कानुन यौनकाण्डमा कतै किन कठोर, कतै किन कमलो ?

कानुन यौनकाण्डमा कतै किन कठोर, कतै किन कमलो ?
सुन्नुहोस्

भ्रष्टाचारमा मुछिए चोख्याउने विशेष अदालतका श्रीमान् – यौनजन्य/अश्लील हर्कतमा मुछिए बचाउने सामान्य प्रशासनका हाकिम । गत साउनदेखि यता मात्रै ५ कर्मचारी यौनकाण्डमा परिसके । जसमध्ये एक जना कारागारमा छन्, एकले धरौटी तिरेर सम्बन्धित कार्यालय हाँक्दै छन्, बाँकी ३ जनालाई नसिहत दिनु त परैको कुरा साधारण स्पष्टीकरणसमेत सोधिएन र तीन महिना सामान्यको बरण्डामा थन्क्याएर जिम्मेवारीमा खटाइयो । कार्यालयमै लेखा अधिकृतसँग यौनजन्य गतिविधि गर्ने हाकिम काजीमान राई सोमबारदेखि नयाँ जिम्मेवारी सहित सोलुखुम्बुमा हाजिर भएका छन् । बीचमा राईलाई बाह्रदशी गाउँपालिकामा खटाइएको थियो तर पालिकाले चरित्रहीन हाकिम भन्दै हाजिरै गर्न नदिएपछि तीन महिना सामान्यमा बसेर सोलुखुम्बुतिर लागेका हुन् । 

भदौ पहिलो सातो सिसिक्यामेरा अफ गरेर लेखा अधिकृतसँग कार्यकक्षमै ‘रोमान्स’ गर्ने इलामको माइजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान राईमाथि सामान्य प्रशासनले कुनै कारबाही नगरी लिखु पिके गाउँपालिका, सोलुखुम्बु पठाएको छ । उनीसँगै मुछिएकी रेश्मा राईमाथि पनि कुनै विभागीय कारबाही भएको छैन ।

गत दशैंसम्मको तलब पालिकाबाटै खाएकी राई दुई साताअघि सामान्य प्रशासनमा तानिएकी छन् । ऐनअनुसार स्थानीय तहको कर्मचारी हुन्, उनको सरुवा एउटा स्थानीय तहबाट सोही प्रदेशभित्रको अर्को तहमा मात्र हुने व्यवस्था छ । ऐनअनुसार, उनी कोशी प्रदेशभित्रका कुनै पनि स्थानीय तहमा सरुवा हुन सक्छिन् । तर, महिला कर्मचारीको हकमा सामान्यका हाकिम बढी नै उदार भएर उनलाई माइजोगमाई गाउँपालिकाबाट सामान्यमा तानिएको छ । सामान्यले रेश्मालाई सामान्यमा खटाउन पत्र काटेसँगै माइजोगमाइ गाउँपालिकाले रमाना दिएर पठाएको त्यहाँका कर्मचारीले जनआस्थालाई बताए । 

यस्तै यौनकाण्डमा अर्का हाकिम (उपसचिव) डमरु निरौलामाथि पनि सामान्यले कुनै कारवाही त के केरकारसम्म गरेन । गत साउन दोस्रो साता झापास्थित दमक नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको क्वार्टरभित्रै एक डिभोर्सी महिलासँग मदिरामा लठ्ठ भएर उपद्रो मच्चाएको भिडिओ सामाजिक सञ्जालमा छरपष्ट भएसँगै सामान्यले अतिरिक्त समूहमा तानेको थियो २४ साउनबाट । साढे तीन महिना हाजिर मात्र गरेर तलब पकाएका उनलाई दुई साताअघि मात्र वीरगञ्ज मालपोत कार्यालयको हाकिममा खटाइएको छ ।

गत भदौंमै अर्का उपसचिव यौनकाण्ड लागेर  प्रहरी हिरासतमै पुगे । चितवनस्थित जिल्ला तथ्यांक कार्यालयका हाकिम यज्ञमूर्ति भण्डारीले ३५ वर्षे कार्यालय सहयोगीलाई पटक पटक यौन शोषण गरेको आरोप लागेको थियो । ती महिलासँगको संसर्गपछि गर्भ बस्यो । ४ महिना गर्भपतन गराउन खोज्दा अत्यधिक रक्तश्रावपछि सतहमा आयो । उनीमाथि जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता पनि भयो । पछि चितवनका न्यायाधीश मातृकाप्रसाद आचार्यले २५ हजार रूपैयाँमात्र लिएर धरौटीमा छाड्न आदेश दिए । अहिले उनी पूर्ववत् जिम्मेवारी सम्हालिरहेका छन् । 

यता, घरमा काम सघाउने युवतीमाथि यौनशोषण गरेको प्रमाण भेटिएपछि इञ्जिनियर हरिकुमार पोखरेल जेलमा छन्् । मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक इञ्जिनियर पोखरेललाई काठमाडौं जिल्ला अदालतले जर्बजस्ती करणी मुद्दामा पुर्पक्षका लागि थुनामा पठाइसकेको छ । उनीबाहेक चारै जना यौनकाण्ड लागेका कर्मचारी भने पूर्ववत जिम्मेवारीमा फर्किसकेका छन् । 

उता ललिता निवास जग्गा काण्डमा जोडिएर सामान्यको अतिरिक्तमा तानिएका दाङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले क्लिन चिट नपाउँदै हालै प्रदेशतिर खटाइएको छ । 
 

टिप्पणीहरू