जनतालाई तगारो, नेतालाई रेडकार्पेट

जनतालाई तगारो, नेतालाई रेडकार्पेट

हेटौँडाबाट काठमाडौँ छिर्ने छोटा र वैकल्पिक दुर्ई बाटो हेटौँडा–भीमफेदी–फाखेल–फर्पिङ र हेटौँडा–भीमफेदी–सिस्नेरी–दक्षिणकाली मार्ग दुर्ई महिनाका लागि बन्द गरिएका छन् । योभन्दा पनि छोटो अस्थायी मार्ग हेटौँडा–भीमफेदी–चखेल–थानकोट बाटो पनि बन्द छ । अर्को छोटो बाटो हो कान्ति राजपथ ।

दलहरू यसलाई लोकपथ पनि भन्छन् क्यारे । हेटौँडा–ठिंगन–चापागाउँ–सातदोबाटो हुँदै काठमाडौँ आउनुपर्ने अवस्था छ । समयका हिसाबले यी सबै मार्ग उस्तै–उस्तै हुन् । साढे ३ घण्टामा काठमाडौँ पुगिन्छ । नजिकको वीरगञ्ज, रक्सौल, जनकपुर, नारायणघाट, अलि एक दुर्ई घण्टा थप्दा बुटवल र पोखरा पनि सजिलै पुग्ने भएकाले काठमाडौँपछि हेटौँडातिरै बसोबासमा धेरैको ध्यान गएको छ । यद्यपि, हेटौँडा प्रदेश राजधानी भएर पनि विमानस्थलरहित सहर हो ।

अझ भन्नुपर्दा केन्द्रीय राजधानी भएको सहरको पनि प्रदेश राजधानी सहर हो । यातायातका हिसाबले यो बाहेक हेटौँडा–कुलेखानी–चित्लाङ–थानकोट अर्को बाटो छ । यही बाटो हुँदै पृथ्वीनारायण शाह चित्लाङ भएर जाँदा काठमाडौँ हेरेर राजधानी ‘नेपाल’ सार्न तयार भएको इतिहास छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाले पनि यही बाटो हुँदै छोरा नातिको काँधमा बसेर धर्म गर्न पशुपति हिँडेका ज्येष्ठ नागरिकको दुःख हेरी ‘कुन मन्दिरमा जान्छौ यात्री’ कविता लेखेका थिए । 

सामान्यतया राष्ट्रिय राजमार्ग सात दिनभन्दा बढी बन्द गर्न नपाइने कानुन छ । तर मुग्लिन नारायणगड सडकखण्ड कैयौँ महिनाका लागि बर्सेनि बन्द गर्न जिल्ला प्रशासन कार्यालयमा सर्वदलीय बैठक बस्छ । घ्याम्पाजत्रा र चिलिमजत्रा पार्टीसँगै पछिल्लो पटक उदाएको ‘सबको घण्टी बजाउने’ पार्टीका प्रतिनिधिहरू पनि जम्मा भएर सिडिओको अध्यक्षतामा बस्ने बैठकमा ठेकेदारका पक्षमा महिनौँ राजमार्ग बन्द गर्ने निर्णयमा सही गर्छन् । वैकल्पिक राजमार्ग कति महिना बन्द गर्न पाइन्छ ? सबै दलहरू मिलेपछि यसको जवाफ पाइन्न । जनता सास्ती भोगिरहेका छन् ।

अहिले रुट पर्मिट भएको बाटो बन्द गरेर पर्मिट नभएको हेटौँडा कान्तिराजपथमा यात्रुबाहक साना सवारी साधन चलाइएका छन् । यसका लागि एउटा गाडीले दैनिक ४ सय रूपैयाँ भन्दा बढी तिर्नुपर्छ । यो पैसा जनताको खल्तीबाटै जाने हो । ६ सय ५० रूपैयाँ गाडी भाडा रहेको हेटौँडा–काठमाडौँ रुटमा चल्ने गाडीले दशैँतिहार यता इन्धनको भाउ नबढे पनि ८ सय रूपैयाँ असुल्दै आएका छन् । झगडा नगरी ८ सय रूपैयाँ तिरेर दलहरूको दलाली र यातायात व्यवसायीको गुण्डागर्दी प्रवद्र्धनमा मकवानपुरको प्रहरी प्रशासनकै साथमा सानो योगदान गर्न म पनि बाध्य छु । दैनिक १ सय भन्दा बढी गाडी ओहोरदोहोर हुने रुटमा १ सय ५० रूपैयाँ बढी गाडीभाडा तिर्नुपर्दा बागमतीको त यो हालत छ, अरु दूरदराजका गाडीमा यात्रा गर्नेको दुर्दशा कस्तो होला, अनुमान मात्र गर्न सकिन्छ । 

मूलमुद्दा जनतासँग जोडिनुपर्छ । यसो भनेरै नयाँ शक्ति उदाए । गणतान्त्रिक शक्तिले जनताको मुद्दामा समवेदित हुन सकेनन्, पुराना शक्तिका नयाँ अनुहार पनि यसै भन्छन् । खासमा २०७९ को निर्वाचनमा नेपाली जनतासँग नयाँ र उन्नत सुधारिएको पार्टी रोज्ने भए विद्रोह गरेर नथाक्ने माधवकुमार नेपालको पार्टी थियो । पुरानै शक्ति रोज्ने भए राजेन्द्र लिङ्देनको पार्टी छँदै थियो । तर, दलहरू, नेताहरू खराब भन्ने जनता आफूलाई सधैँ प्रयोगशाला बनाइरहन्छन् र नयाँ शक्तिको पछि लागिरहन्छन् ।

आज तिनै शक्तिका कारण देशमा सुधार त आएन नै, एक वर्षमै काण्डैकाण्डमा जोडिएर उनीहरू ३० वर्षको दलहरू भन्दा पनि निकम्मा सावित हुने अवस्थामा पुगेका छन् । जनताका मुद्दा उठाइदिएपछि र एक छाक मासुभात अनि चुनावका दिन भोट हाल्न जाने गाडीभाडा मिलाइदिएपछि ‘एक हात यो चैँ हेरौँ न त’ भन्ने जनताका कारण समयमा सही पार्टी विकास हुननसक्ने अवस्था निर्माण भइरहेको छ । यसैको सिकार भयो २०७९ को निर्वाचनमा माधव नेपाल र राजेन्द्र लिङ्देनको पार्टी पनि । त्यसको असर लिङ्देन एमालेको र नेपाल नेपाली कांग्रेसको सहयात्री भइरहनुपर्ने बन्यो । 

फेरि पनि बाटोकै कुरा गरौँ । बाटैबाटो भएर पनि होला, बागमती प्रदेश सरकारका मुख्य सचिवले एउटा फर्मान जारी गरेका रहेछन्, ‘शुक्रबार पनि मन्त्रालय–कार्यालयमा पूरा समय बस्नु ।’ निवर्तमान मुख्यमन्त्री राजेन्द्र पाण्डे भन्थे, ‘मन्त्रालयमा कर्मचारी नै बस्दैनन् ।’ सोमबार दिउँसोतिर हेटौँडा पुगेर बिहीबार ‘फिल्ड’ भन्दै भाञ्जीको विवाह र साथीको घरमा लगाइएको सत्यनारायण पूजामा पुग्ने कर्मचारी कहिल्यै यो व्यवस्थामा खराब भएनन् । दोष सधैँ नेताहरूको थाप्लोमा परिरह्यो ।

केहीदिनअघि श्रम, रोजगार तथा यातायात मन्त्रालयको आप्रवासी श्रमिकका कार्यक्रममा स्रोतव्यक्ति बनेर गएका रघु काफ्ले भन्थे, ‘कर्मचारीले जनताको सेवा दिनुपर्ने हो तर भइदियो कस्तो भने, एउटा सरकारी कार्यालयको कर्मचारी कुनै काम परेर अर्को सरकारी कार्यालय जानुपर्ने भयो भनेर चिनेका साथीलाई फोन गरेर भन्छन्, एउटा काम परेर सम्झेको, तपाईं अफिसमै हुनुहुन्छ कि ?’ फेरि पनि कर्मचारीले दिएको सास्तीबारे जनता बोल्नै सक्दैनन् । अलिअलि रकम दिएर काम फच्चे गराउन खोज्छन् । नभएपछि बल्ल पाए नेता, नपाए युट्युबर खोजेर रसिद र भौचर देखाउन थाल्छन् ।

धन्न, अख्तियारले मसिनोसँग अध्ययन गरेर हिसाब ‘राफसाफ’ नपार्नेहरूलाई ‘माफ’ दिन छाडेको छ अचेल । सानाहरू रुवाबासीमा छन्, ठूलाहरूलाई हाइसञ्चो छ । नपत्याए अदालते ३० लाख धरौटी मागेको बालकृष्ण खाँणलाई सम्पत्ति शुद्धीकरण कि कुन अर्को निकायले १५ लाख धरौटी लियो, त्यही अख्तियारले साधारण तारेखमा छाडिदियो । अख्तियारमा जयबहादुर चन्द हुनु र बालकृष्ण खाण साधारण तारेखमा रिहा हुनुमा स्याल कराउनु र कुखुरा हराउनुको सम्बन्ध छ कि छैन, पछि थाहा भइहाल्छ । किनभने यो त्यस्तो देश हो, जहाँ अख्तियार प्रमुखलाई पनि पद सकिएपछि त्यही अख्तियारद्वारा डामेर धूलोपिठो पारिन्छ । सिनियर ब्याजी जयबहादुर चन्द भएको ठाउँबाटै अर्का लेखक डिआइजी महेशविक्रम शाही ‘ठकुरीसाब’ नै हालसालै ३३ लाख जति ‘घप्ला’ले डामिएका छन् । 

बाटोकै कुरामा थियौँ हामी । कान्तिराजपथ हुँदै काठमाडौँ जाने बाटोमा पूर्वी मकवानपुरका जनता एउटा कुखुराको भाले, ४ माना भटमास बोकेर काठमाडौँमा भएका सन्तान भेट्न जाँदा ठिंगन प्रहरीले चैँ माग्दोरहेछ ‘भ्याटबिल ।’ नारायणी यातायात व्यवसायी संघका महासचिव सरोजकुमार खनालले भने, ‘बाटोमा यति ज्यादति हुन थाल्यो, त्यो बाटोमा रुट छैन, मान्छे गाडी लिएर हिँडेका छन्, दुःख पाएका छन् ।’ यही कुरा मकवानपुरका प्रहरी उपरीक्षक सीताराम रिजाललाई पनि भनेँ । उनले भने, ‘खटाइएको काममा कडाइ कति गर्ने, यात्रा गर्नेको मनोदशा कति बुझ्ने भन्ने कुरा व्यक्तिमा भर पर्छ, राम्रै गर्न खोज्दा पनि व्यवहारले कहिलेकहीँ यस्तो आलोचना खेपिरहेको छु कि किन खटाएँ भनेर सोच्न बाध्य छु ।’

उनले आफ्नो मातहतका सहकर्मीलाई भन्न बाँकी केही नराखेको बताए । तर जनताले अति दुःख पाए बरु अस्थायी भने पनि रुट परमिट दिऊँ भनेर यातायात व्यवसायी बागमती प्रदेशको यातायात मन्त्रालयसम्म पुगेका छन् । मन्त्रालयले उनीहरूको कुरालाई गम्भीरतापूर्वक नलिएको पो हो कि ? अहिले नयाँ मन्त्री र सरकारलाई फेरि ‘विद्युतीय सवारीसाधन’ले निकै तानेको छ । यसरी तान्दा कान्तिराजपथमा पनि विद्युतीय सवारी साधनलाई मात्र रुट पर्मिट दिने गाइँगुइँ छ । कान्तिराजपथमा सर्वसाधारण यात्रु सवार हुने विद्युतीय सवारी साधन तत्काल चल्ने बाटो त छैन नै । बागमती प्रदेश सरकारले माओवादी नेता राम कार्कीले चुनावका बेला झापामा भनेजस्तो ‘अफ्रिकन युवतीका जस्ता चिल्ला गाला’ झैँ सडक बनाइदियो भने जनता प्रदेश सरकार चाहिनेरहेछ, खारेज नगरौँ भन्दै फेरि सडकमा आउने नै छन् । 

बाटो जनताका लागि हुनुपर्ने हो । तर यहाँ नेताका लागि मात्रै बाटो खुला छ । जस्तो प्रदेशमा हारेकालाई उपेन्द्र यादवले राष्ट्रिय सभा जाने बाटो खुला गरिदिएका छन् । जनताले नरुचाएका कृष्ण सिटौलालाई पनि राष्ट्रिय सभाको अध्यक्ष पद रिक्त छ । अरु त अरु सक्कली कम्युनिष्टको कुरा गर्ने चित्रबहादुर केसीको पार्टी पनि एक १३ महिनाअघि मात्रै हारेकी, त्यो पनि गठबन्धनको उम्मेदवार भएर, दुर्गा पौडेललाई १७ पटक प्रधानमन्त्रीमा हारेक रामचन्द्र पौडेलले राष्ट्रपतिबाट मनोनयन गर्ने एक थान विज्ञ राष्ट्रिय सभा सदस्य बनाउन तयार छ । नेताहरू भाग्यमानी हुन् ।

जनता यस्ता भाग्यमानी नेताहरूलाई चोर बाटो हुँदै जति तल हरायो, उति माथि देख्न पाउने झन् भाग्यमानी हुन् । अनुशासन, लज्जा भनेको नारायणकाजी श्रेष्ठ र वामदेव गौतमले मात्रै मान्नुपर्ने रहेछ । जो गोरखा र बर्दियाबाट हारेपछि राष्ट्रिय सभामा जान चाहँदा ‘नैतिकता नभएका’हरू भनेर नराम्ररी गाली ग¥यौँ । अहिले व्यर्थ गाली गरिएछ, पालो आएपछि सबै एकै ड्याङका मूला रहेछन् भन्ने थाहा पाएपछि त्यो गाली फिर्ता लिनुपर्लाजस्तो लागेको छ । 
 

टिप्पणीहरू