खाना र संगीतका सोखिनलाई क्याम्पाचौरमा जमघट

खाना र संगीतका सोखिनलाई क्याम्पाचौरमा जमघट

नारायणगढको नारायणी नदी किनारमा चितवन महोत्सव हुँदा क्याम्पाचौरमा सँधै फुड फेस्टिभल आयोजना हुने गरेको छ । प्रत्येक दुई वर्षको अन्तरालमा आयोजना हुने चितवन महोत्सव यसपालि छैन तर फुड फेस्टिभल छ । रैथाने खानाको स्वाद चखाउने गरी चितवनका होटल व्यवसायीहरुले यही पौष १४ गतेदेखि क्याम्पाचौरमा फुड फेस्टिभल आयोजना गरेका छन् । नाम नै रैथाने फुड फेस्टिभल राखिएको छ । साथमा विविध सांस्कृतिक कार्यक्रम हुनेछ ।

होटल व्यवसायी संघ चितवनको आयोजनामा पाँच दिनसम्म सञ्चालन हुने फुड फेस्टिभलमा परम्परागत खानाको प्रवद्र्धन गर्ने उद्देश्यले टिपिकल थारु खाना, नेवारी खाना, थकाली खाना, शुद्ध नेपाली खाना, चितवनको तास, शाकाहारी भोजन, स्पेशल कुखुराको सेकुवा, लोकल हाँस र माछाको परिकार मुख्य रुपमा रहने जनाइएको छ । 

आर्थिक रुपमा समस्यामा परेको होटल तथा पर्यटन क्षेत्रमा आर्थिक चलायमान बनाउनु र रैथाने खानाको प्रचारप्रसार गर्नु फुड फेस्टिभलको मुख्य उद्देश्य रहेको होटल व्यवसायी संघ चितवनका अध्यक्ष लोकनाथ भट्ट बताउँछन् । गोर्खा बु्रअरी प्रालिको मुख्य प्रायोजन एवम् नेपाल लिकर्स प्रालिको सहप्रायोजनमा हुन गइरहेको यस फुड फेस्टिवल तथा विविध सांस्कृतिक कार्यक्रम २०८० मा ५० हजार अवलोकनकर्ताको सहभागिता रहने र पाँच दिनको अवधिमा करिब पाँच करोडभन्दा माथिको आर्थिक कारोबार हुने आयोजकको अनुमान छ ।

 

यसले व्यवसायिक क्रियाकलापमा भन्दा कोभिड १९ र तत्पश्चात् विश्व परिवेशमा व्याप्त आर्थिक मन्दीका कारण विक्षिप्त बनेको होटल तथा पर्यटन क्षेत्र, निराश बन्न पुगेका व्यवसायी र आम सर्वसाधारणमा आर्थिक पुनरुत्थानको एउटा नयाँ दियो बाल्ने आशा गरिएको संयोजक जनक पौडेलले बताए । बताइएअनुसार फुड फेस्टिवलका लागि यति डिष्ट्रिलरीले टिकट सौजन्य गरेको छ भने ग्यालेक्सी गार्डेन रिसोर्ट भरतपुर र होटल ह्याप्पी होम नारायणगढ हस्पिटालिटी पार्टनर रहेका छन् । 

भरतपुर महानगरपालिका, उद्योग वाणिज्य संघ चितवन र होटल व्यवसायी महासंघ नेपाल प्रवद्र्धकको रुपमा छन् भने बोटलर्स नेपाल प्रालि (तराई लि.), वल्र्ड लिंक कम्युनिकेशन प्रालि र सिएन ल्याबले समेत फेस्टिवलमा सहयोग पुर्याएको आयोजकले जनायो । फेस्टिभल अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारहरुको विशेष प्रस्तुति रहने जानकारी दिइएको छ । 

भोलि पहिलो दिन पशुपति शर्मा, प्रीति आले, सागर लम्साल (बले) लगायत स्थानीय कलाकारहरुको प्रस्तुति रहनेछ भने दोस्रो दिन स्वप्न सुमन आउनेछन् । पुस १५ मा स्वप्न सुमन र १६ मा द स्याडोज नेपालको प्रस्तुति रहने संयोजक पौडेलले जानकारी दिए । १७ गते सुबोध गौतम (एकदुमे), तारा थापा, प्रजापति पराजुली अनि १८ गते अनु चौधरी, कर्णराज गिरी, ढाकाराम पौडेल, भुवन प्यासी र बाल कलाकार सुप्रिम मल्लको पनि प्रस्तुति रहने उनले बताए । साथमा स्थानीय कलाकारहरुको प्रस्तुति प्रत्येक दिन रहने व्यवस्था मिलाइएको छ । 

फेस्टिभल हरेक दिन ४ बजेदेखि राति १० बजेसम्म चल्ने जनाइएको छ । अरु दिन निःशुल्क प्रवेशको व्यवस्था गरिएको भएपनि स्वप्न सुमन र द स्याडोज नेपाल प्रस्तुत हुने दिन फेस्टिभलमा प्रवेशका लागि शुल्क तिर्नुपर्नेछ । पुस १५ र १६ गतेका लागि टिकट शुल्क तीन सय रुपैयाँ तोकिएको होटल व्यवसायी संघ चितवनका महासचिव रामबहादुर गुरुङले जानकारी दिए । 

 

टिप्पणीहरू