सडक फुटाउन वडाअध्यक्षको बल प्रयोग

सडक फुटाउन वडाअध्यक्षको बल प्रयोग
सुन्नुहोस्

राज्यको सार्वजनिक सम्पत्ति हो, सडक । यसको संरक्षण तथा संवद्र्धन गर्नु सबैको कर्तव्य हुन्छ । तर, चितवनको भरतपुरमा जनप्रतिनिधिले नै बनिरहेको सडक भत्काएका छन् ।

जानीजानी बलपूर्वक सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउनेलाई मुद्दा चलाउनुपर्ने हो, तर भरतपुरको उक्त घटनालाई सामान्यीकरण गरेर मिलापत्रमा टुंग्याइयो । 

देशकै लाइफलाइन सडकको रुपमा रहेको पूर्व–पश्चिम राजमार्गअन्तर्गत भरतपुरको पुल्चोक–गोन्द्राङ सडकलाई ६ लेनको बनाइँदैछ । एसियाली मापदण्डअनुरुप स्तरोन्नति भइरहेको सडकमा बनाइसकिएको रोड मेडियन केही दिनअघि वडाअध्यक्षको आदेशमा भत्काएको बुझिन आएको छ । भरतपुर–१० का वडाअध्यक्ष परमेश्वर खनालले ‘जसरी नि यो सडक फुटालिन्छ’ भन्दै सडकका कर्मचारीलाई धम्क्याउँदै थिए । नभन्दै गत माघ १९ गते दिउँसो जेसिबी नै लगेर सिएमसी अगाडि मूलसडकमा बनेको सेन्ट्रल मेडियन फुटालिएको हो ।     

यस घटनामा वडाअध्यक्ष खनाल चितवन मेडिकल कलेजको मतियार बनेको बुझिन्छ । मेडिकल कलेजको नाममा बाटोबाट सीधै बिरामी तान्ने हिसाबले मुख्य राजमार्गकै अगाडि अस्पताल चलाइएको छ । बनिरहेको बाटोले ग्राहक केही छेकिने भएपछि चितवन मेडिकल कलेजलाई औडाहा भएको छ ।

नयाँ बनिरहेको सडकमा चौबीसकोठी र नारायणगढकाे बीचमा वीरेन्द्र क्याम्पसचोकमा टर्निङ पोइन्ट बन्दैछ । अब सिएमसी अगाडि सीधै गाडी क्रस गर्ने ठाउँ नहुँदा बिरामीहरु फुत्किएर अन्यत्रै जानसक्ने चिन्ताले सञ्चालक पिरोलिएका छन् । 

सिएमसी चाहन्छ– आफ्नै अगाडि टर्निङ पोइन्ट बनोस् । त्यसैले पर्दापछाडिबाट जनप्रतिनिधिलाई प्रयोग गरेर चितवन मेडिकल कलेजले सडकमा बखेडा खडा गरेको अर्थात् पहुँचवाला धनाढ्य व्यापारीको प्रभावमा परेर वडाअध्यक्षले सडकमा दादागिरी देखाएको बुझ्न सकिन्छ । 

घटनालगत्तै तोडफोडमा प्रयोग गरिएको जेसिबी नियन्त्रणमा लिइएको थियो । केही जनप्रतिनिधिसमेतको संलग्नतामा मेसिन उपकरणसहित निर्माण सम्पन्न भइसकेको सेन्ट्रल मेडियन भत्काइएको भन्दै सडक डिभिजन कार्यालयले १९ गते नै सिडिओ, प्रहरी र महानगरलाई पत्र लेखी सडक भत्काउने कार्य रोक्न तथा भत्काउने कार्यमा संलग्न व्यक्तिहरुको अनुसन्धान गरी सार्वजनिक सडक ऐन २०३१ तथा प्रचलित कानुन बमोजिम कारबाही गर्न माग गरेको थियो ।

तर, पर्सिपल्टै टोल विकास संस्थाका पदाधिकारीहरुको रोहवरमा घटना सामसुम पारियो । नियन्त्रणमा लिइएको जेसिबी पनि छाडियो । सहमतिपत्रमा चितवन मेडिकल कलेज र वडाअध्यक्षको नामसमेत कतै मुछिएन ।

टिप्पणीहरू