुनील पोखरेललाई घुसाइएको छ ।  पोर्चुगलका निम्ति हुँदै नभएको दूतावासमा राजदूत नियुक्त गरेर त्यहीँ पनि भाग पाइरहेकै स्थिति छ । राजनीति नै कस्तो भइदियो भने पद र सुविधा बाँड्ने राज्यको, अनुयायी हुने र गुण मान्नेचाहिँ प्रचण्ड, देउवा र ओलीको । 

भित्रभित्रै मन्त्रिपरिषद् पुनर्गठनको चर्चा पनि चलिरहेको छ । रवि लामिछाने मुख मिठ्याएर बसेका छन् । उनलाई बाहिर राख्यो भने विरोधमात्र गरिरहने, भित्र ल्यायो भने बोली बन्द ! सत्तामा बसेर जति बोल्यो, आफैं बद्नाम हुन्छन् भन्ने पनि सोचेका छन्, मुख्य तीन नेताले । ‘हामी जस्तै त हुन्छ’ भन्ने उनीहरुलाई लागेको छ । रविको रहर सांसद हुने मात्रै होइन । दोस्रो पटक जितेर आएपछि उपप्रधानमन्त्री नै दियो भने सरकारलाई समर्थन गर्छु भनेकै हुन् । अर्थात्, फेरि पनि उनलाई पद चाहिएको छ ।

उता, रेशम चौधरी र सिके राउत पनि सरकारमै सामेल छन् । तमलोपा र उपेन्द्र यादव छँदै छन् । राप्रपा पनि पावर शेयरिङमा पाइयो भने ‘ठीकै छ नि’ भन्नेमा छ । ओलीसँग लिङ्देनको राम्रो दोस्ती छ । झापाबाट गत वर्ष सिटौलालाई चुनाव हराउने खेलमा उनीहरुको दोस्ती प्रकट भएकै हो । रवि पनि लिङदेनसँगै परपर हुने स्थितिमा पुगिसकेका थिए । तर, आफ्नै अस्तित्व संकटमा परेपछि ओलीको बाटोभन्दा अलि फरक देखाएका हुन् । 

टिप्पणीहरू