कुर्सी पाउँदा आफैंले, हटाउँदा विदेशीले ?

कुर्सी पाउँदा आफैंले, हटाउँदा विदेशीले ?
सुन्नुहोस्

– चूडामणि कौशिक

सत्ता चुँडियो कि विदेशी शक्तिलाई दोष लगाउने चलन नेपाल मात्र होइन, विदेशमा पनि छ । नेपालबाट विदेशीले सिकेका होइनन् होला यो थेगो रट्न । विदेशीले नै सिकाए होलान् । सरकार बनाउने विदेशी, सत्ता चलाउने विदेशी र शासनबाट खसाल्ने विदेशी नै भएपछि देशचाहिँ कसरी स्वदेशीको भन्ने ? बाबुराम भट्टराईले १० वर्षअघि भनेकै थिए, सत्ताको साँचो विदेशीको हातमा पो हुँदो रहेछ । त्यसो भन्दा पनि उनले राजीनामा गर्नुपरेको थिएन किनकि सर्पको खुट्टा सर्पले नै देख्छ भनेझैँ नेकपा (एमाले), नेपाली कांग्रेस र तत्कालीन नेकपा (माओवादी, हाल माओवादी केन्द्र) सबैलाई थाहा थियो र छ कि सत्ता उनैले सञ्चालन गर्ने हो । पुष्पकमल दाहालले पहिलो चोटि प्रधानमन्त्रीबाट हात धुनुपर्दाको अवस्था थियो प्रधानसेनापति काण्ड । माओवादीले पहिले पुरानो सत्ताका रुक्मांगद कटवाललाई हटाउन खोज्यो तर राष्ट्रपति डा. रामवरण यादवले उक्त निर्णयलाई स्वीकृति नै दिएनन् । 

बंगलादेशकी निवर्तमान प्रधानमन्त्री शेख हसिना वाजेदले बंगालको खाडीको पूर्वाेत्तरको सेन्ट मार्टिन द्वीपमा एयरबस राख्न नदिएका कारण अमेरिकाले आफूलाई हटाएको आरोप लगाएको भनी भारतीय मिडियाले लेखेका छन्, जसको खण्डन उनका छोराबाट आएको छ । आफ्नो पार्टी अवामी लिगका समर्थकलाई पठाएको भनिएको सन्देशलाई उद्धृत गर्दै ‘द प्रिन्ट’ ले लेखेको छ, ‘मैले सेन्ट मार्टिन अमेरिकालाई दिएको भए सत्तामै रहन सक्थेँ ।’ म्यान्मासँग जोडिएको मुगाको समुद्र भनिने तीन किमिको सो आइल्याण्डको आर्थिक, कूटनीतिक र सुरक्षाका कारणले रणनीतिक महत्त्व छ जसमा चीन र अमेरिकाले क्षेत्रीय प्रभाव राख्न सक्छन् ।

सरकार बनाउने विदेशी, सत्ता चलाउने विदेशी र शासनबाट खसाल्ने विदेशी नै भएपछि देशचाहिँ कसरी स्वदेशीकाे भन्ने ? 

यस्ता आरोप नेपालका कम्युनिष्ट नेतृत्वको सरकारले वा पार्टीहरूले आफूलाई अप्ठेरो पर्नेबित्तिकै वा सरकारबाट गिर्नासाथ बारम्बार लगाइरहन्छन् । दुई–दुई पटक प्रतिनिधिसभा विघटन गरेर सर्वाेच्च अदालतको आदेशले सत्ता नेपाली कांग्रेस–नेकपा (माओवादी केन्द्र–एकीकृत समाजवादीलगायत) को गठबन्धनलाई बुझाउनुपरेका ओली महोदयले पनि देशीविदेशी तत्वले आफूलाई फालेको आरोप लगाइरहेका थिए । 

शेख हसिनाले विद्यार्थीको त्यत्रो आन्दोलनलाई आतंकवादीको आन्दोलन भनिन् र दबाउन शक्तिको दुरूपयोग गरिरहिन् । आफ्नो अधिनायकत्वलाई भर्खरैको निर्वाचनले अनुमोदन गरेको भ्रममा रहिन् जबकि प्रमुख विपक्षी बिएनपीकी नेतृ खालिदा जियालगायत नेताहरूलाई कारागारमा राखेर वा निर्वासनमा पठाएर तिनको बहिष्कारबीच गरिएको निर्वाचनको वैधताको मूल्याङ्कन हुँदै थियो । हाम्रा प्रचण्ड कमरेड भने ३२ सिटे जादुई नम्बरको भ्रममा कांग्रेस र एमालेलाई बारम्बार झुक्याएर, एकार्काविरुद्ध कार्ड फ्याँकेर सत्ताको पिङमा झुलिरहेका थिए ।

सत्ताबाट झरेपछि बल्ल समाजवादी मोर्चा ब्युँझाउने र पार्टीलाई जनतामाझ लैजाने अभियान चाल्न लागेका प्रचण्डले सत्तालाई जनताकेन्द्रित गरेकै रहेनछन् भन्ने त स्पष्ट बुझियो नै ! उत्तर र दक्षिणका मित्रलाई पनि एकार्काको कार्ड फ्याँकेर आफू सुरक्षित भएको भ्रम दिइरहे । आफ्ना नदीनाला सुम्पेर, हडपिएको जमिनबारे नबोलेर उनी दक्षिणलाई रिझाइरहेका थिए भने चीनलाई बिआरआई कार्यान्वयनको झुटो आश्वासन दिएर झुलाइरहेका थिए । अहिले कांग्रेस–एमालेको सरकार तथा बंगलादेशको युनुस सरकारलाई समुद्रपारिको शक्तिनिर्मित भन्ने दुवै राजनीतिज्ञ आफूले ढंगविहीन हिसाबले राजनीति चलाइरहेको र सत्ता सञ्चालन गरिरहेको चालै पाएनन् र कोटरीका भर परिरहे । 

आफ्नो सत्ता बहिर्गमन तथा मुलुकमै विदेशी शक्तिले चलखेल गरेको आरोप लगाउने दक्षिण एसियाका नेपाल, बंगलादेश, पाकिस्तानलगायत तथा पश्चिम एशिया र अन्य मुलुकमा विश्वको परिस्थितिअनुसार बाह्य जगत्मा कूटनीतिक सन्तुलन र घरेलु शक्तिलाई साथमा लिएर शासन चलाउनुपर्छ भन्ने ज्ञान कहिले पलाउला ?

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू