प्रदर्शनको नाममा रास्वपा गलत खेलमा सक्रिय रहेको काँग्रेसको ठहर

प्रदर्शनको नाममा रास्वपा गलत खेलमा सक्रिय रहेको काँग्रेसको ठहर
सुन्नुहोस्

सहकारी ठगी प्रकरणमा समातिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका समर्थकले हुलहुज्जत र सडक प्रदर्शन गरेर अनुसन्धानलाई प्रभावित पार्न खोजेको नेपाली काँग्रेसले ठहर गरेको छ । राज्यका तटस्थ निकायलाई आतङ्कित र त्रसित पार्दै दबाब सिर्जना गर्ने गतिविधि गरेको भन्दै काँग्रेसले रास्वपा कार्यकर्ताको उक्त कार्यको घोर भत्र्सना गरेको छ । 

पार्टीले आज जारी गरेको विज्ञप्तिमा रास्वपाबाट भइरहेका गतिविधिले विधिको शासन कायम गर्ने नेपाली जनताको चाहनालाई अवमूल्यन र उपहास गरेको उल्लेख छ । ‘कुनै पनि कसुरमा आरोप लागेपछि वैधानिक निकायबाट गरिने अनुसन्धान, छानबिन र न्यायिक प्रक्रियालाई सहयोग पुर्याउनु प्रत्येक नागरिकको कर्तव्य हुन्छ भने राजनीतिक दलको झन् बढी जिम्मेवारी हुनुपर्दछ ।’ 

राष्ट्रिय स्वतन्त्र पार्टीका नाममा भइरहेका गतिविधिले विधिको शासन कायम गर्ने नेपाली जनताको चाहनालाई अवमूल्यन र उपहास गरेको उसको ठहर छ । प्रचलित कानूनबमोजिम कसुर ठहरिने कुनै पनि गतिविधिमा संलग्न जुनसुकै दल, पद वा हैसियतको व्यक्ति भएपनि समान ढंगले अनुसन्धान गरी कानूनी दायरामा ल्याउनुपर्ने मान्यताप्रति काँग्रेसले प्रतिबद्धता जनाएको छ । उसले अनुसन्धान र न्यायिक प्रक्रियालाई प्रभाव पार्ने गरी उत्तेजित र उच्छृङ्खल गतिविधि नगर्न रास्वपालाई आग्रह गरेको छ ।

टिप्पणीहरू