दुर्गा प्रसाईंको कुदाइले जे देखायो

दुर्गा प्रसाईंको कुदाइले जे देखायो

आगो दन्काउन सकिन्छ तर कतिञ्जेल रन्किन्छ ? यसैले परिणामको निर्धारण गर्छ ।दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शनअघि सरकारले के–के न होला भन्ठानेर चाहिनेभन्दा बढी तयारी गर्‍यो । आखिर केही न केही ! स्वयं गृहमन्त्री नारायणकाजी श्रेष्ठ ‘ओभर इस्टिमेट’ गरिएछ भन्नेमा हुनुहुन्छ ।

साँच्चै नै उनको आन्दोलनले ऋण मिनाहा गराउने भए किन समर्थन नगर्ने भनेर पूर्वराजा ज्ञानेन्द्र शाह पनि हौसिए । अर्थात्, पत्याइदिए । किनभने, उनी स्वयं पनि व्यापारी हुन् । ऋणै मिनाहा हुन्छ भने ‘गरौँ न त’ भन्नेमा पुगेको, तर पहिलो दिनकै आन्दोलनको रुप र शैली हेर्दा ‘खुट्टी हेर्दै चाल पाइयो’ भनेझैं ज्ञानेन्द्र साहदेखि राप्रपासम्मका मान्छेहरु पछाडि हटेका छन् । 

त्यसो त धरातल कमजोर भएका विषयलाई उठाएर गरिने प्रदर्शन र आन्दोलन आजको भोलिमै कसरी मत्थर हुन्छन् भन्ने विभिन्न घटना हाम्रै समाजमा पनि नदेखिएका हैनन् । नेपाली मन पर्दैन भनेकै भरमा ऋतिक रोशन काण्ड भयो । एक दिन काठमाडौं दन्दनी बल्यो । भोलिपल्ट जस्ताको तस्तै । ०६४ सालमा वाइसिएलद्वारा मारिएका कोटेश्वरका रामहरि श्रेष्ठ काण्डमा पनि महेश बस्नेतहरुले आगो बाल्न खोजेका थिए, केही दिनमै उनीहरु मत्थर भए । इराकमा १२ नेपाली मारिएको घटनामा एक दिनभरि काठमाडौंका भएजति म्यानपावर अफिस तोडफोड र आगजनी गरिए । भोलिपल्टै स्थिति नियन्त्रणमा आयो । नयाँ बसपार्कमा ल्होत्से मल लुटपाट भएको घटना पनि धेरै समय टिक्न पाएन । यी दृष्टान्त बिर्सिएर दुर्गा प्रसाईंले प्रयास गरे तर सकेनन् । 

भनिन्छ, चाहिनेभन्दा बढी हौसियो भने मान्छे आफैं चार बल्ड्याङ खान्छ । स्टाफहरुलाई तलब खुवाउनै धौधौको अवस्थामा रहेका उनले दुई वर्षको नातीका लागि बैंकको ऋणबाट ६ करोडको गाडी भनेको छु भनेर देखाए । बैंकलाई चाहिँ चैतदेखि ब्याज नै तिरेका रहेनछन् । बैंकको ब्याज मिनाहा हुन्छ भन्दा देशका उद्योगपतिदेखि सहकारी, लघुबित्तमा कारोबार गर्ने मानिससम्मले साथ दिन्छन् भन्ने हिसाब थियो । पूर्व र तराईबाट जति मानिस आए, ती ऋण मिनाहा हुन्छ भनेरै आएका थिए । कतिपय हिन्दू राज्य पाइने भयो भनेर पनि तम्सिए ।

पछि यसरी नहुने रहेछ भन्ने भएपछि लाखापाखा भए । त्यसमाथि आइएमई ग्रुप र उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्र ढकालले नै त्यसमा क्रस गरिदिए । उनले बैंकको ऋण नै नतिर्ने भन्ने कुरा त हुँदैन भनेपछि व्यापारी समुदाय ‘तैँ चूप, मैँ चूप’ भयो । 
उता, भारतको चुनावमा फेरि बिजेपी उदाउँदैछ  । भारतीयले विकास चाहेका छन्, त्यसका लागि भाजपा भन्ने पनि भएको छ । अघिल्ला निर्वाचनहरुमा भाजपालाई अप्ठेरो पार्दै आएका अरविन्द केजरीवालको यसपटक खासै चर्चा भएन । मोदी एकछत्र हुनेजस्तो देखिएको छ । कंग्रेस आईका सभापति राहुल गान्धी, प्रियंकाहरुलाई ‘ओरालो लागेको बाच्छोलाई मृगले नि लखेट्छ’ भनेझैँ भएको छ । 

त्यसमाथि अमेरिकाले नेपालमा हिन्दू राज्य कायम गराउन भारतले पैसा दिएको छ भन्ने बुझिरहेको छ । रवीन्द्र मिश्रले प्रष्टै भनेका छन्, ‘हिन्दू गणराज्य नभई अधिराज्य खोजेको हो ।’ अर्थात्, राजासहित हिन्दू राज्यको माग भएको उनको भनाइ छ । यी माग र चाहनाका वैचारिक तथा राजनीतिक जग कमजोर छन् । टुक्राटुक्री जमातबाट ती कुरा पूरा हुन सम्भव हुँदैनन् । 
 

टिप्पणीहरू