कविहरुबाटै कवितामाथि बलात्कार भएको कुरा सत्य हो

पुस्तक वार्ता :

कविहरुबाटै कवितामाथि बलात्कार भएको कुरा सत्य हो

युवापुस्ताका सशक्त कवि हुन्, घनश्याम अस्तित्व । प्युठान घर भएका कवि अस्तित्वको गत शनिबार मात्रै ‘चिहानमाथि महल बनाइरहेको मान्छे’ बजारमा आएको छ । मोफसलमा बसेर पनि राजधानीमा हल्ला गर्ने कविहरुलाई उनी सजिलै टक्कर दिने ल्याकत राख्छन् । अतः यहीबीच समाज, व्यवस्था, जीवन र दर्शनका विविध आयामहरुलाई सुन्दर कविताको भाषामा अभिव्यक्त गर्न सिपालु कवि अस्तित्वसँग जनआस्थाले केही प्रश्नहरु सोधेको छ । 

कवितासंग्रह निकाल्छु भन्ने सोच र तयारी कहिलेदेखि गर्नुभयो?

मैले कविता सिर्जना गर्न थालेको झण्डै डेढ दशक भयो । कविताहरु लेख्दै जाँदा संग्रह यति छिट्टै र यो रुपमा आउला भन्ने सोंचेको थिएन । विभिन्न कार्यक्रमहरुमा भेट हुँदा साथीहरु र अग्रजहरुको दबाब एवं प्रेरणाले पुस्तक निकाल्नुपर्छ भन्ने सोंच आयो । करिव ६ महिना अगाडीदेखि तयारी थालेको थिएँ ।

कथा तथा उपन्यासको तुलनामा कविताको कृति कमै विक्रि हुन्छ, तर पनि आँट गररे जोखिम मोल्नुभयो । यो जोखिम मोल्नुको प्रेरणा कहाँबाट प्राप्त गर्नुभयो ?

म बजार र व्यापारको दृष्टिकोणबाट भन्दा सिर्जनात्मक उचाईकालागि कविता लेखिरहेको एक मानिस हुँ । उज्यालो दिनभर सूर्यको प्रकाशले हुन्छ । तर दुनियाँका सारा मानिसहरु चन्द्रमामाथि लेखिरहेका छन् । बजार त सबै भन्दा बढी चाउचाउ र चाउमिनको छ । चटपटे र पानीपुरीको छ । गाउँमा हिंजोआजका बच्चाबच्चीहरु रुखमै अम्बा कुहिएर जान्छन्, हेर्दैनन् । आँप कुहिएर जान्छन्, हेर्दैनन् । तर स्वास्थ्यकालागि अम्बा र आँपको बढी लाभहरु छन् । कथा र उपन्यासले पनि त आफ्नो विधागत मूल्य जोगाए भने न बिक्ने हुन् । कवि भनिने हजारमध्ये चालिस पैंचालिसले न खास कविता लेख्ने हुन् । जसका किताबहरु केही कथा र उपन्यासका बाहेक बढी पनि बिकेका तथ्याङकहरु हामीसंग छन् । यो जोखिम मोलेको मात्रै होइन । सबै जोखिमहरुसंग जुध्न सडकमा आइसकेको अवस्था हो । 

यो कृतिमा कति ओटा कविताहरु छन्? कस्तो प्रकृतिका कविताहरु छन् ?

कृतिमा साढे पाँच दर्जन कविताहरु छन् । जसरी मानिसको जीवन विविध कुराहरुको समग्रता हो, पुस्तक त्यस्तै बनेको छ । जीवन, समय, समाज र जगतसंगको अन्र्तक्रियाका उपज हुन् यी कविताहरु । कहिंनेर प्रेमका घाउहरु पनि लेखेको हुँला । कहिँनेर मैले परदेशिन बाध्य युवापुस्ताको विवशता लेखेको छु । कतै लोकतन्त्रलाई बदनाम गर्ने बेइमान राजनीतिज्ञलाई झटारा हिर्काएको छु । कतै आमाको आँसु त जीवन बाँच्नुको आनन्द । कतै सपना त कतै आफ्नै विगतको निर्मम आलोचना । कुनै कवितामा जलवायु परिवर्तनले संकटमा पर्दै गएको मानव जीवन लेखेको छु त कतै पृथ्वी र अन्य जिवजन्तुप्रतिको प्रेम । आफ्नै कविताहरुको विषयमा यो भन्दा बढी भन्न सक्दैन । मेरो कविताहरु कस्ता छन्, त्यो विस्तारै पाठकहरुले नै भन्नेछन् ।

कवितालाई कविहरुबाटै खतरा छ भन्छन्, यो कथनलाई कसरी व्याख्या गर्नुहुन्छ ?

यो प्रश्न आफैमा अमुर्त छ र बृहत पनि । यसर्थ यसलाई विभिन्न दृष्टिकोणबाट व्याख्या गर्न सकिन्छ । कविताको नाममा जाउलो कविता लेख्नेहरुबाट हो कवितालाई खतरा भएको । आज बजार हल्लाको छ । कविहरुबाटै बारबार कवितामाथि बलात्कार भएको कुरा सत्य हो । यहाँनेर सबैभन्दा बढी समस्या अध्ययनको कमीको हो । धेरै कवि भनिनेहरु छन्, जो आफ्ना कविताको पाठक आफै मात्र छन् । पाठक बन्न नसक्नेहरु कवि बन्न सक्दैनन्, लेखक बन्न सक्दैनन् । खासमा भएको के हो भने जुन कविताहरुले कविताको मूल्य जोगाएका हुन्छन्, कहिलेकाँही बजारमा ती कविताहरु ओझेलमा पर्छन् । तर हरेक युगमा कोही न कोही कवि हुन्छन् जसले अकविताहरुको पहाडबाट उत्खनन् गरेर खास कवितालाई प्रकाशमा ल्याउँछन् । यसर्थ कविता कहिल्यै खतरामा हुदैनन् । खतरामा भइरहने त कविहरु हुन् । 

नेपालमा कविताको क्षेत्राधिकार कत्तिको साँघुरो वा कत्तिको फराकिलो देख्नुहुन्छ ?

कविताको क्षेत्राधिकार सदैव विशाल छ, बृहत छ । कविताको विगत पनि विशाल थियो, भविष्य झन् सुन्दर छ । म यसर्थ यो कुरा भनिरहेको छु कि कथा, उपन्यासमा पनि कविता भएन भने तिनीहरु रुचिको विषय बन्दैनन्, विक्दैनन् । कविहरु आफैप्रति र आफ्नै सिर्जनाप्रति दृढ हुन नसक्नु नेपाली कविता जगतको सबै भन्दा ठूलो समस्या हो । बाँकी त कविता, आवाज नभएकाहरुको पनि भाषा हो । 

पछिल्लो समय कविताको बजारमा राजनीति हावि हुन थालेको छ, यो सही हो वा गलत हो ?

कवितामा राजनीति लेखिनुपर्छ, यो सन्देहको विषय रहेन । म सुन्दर संसारको कल्पना गर्दछु, त्यसैले कविता लेख्छु । व्यवस्थाले सिर्जना गरेका हरेक मानिसहरुका दुःख र अफ्ठ्याराहरु लेख्छु । अन्याय, बेथिति, विसंगति र बेइमानि लेखिनुपर्छ कवितामा । काल चेतनारहित कवि, कवि हुन सक्दैन । कला चेतनारहित कवि, कवि हुन सक्दैन । मान्छे भन्दा पर लेखिने कविता, कविता हुन सक्दैन । राजनीतिमा बजार र बजारमा राजनीति हुनु पनि कसरी पो अस्वभाविक भयो र ! तर बजारको नाममा जो नग्न नृत्य देखिन्छ, त्यो निकै दुःखद कुरा हो । 

नयाँ पुस्ताका कविहरु कविताको सही राजमार्गमै छन् कि बाटो बिराएका छन् ?

कुनै स्थापित राजमार्गमा हिंड्नु, हिंड्नु होइन । खास कवि बन्न बाटो बिराउन नै जरुरी छ । मुख्य कुरा त यो हो कि उनीहरुले कविताको स्कार्पियो गुडाउनेआफ्नै गोरेटो अथवा राजमार्ग निर्माण गर्न सक्षम हुन्छन् या हुँदैनन् । 

कविता विचार कि कला भन्ने विरोधाभाष पहिल्यैदेखि हो, तपाईंको दृष्टिकोण चाहीँ के हो ?

मौन बस्नु त आफैमा एक विचार हो भने कविता विचारविहिन कसरी हुन सक्छ । कुनै विचार नभएर कथाको सिर्जना हुन सक्छ? कुनै विचार नभएर उपन्यासको सिर्जना हुन सक्छ? मान्छे मन्दिर हिंडिरहनुमा एउटा विचार हुन्छ । मान्छे मस्जिद हिंडिरहनुमा एउटा विचार या दर्शन हुन्छ । मञ्चमा उक्लेर भाषण ठोक्नुमा विचार हुन्छ । मलामी जानु या किरीया बस्नुमा विचार हुन्छ । बरु आजको जरुरी यो हो कि विचारमाथि विचार गर्नुपर्ने समय आइसक्यो । विचारको क्यानभाषमा कलाको रङले पोते न कविताको चित्र बन्ने हो । खासमा यो तर्क वितर्क गरिरहनुपर्ने प्रश्न नै होइन । 
तपाईँ कविता आफ्नो सन्तुष्टिकालागि लेख्नुहुन्छ कि पाठकले पढिदिउन् भनेर लेख्नुहुन्छ?
एउटा सुन्दर कविताको सिर्जना या जन्म भयो भने म एउटी आमाले सन्तानलाई जन्म दिएपछि प्राप्त गर्ने एक खुशी अथवा आनन्द जस्तो महशुस गर्दछु । पाठकले पढ्दा र आलोचनात्मक प्रतिक्रिया दिंदा पनि मलाई सन्तुष्टि नै मिल्छ । तर कविता लेख्नु पछाडि मेरा निश्चित ध्येयहरु छन् । म आफ्नो विचार, कुनै घटनाप्रतिको प्रतिक्रिया सुन्दर तरिकाले अभिव्यक्त गर्न कविता सिर्जना गर्दछु । मेरो असन्तुष्टि या आक्रोस, प्रश्न या जिज्ञासा, अनुभव या अनुभूती सबै कुराहरु कवितामा आउँछन्, जसको उद्देश्य सुन्दर समाज या संसारको निर्माण गर्नु हो । आफूलाई मान्छेको रुपमा प्रस्तुत गर्ने प्रयत्न गर्ने र समय सापेक्ष रुपान्तरणकालागि तयार रहने मेरो लेखनको उद्देश्य हो । लेखनमार्फत यसो हुन सकेन भने म असन्तुष्ट हुने हो । लेख्नका लागि लेख्दैमा, पढ्नकालागि कसैले पढ्दैमा खास फरक पार्दैन ।

कविहरु बीच प्रतिस्पर्धा हुनु राम्रो हो कि नराम्रो ?

यो निरपेक्ष छैन । प्रतिस्पर्धा दुवै या सबैको कल्याणको लागि हुँदा राम्रो हुन्छ तर इश्र्या र अह्मकासाथ हुनु अमानवीय आचरण देखाउनु हो । समन्वय, सहकार्य र स्वच्छ आलोचना जरुरी छ । तर केहीमा यसो भेटिन्छ जो आफूलाई प्रशंसा गर्ने भजन मण्डली गठन गरेर हिंडिरहेका छन् । यो आफ्नै समाप्तीको खाडल खन्नु हो 

अन्त्यमा, तपाईंको अर्को कृति कविताकै हुनेछ कि अन्य विधाको हुनेछ ?

यो कुरा चाही अहिले नै घोषणा नगरौ । यसको जवाफ पाठकले विस्तारै थाहा पाउनेछन् ।
 

टिप्पणीहरू