सरकारको नाटकमा सहभागी नहुने महानगरको घोषणा
काठमाडौं महानगरपालिकाले यस वर्ष लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान नमनाउने भएको छ । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइने अभियानलाई लक्षित गरेर कुनै पनि कार्यक्रम नगरिने महानगरले जनाएको छ ।
वर्षभरि सञ्चालन गरिने कार्यक्रमलाई अनदेखा गरेर सरोकारवाला निकायले १६ दिने कार्यक्रम गर्नु नाटक भएको उसको ठहर छ । महानगरले आफू त्यस्तो देखावटी कार्यक्रमको हिस्सा बन्न नचाहने विज्ञप्तिमार्फत बताएको छ ।
अभियानलाई लक्षित गरी कार्यक्रम नगरे पनि लैङ्गिक हिंसाविरुद्धको वार्षिक कार्यक्रम भने निरन्तर रहने महानगरले जानकारी दिएको छ ।
‘देखावटी रुपले कृत्रिमता प्रदान गर्नेगरी १६ दिनलाई मात्र लैङ्गिक हिंसाविरुद्धको अभियानका नाममा कार्यक्रम सञ्चालन गर्नु नाटकीय हुने र नैतिकताका आधारमा समेत जायज मान्न नसक्ने भएकाले यस वर्षको उक्त अभियानअन्तर्गतका कुनै पनि कार्यक्रम तथा गतिविधिहरु काठमाडौं महानगरपालिकाद्वारा सञ्चालन नगरिने तर लैङ्गिक हिंसाविरुद्धका वार्षिक कार्यक्रमहरु भने निरन्तर सञ्चालन गरिने...’,विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै, महानगरले लैङ्गिक हिंसाविरुद्ध सञ्चालन गरिएको कार्यक्रममा सरकारका सम्बद्ध निकायबाट सहयोग प्राप्त नभएको गुनासो पोखेको छ । हाल महानगरले ‘बालापनको रक्षा,भविष्यको सुरक्षा’ कार्यक्रममार्फत श्रम शोषण तथा यौन शोषणमा परेका बालबालिकाको उद्धार,अस्थायी संरक्षण,स्वास्थ्योपचार गर्दै आएको छ ।
टिप्पणीहरू