काेमल ओली भित्र पस्ने, हामी बाहिर रहने कस्ताे भद्दा मजाक छ !

काेमल ओली भित्र पस्ने, हामी बाहिर रहने कस्ताे भद्दा मजाक छ !

– चन्द्र भण्डारी, पुराना कम्युनिष्ट नेता/पूर्व महासचिव, नेपाल पत्रकार महासंघ

झण्डै चार सय बढी गीत लेखेर, गाएर जनता जगाउने, कम्युनिष्ट बनाउने चन्द्र भण्डारीहरू अहिले एमालेमा छैनन् । पार्टीमा कोमल ओली, एकनाथ ढकाल, हरिनारायण रौनियारहरूले कब्जा जमाउन थालेपछि भण्डारीजस्ता झापा आन्दोलनका हस्ती क्रमैसँग किनारा लाग्दै छन् । पञ्चायती व्यवस्थाविरुद्ध लडेका भण्डारीले कुनै समय अखिलको अध्यक्ष चलाए । पत्रकार महासंघको संस्थापक महासचिवका रूपमा काम गरे । ०४४ सालमा राजीव गान्धीको हत्या गर्ने षड्यन्त्र रचेको आरोप लगाएर सत्ताले तीन वर्षभन्दा बढी जेलमा राख्यो । पटक–पटक गरी ९ वर्ष ८ महिना जेलमै बिताएका उनलाई पार्टीले टिकट दियो र मेचीनगर नगरपालिकाबाट अत्यधिक मतसाथ उपमेयरमा विजयी भए । त्यसपछि राजनीतिप्रति चरम निराशा पैदा भएको बताउँछन् । ०५८ सालदेखि कञ्चनजंघा एफएम खोलेर पत्रकारितामै सक्रिय छन् । यसका अलावा तिमाई सञ्चारमार्फत प्रतिभा खोज्दै गाउँ पसिरहेका छन् ।  

– हरि गजुरेल 

 ० तपाईं झापा आन्दोलनको नेता, अखिलको पूर्वकेन्द्रीय अध्यक्ष, पत्रकार महासंघको महासचिवसमेत भइसक्नुभएको व्यक्ति, अहिले किन सबैतिर पछि पर्नुभएको ? 

– अरुको तुलनामा अघि नै छु । हाम्रो आस्था र विश्वासमा तुषारापात हुन र गलत मानिस नेतृत्वमा पुग्न थालेपछि मन रमाउन सकेन । यसबीच कूटनीतिक सम्बन्धमा हामी च्यूत भयौं । छिमेकीलाई सन्तुष्ट पार्न सकेनौं । यसरी दिशा अवरुद्ध भएपछि फेरि पनि मुर्झाएको कम्युनिष्ठ आन्दोलनलाई पुनर्गठित गर्नुपर्छ भन्ने उद्देश्यका बोकेर पत्रकारिताको माध्यमबाट अगाडि आएँ । त्यही समयमा सम्बन्धित दलले झापा फर्कन भन्यो । निर्वाचनको मैदानमा होमिएर सबैभन्दा बढी मतसहित विजयी पनि भइयो । त्यसपछि झनै चरम निराशा पैदा भयो र २२ वर्षअघि रेडियो कञ्चनजङ्घा स्थापना गरेर हुँदा खानेदेखि हुने खाने देशभक्त वर्गलाई जगाउने काममा सक्रिय रहें । 

० हिजोका सहयात्रीहरू सिके–आरके मैनाली, नरेश खरेल, घनेन्द्र बस्नेतजस्ता हस्तीहरू आज किन पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग छैनन् ? 

– राजनीति दिशाभ्रम हुँदा, गन्तव्यले गलत बाटो समात्दा त्यहाँ थोरै मान्छे रहन्छन् । केपी ओलीका बारेमा म विषवमन गर्न सक्दिन । उहाँ झापा संघर्षबाटै उठेर आउनुभएको, जेल–नेल खप्नुभएको, आन्दोलनमा लाग्नुभएको हो तर उहाँसँग ग्रह मिलेन । सिपी मैनाली, राधाकृष्ण मैनाली जसले पार्टी स्थापना ग¥यो । ती व्यक्तिहरू यो पार्टीमा अट्न सक्नुभएन । ०३९ सालमा आन्तरिक विवादमा अल्पमतमा परेको एउटा धारलाई उठ्न दिइएन तर उनीहरू सबै सिर्जनशील थिए । अहिले पनि देश–विदेश जहाँ छन्, शक्ति÷सौर्य आर्जन गरेरै बसेका छन् । ती जनताको बीचमा सबैभन्दा लोकप्रिय छन् । इमान र विम्ब बनेर बसेका छन् । ग्रह नमिलेपछि र विचार, सिद्धान्तमा तलमाथि परेपछि एउटै घरमा बस्न सकिन्न । यद्यपि, पलायन भएर, विचलित, च्यूत वा स्खलित भएर कसैले बाटो बिराएका छैनन् । जनतासँग निकटसम्बन्ध राखेरै ती नेता–कार्यकर्ता अहिले पनि संगठित छन् । 

० नेपालमा कम्युनिष्ट पार्टी र आन्दोलनको आज जुन दुर्गति भइरहेको छ । त्यसमा कुन–कुन नेताको के–कस्तो भूमिका देख्नुहुन्छ ? 

– नेता विशेष भनेर औंल्याउनु हुँदैन । सबैका आ–आफ्ना कमजोरी छन् । जसको आदार सम्मान वा पार्टीको छत्रछायामा बसेर काम ग¥यौँ उनीहरूको पनि केही न केही कमजोरी छन् । सीपी, राधाकृष्ण हुन् वा केपी ओली– कमजोरी बिनाका मानिस कोही पनि होइनन् । अहिले पनि एउटा धार सशक्त रूपमा बाहिर छ । त्यो धार भ्रष्टाचार, व्यभिचार, कूटनीतिक रूपमा पराजित वा अन्तर सम्बन्धलाई बिखरार गर्नमा उद्यत छैन । सत्तामा पुगिसकेपछि सबै दोषका भागिदार छन् । हिजो पञ्चायती कालखण्डमा राजाका धुपौरे, पञ्चेहरूले राजालाई कति सम्मान गरे, छिसिक्क हुन दिएनन् । ०४४ सालमा सार्क सम्मेलन हुँदा १० हजार मान्छे गिरफ्तार भए । जसमध्ये ९ हजार ९ सय ९८ जनालाई सरकारले छाड्यो तर हामी दुई धारका अखिलका नेतालाई छाडेन (रमण श्रेष्ठ र म) । ममाथि राजीव गान्धीलाई मार्ने षड्यन्त्र बुनिरहेको आरोप लगाएर साढे तीन वर्ष काठमाडौंका सबै जेलमा राखियो । उजुरी सुन्ने, हुँदै नभएको कुरासमेत साँधेर बदला लिने काम हिजो जसरी हुन्थ्यो आज पार्टीका अमुक नेताविरुद्ध त्यस्तै उजुरी गर्ने, आत्मरतिमा रमाउने गरेको देखिन्छ । यस्ता नेता वा नेतृत्व पार्टीभित्र भइसकेपछि पञ्चायत जाँदा जसरी राजा गए, उनको समाप्ती सँगै कुनै पञ्च रहेनन् । हाम्रा नेता जोसँग दम्भ÷अंहकार छ उनीहरूसँग शासकीय प्रवृत्ति, गलत सोच, गलत नीति छ । आन्दोलनलाई दुत्कार्ने र विगतलाई थुक्ने परम्परालाई हुर्काएर लैजाने हो भने तिनका इन्द्र इन्द्रमा रहेका मनुवाहरूले कालान्तरमा छाड्नेछन् । कम्युनिष्ट आन्दोलनको सशक्त धार नेकपा माले हुँदै नेकपा एमालेसम्म आइपुग्दा जुन परिस्थिति निर्माण भयो, अब त्यो कायम रहँदैन । चर्काे वैदेशिक चलखेल छ हामीकहाँ । कम्युनिष्ट कार्यकर्ता जनसमुदायको तहमा लाखौं करोडौं झिल्का भएर बसेका छन्। ती झिल्का एक दिन दक्षिण पूर्वी एशियाको सशक्त आन्दोलन भएर उठ्ने कुरामा द्विविधा छैन । 

० त्यस्तो नेता पाउला र नेपालले ? 

पुराना नेतृत्वले अब ठाउँ छोड्नुपर्छ । युवाहरूलाई अग्रसर गराउनुपर्छ । नीति तथा कार्यक्रममा आमूल परिवर्तन गरिनुपर्छ । विगतका कमी कमजोरीप्रति प्रायश्चित गरिनुपर्छ । वैदेशिक चलखेलको बाटो बन्द गरिनुपर्छ । एनजिओकृत हुँदै गएको पार्टीलाई त्यो परिवेशबाट मुक्त गर्नुपर्छ । हिजो लडेका, शहादत प्राप्त भएकामध्ये कतिपय नेता तथा कार्यकर्ता अहिले भीख मागेर, पूजाका सामग्री बेचेर जीवन गुजारा गरिरहेका छन् । कतिपय मन्दिरका पुजारी भएर हिँड्नुपर्ने स्थितिमा छन् । उनीहरूलाई फेरि पुनःसंगठित गर्ने हो भने नयाँ कार्यकर्तामा आशा पलाउँदैन र ? तर कम्युनिष्ट आन्दोलनमा लागेकामध्ये पूर्वजहरूको अवस्था र हविगत टीठलाग्दो छ । अहिले त केही नेताको दौराको फेर समातेर शक्ति र सत्तामा जाने होड छ । हिजो हामीले कति संघर्ष गरेर संगठन निर्माण गरेका थियौं । हिजो अखिलमा आबद्ध कतिपय नेता पार्टीको केन्द्रीय कमिटी, सांसद हुँदै राष्ट्रिय सभा, राजदूतसम्म पुगे । खै त फर्किएर जनताको बीचमा आएका ? हाम्रा नेताहरू झापा संघर्षलाई दुत्कार्न थालेका छन् । मोहनचन्द्र अधिकारी, सिपी र राधाकृष्ण मैनालीलाई गएर सोध्नु त्यो आन्दोलनको जिम्मा म लिन्छु भनिरहनुभएको छ । तर कतिपयले त्यो आन्दोलनलाई बदनाम गरेर हिँडिरहेका छन् । अध्ययन संस्कृतिको तेजोवध भएको छ । मोबाइलमा सेल्फी खिचेर नेताहरू हिँडेका छन्् । हिजो हामीले जनतालाई जगाउन हजारौं हजार गीत लेख्यौं । आज छम्मा ओ छम्मा गीतमा नेताहरू नाचिरहेको देख्न पाइन्छ । खै क्रान्तिको धार ? जसरी मरेको बाघलाई जुम्राले छाड्छ, उसैगरी हिजोका राजालाई उनका धुपौरेहरूले छाडेर हिँडिसकेका छन् । हाम्रा नेता र पुराना राजामा कुनै भिन्नता छैन । 

० कुनै समय अखिलको नाम लिँदा दलाल, भ्रष्टहरूको मुटु काँप्थ्यो, यस्तो धारिलो संगठन आज किन भुत्ते भएको ?

– हाम्रोे पार्टीमा आएको विचलन, नेतृत्वले लिएको गलत चिन्तन, दलहरूमा भएको एनजिओकरण, नव धनाढ्यहरूको उदय, वैचारिक स्खलन र भूराजनीतिक अवस्थाको प्रभाव परेका कारण नै यो स्थिति बनेको हो । आज विदेशी शक्ति चप्पल लगाएर नेताहरूको बेडरुममा आइपुग्छन् र हाम्रा नेता–कार्यकर्ता उनीहरूको भजन गाएर हिँडिरहेकाछन् । क्रान्तिका कुरा गर्दैनन् । माक्र्सवाद, माओवाद, लेनिनवादको चर्चा हुनै छाड्यो । हिजोको निरंंकुशतासँग लडेर आउने भ्रातृ संगठनको हविगत हेर्नुहोस् त एउटा नेताको पछि लागेर विचार र सिद्धान्तलाई बन्धक बनाउने प्रवृत्तिले कहाँ पु¥याउँछ ? कस्ता–कस्ता होनहार नेताहरू विदेशमा छन् । किन डिभी भर्नतिर उनीहरू लागे ? देश र आमालाई माया गर्नबाट किन विचलित भए ? पार्टीमा आएको विचलन नै कारक हो । संगठनहरू कोमामा छन् । यिनीहरूलाई अप्रेसन गरेर जगाउने हो भने त्यहाँभित्रको आस्था, विश्वास मरेको वा ओइलाएको छैन । 

० ६० प्रतिशतभन्दा बढी जनता कम्युनिष्ट विचारधारा बोक्ने मुलुकमा कम्युनिष्ट धारचाहिँ यति धेरै भुत्ते भयो । यो क्षतिको पूर्ति कसरी होला ?

– वैचारिक, सैद्धान्तिक, कार्यक्रमिक रूपमा कम्युनिष्ट घटकहरूलाई होचो अग्लो नगरी पुनर्गठन गर्नुपर्छ । असल मान्छेहरूलाई गोलबन्द गर्नुपर्छ । अहिले पनि एउटा चिह्नप्रति जनताको आस्था छ । त्यो जनतामा भएको क्रान्तिकारी चेतना हो । 

० दुर्गा प्रसाईंं एमालेको केन्द्रीय सदस्यसम्म पुग्ने तर महाधिवेशन स्थलबाटै पुराना नेताहरू लखेटिनुपर्ने स्थिति किन आयो ? 

– आज दुर्गा प्रसाईंका अगाडि पछाडि सुरक्षा दस्ता छ । पुरानो राष्ट्रगान गाएर हिँडेको छ । सरकार मुकदर्शक छ । हिजो उसलाई काखमा राखेर दूध खुवाउने काम यिनैले गरे । अहिले सत्तामा यिनै छन्् । अनि नरेश खरेल, दुर्गा अधिकारी (सानो–ठूलो) हरू बाहिरिनुपर्ने, दुर्गा प्रसाईंले नेतृत्व गर्नुपर्ने । यो जस्तो भद्दा मजाक के हुन्छ ? यस्तो भद्दा मजाक उत्पादन गर्ने शक्ति नेकपा एमाले नै रह्यो । दुर्गा प्रसाईंजस्ता दर्जनौं पात्र एमालेमा छन् । हिजो राजाको भक्तिगान गाउने, हाम्रो तेजोवध गर्नेहरूकै पार्टीमा बोलवाला छ । ग्लानी त यस मानेमा छ कि हिजो हामीले धूपधुमार गरेका नेताहरूमा यो विचलन बढ्दै गयो । आज कम्युनिष्टहरूको पार्टीमा घर साङ्लालाई बन साङ्लाले खेदेको स्थिति छ । 

० हिजोको एमाले र आजको एमालेमा के भिन्नता छ ?

– आकाश–जमिनबीच जति भिन्नता छ त्यति नै भिन्नता छ । हिजो जन्मँदा जति राँको, तेज, शक्ति, सौर्य, सामथ्र्य थियो । सिद्धान्त, विचार, उचाई, लगाव थियो त्यो सबै घटेर घाँस पराल भएको छ । फेरि पनि एमालेको साइनबोर्ड हामीसँग छ । 

० एमालेमा घनश्याम भुसाल र भीम रावलहरू लखेटिने र कमल थापा, एकनाथ ढकालदेखि राजेन्द्र लिङदेनहरूसँग गर्धन जोडिने । कम्युनिष्टहरूको उद्गमभूमि झापामै एमालेको ओरालो यात्रा किन ? 

– म कमजोर भएँ भने मेरो फूलबारी अरुले भष्म पार्न सक्छ । जहाँ कमजोरी हुन्छ, त्यहाँ शत्रु पस्छन् । तेजोवध गर्छन् । मोहनचन्द्र अधिकारीहरू बाहिर बस्ने, कमल थापाहरू भित्र पस्ने कस्तो रोचक कुरा छ ! कोमल ओलीहरू भित्र पस्ने, हामी बाहिर रहने कस्तो भद्दा मजाक छ ! एकनाथ ढकालको उद्देश्य के हो ? आफ्नो चर्चमा विदेशी शक्ति केन्द्रका हतियार लुकाउने ठाउँ बनाएर उनी हिँडिरहेका छन् । हाम्रो धर्म, अध्यात्म, विचार, सिद्धान्त, बलिदान, कुर्वानीलाई होली खेल्नकै लागि उनीहरू आयातीत भएका छन् । त्यो कुरा जगजाहेर छ । भोलि होइन, अहिले नै प्रमाणीत छ । एकनाथ ढकालका बदमासीमा नबोल्ने हाम्रा प्रधानमन्त्री, पार्टी कस्ता हुन् ! के ती एकनाथको दास हुन् ? किन हामीले हिजो नख्खु जेल ब्रेक गरेको ? दर्जनौं कार्यकर्ता केका निम्ति कत्लेआम भएको ? छिन्ताङ, पिस्कर, कहिले भिमान त कहिले झापा र महाकालीका गढ–तीरहरूमा मान्छेहरूको लाश ढलेको यिनैलाई धुरीमा चढाउनकै लागि हो ? 

० यहाँहरूले गर्नुभएको खबरदारी नेतृत्वले सुन्छ र ? 

– त्यो सुन्ने भए देश यो अवस्थामा पुग्ने नै थिएन । त्यहाँ शंकर पोखरेलहरूका स्तुति भजन र आत्मिक नेतृत्वको सुनुवाई हुन्छ । हामी र जनताका कुरा सुनुवाई हुँदैन । नेकपा एमाले एउटा अजंगको शक्ति अझै पनि हो । त्यसलाई संगठित र पुनर्गठित गर्ने हो भने बूढा पुरानाको अनुभव लिएर, जोश र उमंग भएका युवालाई तानेर राख्ने हो भने कमजोर छैन । वाम घटकसँग कार्यगत एकता गरेर जानै पर्छ । तबमात्र नेकपा एमालेको इतिहास रहन्छ अन्यथा धुलिसात भएर जान्छ भन्नेमा रत्तिभर शंका नगरे हुन्छ । 

० तपाईंको संगीत अभियान कहाँ पुग्यो ?

– हिजो पार्टीलाई उठाउनका लागि लेखिएका गीतहरू विदेशमा सर्वप्रिय भए तर हाम्रा पार्टीमा छम्मा छम्मा बज्छन्, तिनै गीतमा नेताहरू नाच्छन् । अहिले पनि गीत लेखिरहेको छु । हिजो पार्टी उठानका लागि गीत संगीतको ठूलो भूमिका थियो । मेरो बाँकी जीवन सीप कौशल भएका मान्छेका बीच जाने र गीत संगीतकै माध्यमबाट पार्टी निर्माणमा सहयोग गरेका पात्रहरू खोज्ने पनि हो । खै मञ्जुल, रामेश, रायन, गोविन्द थापाहरू ? उनीहरूले गाएका क्रान्तिकारी गीत संगीतको माध्यमबाट पार्टीहरू यहाँसम्म आएका छन् । गाउँ गाउँबाट उठ, आमा दिदी बहिनी हो कति बस्छौ दासी भईजस्ता गीत बज्दा कठोर व्यंग्य भएको अनुभूति हुन्छ । यस्ता गीत गाउनेलाई नै छुवाछुतको व्यवहार हुन्छ भने कसरी यो पार्टी अगाडि बढ्छ ? कोमल ओलीहरूले पोइल जान पाम भनेर यो पार्टी सुरक्षित हुन्छ ? जसलाई कम्युनिष्ट आन्दोलनको विगतप्रति कुनै ज्ञान छैन । बलिदानको ब थाहा छैन । पार्टीभित्र चट्याङ पर्ने हो भने यी र यस्ता पात्र कसको दैलो रुँग्न पुग्छन् ठेगान छैन । 


 

टिप्पणीहरू