रुकुमलाई सेना, प्रहरी चाहियो

रुकुमलाई सेना, प्रहरी चाहियो
सुन्नुहोस्

भूकम्प प्रभावित क्षेत्रमा रहेका जोखिमपूर्ण घर व्यवस्थापन र अस्थायी आवास निर्माणको लागि दक्ष जनशक्ति अभाव देखिएको छ । जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख र भूकम्पपीडितसमेतले यस बेला सेना, प्रहरीको सक्रिय उपस्थितिको आशा राखेका छन् । 

पूर्वमन्त्री एवं प्रतिनिधि सभा सदस्य जनार्दन शर्माले ३० हजार ८८७ घरका सदस्यहरू त्रिपालमुनि बसेको जानकारी दिँदै यी घरहरूको भग्नावशेष हटाउन र नयाँ निर्माण गर्न दक्ष जनशक्तिको अभाव भएको बताए । उनले चिसोका कारण सुत्केरी, बालबालिका र ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था दयनीय बन्दै गएकाले तत्कालै अस्थायी आवास आवश्यक रहेको उल्लेख गरे । भने, ‘अस्थायी टहरा बनाउने चरणमा छौँ, मुचुल्का, फोटो, स्वघोषणा, बैंक खाता, निर्णयलगायत काममा सहजीकरण गर्न जनशक्ति चाहिएको छ । बादल लागेकाले पानी पर्ने चिन्ता छ, जनताको स्वास्थ्यमा थप क्षति हुने पीर छ ।’ आठबिसकोट नगरपालिकाका प्रमुख रवि केसीले सात हजार घर जोखिमपूर्ण अवस्थामा रहेकाको र भत्काउन नसकिएको जनाएका छन् । खोज र उद्धारमा गाउँ गएको सेना र सशस्त्र प्रहरीको टोली फर्किएको जानकारी दिँदै केसीले तालिमप्राप्त र संगठित उक्त निकाय भग्नावशेष घरको व्यवस्थापन र अस्थायी आवास निर्माणमा परिचालन गर्न आवश्यक रहेको उल्लेख गरे । 

प्रजिअ हरिप्रसाद पन्तले सुरक्षा निकायहरू फिल्डमा परिचालन गर्न गराउन सवारी साधन, इन्धन तथा थप जनशक्ति आवश्यक रहेको बताएका छन् । उनले नेपाल प्रहरीको जनशक्ति नियमित शान्ति, सुरक्षा तथा अस्थायी आवासको लागि मुचुल्का तयार गर्ने काममा लाग्नुपरेको अवस्थामा सशस्त्र प्रहरी र नेपाली सेनाको दक्ष जनशक्ति भूकम्प प्रभावित क्षेत्रमा परिचालनको व्यवस्था स्वचालित बनाउनुपर्ने उनको मत छ । आवश्यकताअनुसार सेना प्रहरी परिचालन गर्ने निर्णय गरेकोले चाँडै उक्त समस्या समाधान हुने विश्वास प्रजिअ पन्तको रहेको छ । सानीभेरी गाउँपालिका –४ पुरानोगाउँकी बालदेवी मल्लले घर कतिबेला भत्किने हो भन्ने अवस्थामा रहेकोले त्यसको नजिक जानै छाडेको बताइन् । डर लाग्ने अवस्थामा रहेका घरमा कसैले पनि जान नमान्ने भएकोले सेना, पुलिस आउने आशा बोकेको मल्लले सुनाइन् । भूकम्पले घर जोखिममा परेपछि छोरी, बुहारी, नातिनीसहित उनको परिवार त्रिपालले बेरेको गोठमा बस्दै आएको छ । 

कर्णालीका सुर्खेत, सल्यान र रुकुम पश्चिम खाद्य सुरक्षित जिल्ला हुन् । हावाहुरीले मकै बालीमा गरेको क्षति र भूकम्पले खाद्यान्नमा गरेको असरले भने अब रुकुम पश्चिममा खाद्यान्न अभाव हुने खतरा छ । गत भदौ १७ गतेको हावाहुरीले ४ हजार टन मकै उत्पादनमा कमी आएको थियो । कात्तिक १७ गतेको भूकम्पले कृषि, स्वास्थ्य, शिक्षा, सिँञ्चाइ, खानेपानी लगायत क्षेत्रमा असर गरेको छ । कृषि विकास कार्यालयका अनुसार एक करोड ५० लाखको खाद्यान्न पुरिएको छ । निमित्त प्रमुख मिनबहादुर केसीले भूकम्पले भत्किएका घरहरूसँगै ९५ टन खाद्यान्न पुरिएको बताए । धान, गहुँ, चामल, दाल, नुन, तेल, पीठोलगायत दैनिक उपभोग्य वस्तु नोक्सान भएका छन् । केसीले भने, ‘गहुँ छर्ने बेलामा सबै जनशक्ति पुनर्निमार्णमा लागेको छ । न खेतीयोग्य जग्गामा छर्ने बिउ बचेको छ, न त कृषि कर्ममा लाग्ने जनशक्ति पाइन्छ ।’ यस पटक अधिकांश जग्गा बाँझै रहने उनको अनुमान छ । भूकम्पले दर्जनौ सिँचाइ योजनामा समेत क्षति गरेको छ । खेतीयोग्य जमिनमा सिँचाइ आयोजना अवरुद्ध हुँदा स्वभावैले उत्पादनमा कमी आउने निमित्त प्रमुख केसीको भनाइ छ । 

जोखिममा बालबालिका र ज्येष्ठ नागरिक

भूकम्पपछि त्रिपालको बास र चिसो मौसमको कारण प्रभावितको स्वास्थ्यमा समस्या बढ्न थालेको छ । चिसोकै कारण त्रिपालमुनि बसेका ८ जना ज्येष्ठ नागरिकको मृत्युसमेत भइसक्यो । स्वास्थ्य सेवा कार्यालयका व्यवस्थापक डा. सुशील पोखरेलले अहिले बालबालिका, ज्येष्ठ नागरिक, महिला र अपांगता भएका व्यक्तिमा स्वास्थ्य जोखिम रहेको बताए । उनका अनुसार बालबच्चामा निमोनियाको समस्या देखिन थालेको छ भने कुषोषणको समेत जोखिम बढेको छ । दीर्घरोगी ज्येष्ठ नागरिकको अवस्थासमेत थप जोखिममा परेको छ । भूकम्पले जिल्लाका ३१ वटा स्वास्थ्य केन्द्र प्रभावित बनेका छन््् भने पूर्णरूपमा भत्किएका तीन वटा केन्द्रमा त्रिपालबाट सेवा प्रवाह भइरहेको छ । 

पशुचौपायमा १४ करोड बढी क्षति

पशु अस्पताल तथा पशु सेवा कार्यालयका निमित्त प्रमुख शेरबहादुर खड्काका अनुसार भूकम्पमा परेर जम्मा ७९९ वटा पशुचौपायको मृत्यु भएको छ र यसबाट १४ करोड २३ लाख ३२ हजार पाँच सय रुपैयाँ बराबरको क्षति भएको छ । खड्काले १२ वटा गाईगोरु, १६ वटा भँैसी, १०६ वटा भेडाबाख्रा ५६६ वटा कुखुरा मरेको र ३४४ वटा खोर भत्किएको जानकारी दिए । 

विद्यार्थी र शिक्षकमा मनोवैज्ञानिक त्रास

भूकम्पले मानवीय क्षतिसँगै घर र विद्यालयसमेत भत्किएका र चर्किएका छन््् । यसको कारण अधिकांश विद्यार्थी र शिक्षकमा मनोवैज्ञानिक त्रास रहेको पाइन्छ । शिक्षा विकास तथा समन्वय इकाइ रुकुम पश्चिमका कार्यालय प्रमुख ताराप्रसाद पुनले मनोवैज्ञानिक त्रासकै कारण सबै विद्यालयमा अझै सहज पठनपाठनको वातावरण निर्माण हुन नसकेको बताए । रुकुम पश्चिमका २८८ वटा सामुदायिक र २० वटा संस्थागत विद्यालयमध्ये १९६ वटा प्रभावित छन््् । ५२ वटा विद्यालयका २४४ भवन र सात सय वटा कक्षाकोठामा क्षति पुगेको छ । ५५ वटा शौचालय पूर्ण र ८३ वटामा आंशिक क्षति पुगेको तथ्यांक इकाई कार्यालयमा छ । कार्यालय प्रमुख पुनले आठबिसकोट नगरपालिकामा १३९ र सानीभेरी गाउँपालिकामा ७४ वटा अस्थायी सिकाइ केन्द्र बनाएर पढाइ शुरु गरिएको जनाएका छन््् । 

खानेपानीमा दीर्घकालीन असर

भूकम्पले खानेपानीका योजनामा दीर्घकालीन असर गरेको छ । खानेपानी, सिँञ्चाइ तथा ऊर्जा विकास कार्यालयका प्रमुख तेजनारायण महतोका अनुसार जिल्लामा सञ्चालित दश वटा लिफ्ट खानेपानी आयोजना र आठ वटा निर्माणाधीन आयोजनामा क्षति पुगेको छ । महतोले मुहानबाट पानी कम आउन थालेको, पानी ट्यांकी चुहिन थालेको, आरबिटीहरू रसाउन थालेकाले यसको असर बिस्तारै बढ्ने उल्लेख गरेका छन््् । खानेपानी योजना सञ्चालित मुहानको पानी अर्को ठाउँबाट निस्केको पाइन्छ । पाइपबाट पानी लिक हुने समस्या देखिएकाले खानेपानीमा प्रदूषणको जोखिमसमेत देखिएको छ । 
 

टिप्पणीहरू