धेरै बच्चा पाउन उत्तर कोरियाली आमाहरुलाई आग्रह

धेरै बच्चा पाउन उत्तर कोरियाली आमाहरुलाई आग्रह

उत्तर कोरियाका विवाहित महिलालाई धेरै बच्चा पाउन आग्रह गरिएको छ । उत्तर कोरियाली नेता तथा कम्युनिष्ट पार्टीका महासचिव किम जोङ उनले मुलुकको राष्ट्रिय शक्तिलाई थप सुदृढ तुल्याउन हालको अवस्थामा शिशु जन्मदर बढाउनै पर्ने अवस्था देखापरेको उल्लेख गर्दै उक्त आग्रह गरेका हुन् ।

उत्तर कोरियाली स्रोतलाई उल्लेख गर्दै दक्षिण कोरिया र अमेरिकी सञ्चार माध्यमहरुले पछिल्लो १० वर्षमा उत्तर कोरियामा पनि शिशु जन्मदर घटेको दाबी गरेका छन् । यसले बिस्तारै उत्तर कोरियाको राष्ट्रिय उत्पादन र आर्थिक विकासमा असर पारेको उनीहरुको विश्लेषण छ । 

नेता किमले उत्तर कोरियामा हालै आयोजित राष्ट्रिय ममता सम्मेलनको उद्घाटन समारोहलाई गरेको सम्बोधनमा धेरै शिशु जन्माउन आग्रह गरेको दक्षिण कोरियाली सञ्चारमाध्यमहरुमा उल्लेख छ । उत्तरमा यस्तो सम्मेलन पछिल्लो ११ वर्षमा पहिलो पटक भएको हो ।

उत्तर कोरियाले यसबारे केही बताएको छैन । तर, दक्षिणले भने पछिल्लो दशकमा उत्तर कोरियाको शिशु जन्मदर घट्दै गएको जनाएको छ । सन् २०१४ मा १ं.८८ प्रतिशत रहेको शिशु जन्मदर सन् २०२२ मा घटेर १.७९ मा झरेको बताइएको छ । 

दक्षिणमा उत्तरको तुलनामा शिशु जन्मदर झन् कम छ । २०१४ मा १.२० प्रतिशत रहेको उक्त दर सन् २०२३ मा ०.७८ कायम भएको छ । दक्षिण कोरियाको शिशु जन्मदर विश्वकै सबैभन्दा कम हो ।

टिप्पणीहरू