अटेरी ठेकेदारलाई सरकारको सात दिने पूर्जी

अटेरी ठेकेदारलाई सरकारको सात दिने पूर्जी

तोकिएको समयमा निर्माण सम्पन्न नगर्ने ९ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई सरकारले स्पष्टीकरण सोधेको छ । 

प्रधानमन्त्री कार्यालय मातहत सार्वजनिक खरिद अनुगमन कार्यालयले प्रतिबद्धताबमोजिम काम नगरेका निर्माण व्यवसायीलाई सातदिनको समय तोकेर लिखित स्पष्टीकरण मागिएको हो । अन्यथा, कालोसूचीमा राख्ने कार्यालयको चेतावनी छ । 

स्पष्टीकरण मागिएका निर्माण कम्पनीमा पुष्पाञ्जली कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालि, न्यू भेरी इन्जिनियरिङ वर्कशप, आराभाली इन्फापावर लिमिटेड, प्रनिश इन्टरनेसनल प्रालि हुन् । त्यस्तै, कोशी निर्माण सेवा, दिनेशचन्द्र अग्रवाल इन्फाकोन प्रालि, मामा भान्जा निर्माण सेवा, सत्यस्वरी कन्स्ट्रक्सन प्रालि र पाँचखाल कन्स्ट्रक्सन प्रालिलाई पनि स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको छ । 

कार्यालयले आज सार्वजनिक गरेको सूचनामा भनिएको छ, ‘उक्त निर्माण व्यवसायीलाई यसअघि पनि लिखित स्पष्टीकरण बुझाउन ३० दिनको समयावधि दिएको तर ३० दिन बित्दा समेत नबुझाएकोले थप सात दिनको समयावधि दिइएको छ ।’

तोकिएको समयावधिभित्र लिखित स्पष्टीकरण नुबझाए ती निर्माण व्यवसायीलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाइने कार्यालयले जनाएको छ ।

टिप्पणीहरू