'सडकमै खाऔं, सडकमै रमाऔं' भन्दै फेवातालमा डुंगा प्रतियोगिता

'सडकमै खाऔं, सडकमै रमाऔं' भन्दै फेवातालमा डुंगा प्रतियोगिता

पोखरामा जारी २५ औं पोखरा सडक महोत्सवको तेस्रो दिन डुंगा खियाउने प्रतियोगिता सम्पन्न भएको छ । 

रेष्टुरेन्ट तथा बार एशोसिएशन नेपाल (रेवान) को आयोजनामा भएको उक्त प्रतियोगितामा खुला प्रतिस्पर्धातर्फ स्विमङपुलघाट विजयी भएको छ । त्यस्तै, गौरीघाट तथा बाराहीघाट क्रमशः दोश्रो र तेस्रो भएका छन् ।

विजयी टोली स्विमङपुलघाटले २० हजार नगद पुरस्कार जितेको छ भने दोश्रो गौरीघाटले दश हजार र तेस्रो बाराहीघाट पाँच हजार नगद पुरस्कार प्राप्त गर्न सफल भए । यस्तै, संस्थागत प्रतिस्पर्धातर्फ टान गण्डकी प्रथम भयो । रेवान पोखरा दोश्रो हुँदा नेपाल टुरिजम भ्यान एशोसिएसनले तेस्रो स्थान हासिल गरेको जनाइएको छ । 

प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने टोलीलाई रेवान पोखराका पूर्व अध्यक्ष गणेशबहादुर भट्टराई, पोखरा महानगरपालिका–६ का पूर्व वडाध्यक्ष हरि पहारी तथा कार्यक्रम संयोजक विरेन्द्र लामालगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए । यता, वेटर रेसमा बेन्जन रेष्टुरेन्टका रेशमबहादुर अर्याल प्रथम भएका छन् । चिल्ली बारका सुनिल गुरुङ दोश्रो हुँदा बेन्जनकै सौरण ठकुरी तेस्रो भएका हुन् । 

उनीहरुले क्रमशः दश हजार, सात हजार र पाँच हजार नगद पुरस्कार प्राप्त गरेको जनाइएको छ । वेटेर्सतर्फ बेन्जनकै मोनिका नेपाली प्रथम तथा माया घले दोस्रो हुँदा बेलिफकी रश्मी तिहारी तेश्रो स्थानमा रहिन् । उनीहरुले पनि क्रमशः सात हजार, पाँच हजार र तीन हजार नगद पुरस्कार हात पारे । 

कार्यक्रम आयोजक कोकाकोला कम्पनीका प्रतिनिधि र रेवान खराका पूर्वअध्यक्ष बलराम पहारीलगायतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए । ‘सडकमै खाऔं, सडकमै रमाऔं’ भन्ने नारासहितको यो महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटकको उत्साहजनक सहभागिता रहेको जनाइएको छ ।

टिप्पणीहरू