भारतीयको बहिष्कारपछि चिनियाँलाई निम्तो

भारतीयको बहिष्कारपछि चिनियाँलाई  निम्तो
सुन्नुहोस्

माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइजु चीनको औपचारिक भ्रमणमा छन् । तीन  दिनको भ्रमणको क्रममा उनी दोस्रो दिन फुचियन प्रान्त पुगेका हुन् ।

त्यहाँ आयोजित बिजनेस फोरमलाई सम्बोधन गरेको सन्दर्भलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यम टाइम्स अफ इण्डियाको अनलाइन संस्करणले  माल्दिभ्समा अरु बढी चिनियाँ पर्यटक पठाइदिन आग्रह गरेको उल्लेख छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले माल्दिभ्स नजिकैको लक्ष्यदिप टापुहरुको भ्रमणपछि चिसिएको सम्बन्धपछि माल्दिभ्सले चीनको साथ खोजेको उक्त समाचारमा जनाइएको छ । राष्ट्रपति मुइजुलाई भारतले चीनमुखीको आरोप लगाउँदै आएको छ ।

मोदीको उक्त भ्रमणपछि माल्दिभ्सका तीन जना मन्त्री र तीन जना कर्मचारीले सामाजिक सञ्जालमा विरोध गरेका थिए । ती छ जनालाई हाल निलम्बन गरिएको छ । यता भारतमा उक्त घटनापछि माल्दिभ्सविरोधी अभियान थालिएको छ । सामाजिक सञ्जालमा माल्दिभ्समा पर्यटनको निम्ति नजान भारतीयलाई अनुरोध गरिएको छ ।

चीन भ्रमणको क्रममा उनले भनेका छन्, ‘चीन हाम्रो निकै घनिष्ठ मित्रराष्ट्र र विकास साझेदार हो ।’ राष्ट्रपति मुइजुले चीनको बीआरआई परियोजनाका मुक्तकण्ठले प्रशंसासमेत गरेका छन् । आफ्नो मुलुकको इतिहासमा चीनले गरेको भौतिक पूर्वाधार सहयोग उल्लेख्य भएको उनको दाबी छ ।

माल्दिभ्सका सञ्चारमाध्यमहरुले चीन र माल्दिभ्सबीच टापु राष्ट्रको पर्यटन विकासको निम्ति ५ करोड अमेरिकी डलरको परियोजनामा हस्ताक्षर भएको छ । माल्दिभ्स भारतीय र रुसीपछि धेरै चिनियाँ पर्यटक जाने पर्यटन गन्तव्य बनेको छ ।

टिप्पणीहरू