पैसा कताबाट ल्याउने, काम कहिले भ्याउने ?

पैसा कताबाट ल्याउने, काम कहिले भ्याउने ?

भरतपुर, चितवनको मात्र नभई मुलुककै लाइफलाइनको रुपमा रहेको पुलचोक–गोन्द्राङ सडकलाई छ लेनको बनाइँदैछ । विस्तार कार्य थालिएपछि आवागमनमा कठिनाइ उत्पन्न भएको छ । भरतपुरको ओरालो नजिकै पिच भत्काएर पुनः पिच गरिनसकिएको उबडखाबड सडकमा पटक–पटक सवारी दुर्घटनासमेत हुने गरेको छ । 

सुरुको सम्झौता अनुसार गत फागुनमै काम सक्नुपर्ने थियो । २०८० मंसिरसम्मका लागि एक पटक थपिएको म्याद सकिएर २०८१ भदौसम्म थप समय माग्दै फाइल अगाडि बढाइएको छ । यसै त ढिलासुस्ती भइरहेको सडकमा अहिले पैसा (बजेट) को समेत समस्या भएको बुझिन्छ । 

मध्यनेपालकै प्रमुख व्यापारिक मार्ग पनि हो यो । अर्थमन्त्री प्रकाशशरण महत चितवन आएका बेलामा यस सम्बन्धमा ध्यानाकर्षण गराइएको थियो । उद्योग वाणिज्य संघ चितवनको ५७ औं साधारणसभा एवम् अधिवेशन उद्घाटन समारोहमा प्रमुख अतिथिको रुपमा आएका अर्थमन्त्रीलाई सुझाउँदै अध्यक्ष चुननारायण श्रेष्ठले रकमान्तर गरेर भएपनि उक्त सडकको काम चाँडै सक्न ध्यानाकर्षण गराएका थिए । 

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार यो सडकलाई चालु आर्थिक वर्ष ५० करोड आवश्यक रहेकोमा जम्मा पाँच करोडमात्र विनियोजन गरिएको छ । यो हिसाबले ४५ करोड रुपैयाँ स्वतः अपुग देखिएको हो । यो ठेक्काको कुल रकम एक अर्ब २३ करोड हो । 

निर्माण कम्पनी इन्डो सगुन जेभीलाई गत सालसम्म ७४ करोड रुपैयाँ भुक्तानी भएको जनाउँदै सडक डिभिजन भरतपुरका प्रमुख रमेशप्रसाद पौडेल भन्छन्, ‘यो सडकमा गत सालसम्म पैसाको समस्या थिएन । यो साल ५० करोड विनियोजन हुनुपर्ने, भएन ।’ यसअघि साइड क्लियर नभएको, सुरुमै भत्किनुपर्ने घरहरु पछिमात्र भत्किएको, बिजुलीको पोल र पानीका पाइपहरु पनि सिफ्टिङ नभएको अनि कोभिडको प्रभाव समेतका कारणले काममा ढिलाइ भएको बताउँदै प्रमुख पौडेलले भने, ‘म आएपछि घरहरु भत्काएँ । गतसाल मंसिरमा घरहरु भत्काउँदै थियौं ।’ पौडेल २०७९ भदौमा सडक डिभिजन भरतपुरको प्रमुख भई आएका हुन् । ‘अब दुई महिनाभित्र धुलोमुक्त गर्ने अभियान छ मेरो’, उनले थपे, ‘एक लेयर पिच गर्न पाए हुन्थ्यो ।’

हामी थप बजेट दिन सक्दैनौं, भौतिक मन्त्रालय अन्तर्गतकै कतै खर्च नभएको पैसा ल्याएर चलाऊ भन्छ अर्थमन्त्रालय । तर सडक विभागमै यो वर्ष ४० अर्ब कम बजेट विनियोजन भएको बताइन्छ । डिभिजनकै गत वर्षको बजेट दुई अर्ब थियो, यसपालि जम्मा ३८ करोड मात्र भरतपुरमा विनियोजन भएको प्रमुख पौडेलले बताए । अर्थले तेरै पैसा खोजेर ले भनेपछि पैसा हाल्न नसकिएको उनी बताउँछन् । उनका अनुसार अहिले यो सडकको स्तरोन्नति कार्य लगभग ७० प्रतिशत भइसकेको छ, पैसाको जोहो भए आगामी भदौसम्म सबै काम सकिन्छ ।

दुई लेनबाट छ लेन बनाउँदै गरिएको ६ किलोमीटर सडकको वीरेन्द्र क्याम्पस चोकदेखि लायन्स चोकसम्म एक साइडमा सर्भिस लेन र एक्सप्रेस लेनको काम बाँकी नै छ । अन्य भागमा एक तहको कालोपत्रे गरिसकिएको र अर्काे तहको कालोपत्रे कार्य गोन्द्राङचोकदेखि सुरु गरिएको सडक डिभिजन भरतपुरका सूचना अधिकारी चन्द्रेश्वर साहले जानकारी दिए । 

भरतपुरको ओरालोमा नालीको कामसमेत सकिएको छैन । बजार एरियामा एकतर्फ सर्भिस लेनको कालोपत्रे गर्नै बाँकी छ । इन्जिनियर साह भन्छन्, ‘पैसा त छँदै छैन । चालु आवमा राखिएको बजेट असोजमा सकिएको अवस्था छ । फाइल उठाएर विभागमार्फत् अर्थमन्त्रालयमा पुर्याएका छौं ।’

यता, बाइपास सडकको काम पनि पूरा भइसकेको छैन । फुटपाथको काम बाँकी नै छ । यसका लागि १० करोड जति रकम चाहिने प्रमुखको भनाइ छ । यसपालि बजेट अभावकै कारण चितवन र नवलपुरमा अन्डरकन्स्ट्रक्सन रहेका १४ वटा पुल (केरुड्डा खोला पुल कावासोती, त्रिशुली नदी पुल ठिमुरा, बेतरी खोला पुल भरतपुर–२७, बुढीराप्ती खोला पुल रनपा–खैरहनी, पम्फा खोला पुल झुवानीघाटलगायत) को काम समेत रोकिएको सडक डिभिजन भरतपुर बताउँछ । 

पुलको काममा गत सालकै भुक्तानी दिनुपर्ने १७ करोड रहेकोमा जम्मा ११ करोडमात्र यसपालि विनियोजन भएको बताइन्छ । यसैबीच, भुक्तानी दिनुपर्ने पैसा नरोक्नू भनी हालै प्रधानमन्त्रीबाट पनि अर्थमन्त्रीलाई निर्देशन भएको बुझिन आएको छ । 

टिप्पणीहरू